दश‍ैंको कालो दिन -भिडियो सहित

  मूलधारपोष्ट  157 पटक हेरिएको

दश‍ैंको कालो दिनको भिडियो तल अन्तिममा राखिएको छ । वसन्त भण्डारी र पुनम विसीले कर्णाली पात्रमा समाचार लेखेका छन् झुपडीमा खाना छैन । ‘दसैं आयो, सबै घरमा जम्मा हुन्छन् । सुखदुःखका कुरा गर्छन् । विभिन्न खानाका परिकार खान्छन् । टीकाटाला लगाएर खुसी साट्छन् । तर मेरो भने रुवाइ हुन्छ,’ कर्णाली प्रदेशसभा भवन नजिकै बस्दै आएका महेन्द्र हमालले भने, ‘एक लरु काँ जाई मरु’ जस्तै भएको छ ।’ कालीकोटस्थित साविकको धौलाकोट गाविस स्थायी घर भएका महेन्द्र २०५५ सालदेखि यहाँ वीरेन्द्रनगरमा बस्दै आएका छन् । ‘सबै घरआउजाउ गर्छन,’ उनले भने, ‘न म कही जानु छ, न त कोही आउँछन् ।’ दसैं नजिकिँदै गर्दा पनि मिठो खाने र नयाँ लुगा लगाउने खर्चसमेत नभएको उनी बताउँछन् ।

‘काम गर्न सक्ने भए आफैँ गरेर खान्थे, कसैको आस थिएन्,’ उनले भने, ‘काम गर्न नसक्ने भएपछि पैसा पनि छैन । दसैं पीडामा पीडा थप्न आउँछ ।’ १८ वर्षदेखि खुसीका साथ दसैं मनाउन नपाएको उनले बताए । ‘पाँच वर्ष बढी भयो मैले मासु खान पाएको छैन,’ उनले भने, ‘झुपडीमा दसैं आएको महसुस भएको छैन ।’ ‘बजार जाँदा चहलपहल बढेको देखिन्छ,’ उनी भन्छन्, ‘मन अझ बहकिन्छ ।’ कर्णाली प्रदेशसभाका सांसदलाई चाडपर्व खर्चभन्दै ठूलो रकम वितरण गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयले उनीहरूलाई चाडपर्व खर्चबापत २८ लाख ४१ हजार ६ सय १० रूपैयाँ वितरण गरेको हो ।

असोज १२ गते घटस्थापनाकै दिन उक्त रकम बैंक खातामार्फत् भुक्तानी गरेको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर बिसीले जानकारी दिए । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको सेवासुविधा सम्बन्धित मन्त्रालयबाटै हुने उनले बताए । लेखा अधिकृत बिसीका अनुसार प्रदेशसभाका सभामुख, उपसभामुख, सांसद शुसील थापाका स्वकीय सचिवबाहेक ३० जना सांसद, ३३ जना स्वकीय सचिव, ११ जना सांसदका सवारी चालक, चारजना कार्यालय सहयोगी र तीनजना प्रशासन सहायकलाई दसैं खर्च दिइएको छ ।

चाडपर्व खर्चबापत सभामुख राजबहादुर शाहीले ५३ हजार, प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, नेकपाका सांसद यामलाल कँडेल र उपसभामुख पुष्पा घर्ती विष्टले ५० हजारका दरले रकम बुझेका छन् । यसैगरी संसदीय समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतक गरी सातजनाले ४८ हजारका दरले दसैं खर्च बुझेका छन् । प्रदेशसभामा भएका अन्य २४ जना सांसदले प्रतिसांसद ४५ हजारका दरले चाडपर्व खर्च बुझेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सांसदका स्वकीय सचिव र अन्य कर्मचारीले पनि दसैं खर्चबापतको रकम बुझेका छन् । रकम बुझ्नेमा सभामुख र उपसभामुखका स्वकीय सचिवले ३५ हजार नौ सय ९० रूपैयाँ लिएका छन् । ३१ जना सांसदका स्वकीय सचिव र दुईजना कम्प्युटर अपरेटर पनि छन् । जसले २८ हजार दुई सयका दरले रकम बुझेका छन् । कर्णालीपत्रलाई प्राप्त जानकारीअनुसार नौजना सवारी चालकलाई २२ हजार दुई सय १० र चारजना कार्यालय सहयोगीले १९ हजार चार सय ८० का दरले रकम बुझेका छन् ।

कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवथा गर्न बनेको विधेयक, २०७५ को नियम १० को चाडपर्व खर्चमा भएको व्यवस्थाअनुसार यो रकम भुक्तानी गरिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत बिसीले बताए । जसमा ‘पदाधिकारी र सदस्यले आफ्नो धर्म, संस्कृत र परम्पराअनुसार मनाइने चाडपर्वको लागि आफूले खाइपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक आर्थिक वर्ष चाडपर्व खर्चको रूपमा पाउने छन्’ भन्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार