न मैले देखेँ न उसले देखी

  पत्रपत्रिका खबर  333 पटक हेरिएको

जीवन भनेको कहिले के हुन्छ थाहै हुँदैन। व्हीलचेयरको साहरामा हिड्नुपर्ला भनेर उसले सायद कहिल्यै सोचेको पनि थिइन होला। म बि-कममा भर्ना भइसक्दा उनको आँपको रूखबाट लडेर स्पाइनल–कर्ड भाँचिसकेको रहेछ। पत्रकारिता गर्ने क्रममा म सुदूरपश्चिमबाट काठमाडौं पुग्दा उनी भारतको लखनऊ र बरेलीमा उपचारका लागि धाउँदै रहिछ‍न्। म विरानो शहरमा पत्रकारिता सिक्दै गर्दा उनी बाच्नका लागि ओछ्यानसँगै संघर्ष गरिरहेकी रहिछन्।

उसले र मैले सँगै कलेज पढेका रहेछौं। म कर्मस पढिरहँदा उनी आइएड पढिरहेकी थिइन्। गाँउ (झलारी)बाट महेन्द्रनगरमा प्लस–टु पढ्न आएकी उनी म पनि सहर नजिकै प्लस–टु मा के पढ्नु भन्दै कर्मस पढ्न पुगेकी थिएँ। हामी एउटै कलेजमा पढ्दा रहेछौं। न मैले उसलाई कहिल्यै देखेँ। न त उसले मलाई नै। ‘एसएलसी पास गरेर गाँउबाट शहर पढ्न जानु भनेको कम्ति चानचुने कुरा थिएन’, हाँस्दै उनले आफ्नो विगत सुनाउँदै गइन्, ‘गाँउमा प्लस–टु थिएन। महेन्द्रनगर बजारमा कोठा भाँडामा लिएर बस्नु पनि ठूलै सान हुन्थ्यो। गाँउमा त्यो बेला लेडी–वर्ड साइकल भए झनै ठूलो कुरा भइगयो। सबै हेर्‍याहेर्‍यै गर्थे।’

पत्येक महिना उनी एउटा रङ्गीन थान्का तयार गर्छिन्। सप्तरङ्गसँग खेल्दै नेपाली कागजलाई नयाँ जीवन दिन्छिन्। त्यो जीवन कसैको घर, होटलको भित्तामा गएर जीवन्त भइदिन्छ अनि सजिन्छ। उनले बनाएका यस्ता विभिन्न किसिमका रङ्गीन थान्का देश विदेश पुगिसकेका छन्। तर, उनी भने एकठाँउबाट अर्को ठाँउ सर्न पनि दुई पाङग्रे कुर्सी चाहिन्छ। आफ्नो जीवनका उत्साह, उमङ्ग र सपनालाई माया गरेझैं उनी ती सेता कागजमा पेन्सिलले कोरिएका चित्रलाई मूर्त रूप दिन्छीन्। अनि चित्र हेरेर आफैं दङ्ग पर्छिन्।

केही वर्षअघि उनलाई मर्न मन लाग्थ्यो।’भनिन्छ मर्न र बाँच्न माथिबाट नै तय भएको हुन्छ। आफूले चाहँदा बाँच्ने र नचाहँदा मर्न कहाँ सकिँदो रहेछ र’, विगत सम्झेर उनका आँखा रसाए। मिति २०७६ साल भदौ ३१ गते दिनभरी पानी परिरहेको थियो। पत्रकारिताका क्रममा धेरै क्षेत्रका धेरै व्यक्ति भेटेकी थिएँ। आज मसँग फरक पात्र भेटिइन्- आफ्नै व्याचको नभेटेको साथी। मलाई जोरपाटीस्थित बिआईए फाउण्डेसनमा पुग्नु थियो।

चावहिलदेखि जोरपाटी लगभग ५ किलोमिटर होला तर, मलाई त्यति दुरी पार गर्न झन्डै डेढ घन्टा लाग्यो। सबैलाई थाहा छ जोरपाटी जानु कम सकसको काम होइन। सडकमा बाटोभन्दा बढी खाल्डाखुल्डी छन्। हिड्ने ठाउँ कतै भेटिन्न। त्यहीमाथि लगातार पानी परिरहेको थियो। मनमनै रिसले मुरमुरिँदै अबदेखि कहिल्यै यो बाटो हिड्दिनँ भन्दै थिएँ। केही समयपछि नेपाल अर्थोपेडिक अस्पताल परिसरमा रहेको फाउन्डेसनमा पुगेर सबै कुराकानी सकेँ।

कुराकानीकै क्रममा सुने अनुसार म पात्रसँग भेट्न आतुर भए। जसले आफ्नो जीवनका रङहरू, आफू स्थिर रहेर पनि अरूको घर सजावटलाई चलायमान बनाउने हातसँग हात मिलाउन आतुर थिएँ। जब भित्र पसेँ लस्करै कोही व्हिलचेयरको सहायतामा हिँड्दै थिए। कोही ह्वाइकेनको।
दुई जनासँगै ठूलो पावरवाला चस्मा लगाएर उनी सरस्वतीको स्वरूप भएको थान्का तयार पार्दै थिइन्। म नजिक गएँ। कुराकानी गरेँ।’मेरो नाम जुना शाही। घर झलारी, कञ्चनपुर,’ उनले परिचय दिइन्।

मनमा ए मैरै ठाँउकै रहेछ जस्तो लाग्यो। उनी अगाडि बढिन्, ‘मेरो आमाबुवा म कक्षा ९ मा पढ्दै गर्दा बित्नुभयो। २०६१ सालमा म आँपको रूखबाट लडेँ र कहिल्यै निको नहुने गरी थला परेँ।’१० वर्षसम्म ओछ्यान परेकी उनको पढाई बिचमै छुट्यो। शरीरबाट गन्ध आउन थाल्यो। पिसाप फेर्ने पाइप के गर्ने भन्ने भेउ पाउन सकिनन्। भित्र भित्रै इन्फेक्सन भएर पाक्यो। आमाबुवा थिएनन्। दाजुभाउजुले सके जति सहयोग गरे।

‘मलाई मेरा दाजु भाउजुले कुहिन दिएनन्। स्पाइनल–कर्ड भाँचिएपछि दिशा, पिसाप आएको केही थाहा हुँदैन रैछ। तर मेरो जस्तै अवस्था भएको एक जना दिदीको सहायताले यहाँ आइपुगेँ,’ उनले भनिन्, ‘मलाई ठूलो राहत भयो। यहाँ आएर कुहिनबाट बचेँ। मेरो पाठेघरमासमेत प्वाल परिसकेको रहेछ।’

पिसापको पाइप सधै लगाइरहनुपर्ने उनको उपचार बिएण्डबी अस्पतालमा मात्र हुँदो रहेछ। ‘ट्याक्सी चढेर तीन-तीन महिनामा अस्पताल जान्छु। कहिले काहीँ मरेको भए हुन्थ्यो भन्ने लाग्छ। तर, भनेर मात्रै कहाँ पुग्दो रहेछ र? अझै कति दुःख लेखेको छ’, उनले दुखेसो पोखिन्।
समयमै थाहा पाएर उपचारका लागि काठमाडौंसम्म पहुँच भएको भए सायद उनले यतिसम्मको दुःख पाउदै थिइनन् होला। उनीसँगै होस्टेलमा बस्ने साथीमध्ये अफ्ठेरो अवस्था उनकै हो।

‘मसँगै होस्टेलमा बस्ने साथीमध्ये सबैभन्दा अफ्ठ्यारो अवस्था मेरै हो, तर पनि म खुसी छु’, उनले भनिन्। यसअघि उनीसँग मेरो कहिल्यै भेट भएको थिएन। उसले मलाई सँगै खाजा खान जान भनिन्। म हतारमा हुँदा हुँदै पनि म उनीसँग खाजा खान गएँ। अनी उसले त्यहाँका सबैलाई हामी एउटै कलेजमा पढेको साथी भनेर चिनाई। अरूले अब जुनाले पार्टी दिन्छे भनेर जिस्काए। ऊ हाँसी मात्र…

आफू बस्ने कोठा देखाइन्। ‘चिसो छ। तर, पनि म सन्तुष्ट छु। यदि म सुदूरपश्चिमकै त्यही गाँउमा भएको भए यतिखेरसम्म कुहिएर मरीसक्थ्येँ होला,’ उनले भनिन्। त्यसपछि हामी यसरी लुगा धुन्छौं भनेर देखाइन्। त्यतिमात्र होइन उनले त्यहाँ गर्ने सबै कामबारे देखाइन्।’मलाई भेट्न मसँगै पढेकी गीता कलौनी आउँछे। आज तिमीलाई भेट्दा कस्तो खुसी लाग्यो’, उनले मसँग खुसी साटिन्।

पहिले पहिले यो थान्का कसरी बनाउँछन् होला भन्ने मलाई जिज्ञासा लाग्थ्यो। यति धेरै बुट्टा, यति घुमाउँरा रेखा। तर पनि उनी थान्का कोर्न सिपालु भइसकेकी थिइन्। ‘हाम्रो तिर त थान्का भनेको के हो बुझ्दैनन् है। कसले सिक्ला र बन्नलाई?’ उनले जिज्ञासा राखिन्। जब स्वास्थ्यले दुःख दिन्छ। त्यसबेला उनी सोच्दिरहेछिन्- मरे पनि हुन्थ्यो। तर, मृत्युले उसलाई बाँच्नका लागि, जित्नका लागि छोडेको छ।

थान्काका घुमाउँरो घेरामा विभिन्न रङ्ग भर्नसक्ने भइसकेकी उनी जीवनका घुमाउँरा दुःखका बाटाहरूसमेत पार गरिरहेकी छे।’चार वर्ष म लगातार घर गएँ। घर प्लेनमा जान्छु। दिज्जूलाई भेट्छु धनगढीमा। दाजु भाउजुलाई भेट्छु झलारीमा,’ उनले अगाडि भनिन्, ‘दशै, तिहारमा घर नै आउ भन्छन्। कोही न’भाको जसरी नबस भन्छन्। त्यसैले यस वर्ष पनि घर जाने सोचमा छु तर सस्तोमा टिकट मिलाइदिने दाइ छैनन्। सस्तो टिकट मिलेमा घर जान्छु।’

जुनालाई लाग्दै थियो-सायद मैले पनि अरू साथी झै समयमै स्पाइनल–कर्ड भाँचिदा समयमै उपचार पाएको भए पटक पटक दुःख पाउनु पर्दैन थियो। सानो केही भएमा हामीलाई नेपाली डाक्टर नै भारत पठाउँछन्। मलाई पनि काठमाडौं पठाएको भए यस्तो दुःख पाउदैन थिएँ होला।
मलाई त त्यो बेला महाकाली अञ्चल अस्पतालकै डाक्टरले भारत पठाए। हामीलाई जहिले पनि आफ्नो दुःख मात्र ठूलो लाग्छ। जब उसले आफू जस्तै अरूलाई देख्छ। त्यो बेला अली राहत मिल्छ।

जुनालाई काठमाडौं आएपछि त्यस्तै भयो। आफू जस्तै धेरै स्पाइनल–कर्ड इन्जुरीहरू देखेपछि उसलाई आफ्नो दुःख अली कम लाग्न थाल्यो। दिनहरू सहज लाग्न थाल्यो। अहिले उनी आफूजस्तै फरक फरक अपाङ्गता भएका १३० जनाको बिचमा छिन्। दिनभरी दर्केको पानी रोकिँदै थियो। जुनासँगको भेटमा मैले चाहिएको समयभन्दा बढी नै बिताएकी थिए।’मैले जुना म जान्छु है’ भन्दा उनका आँखा रसाउँदै थिए। देवकी बिष्टले लेखेको खबर बिएल नेपालबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार