परम्परा गुमाउँदै इतिहास बोकेको कोल्टीको ऐतिहासिक दशैं

सार्वजनिक चौर अतिक्रमणले मेला व्यवस्थापनमा कठिनाई भएको जनगुनासो

  सर्पलाल गिरी  136 पटक हेरिएको

सर्पलाल गिरी -दशैं नेपालीहरुको सबैभन्दा विशेष महान पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मद ९ दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाडपर्व भएको हुनाले यसलाई दशैं वा विजया दशमी नामले पनि चिनिन्छ । हिन्दु चन्द्र मासिक पञ्चांग गणनाको तिथि अनुसार पर्ने भएकोले नेपाली चाडहरु निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्वर महिनाको अन्त्य देखि अक्टोवर महिनाको मध्य विचमा पर्दछ ।

लेखक : सर्पलाल गिरी

दशैं आश्विन शुक्ल प्रतिपदाका दिन देखि शुरु हुन्छ । राष्ट्रिय चाड समेत मानिने दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्रभर शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफुभन्दा ठूला मान्यजनहरुको हातबाट टीका (प्रसाद) ग्रहण गरेर मनाइन्छ । दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनाको दिन नेपालीहरुको घरघरमा जमरा राख्ने प्रचलन छ ।

दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा(कोजाग्रत) सम्म १५ दिनको भएतापनि पहिलो दिनलाई नवरात्री र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ । यो तिथिमा माता नवदुर्गा भगवतीले महिषासुर नामको दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी(फूलपाती), महाअष्टमी, कालरात्री, महानवमी, विजया दशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथीहरु हुन । दक्षिण एशियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र बर्मा(म्यानमार) मा दशैं पर्व विभिन्न प्रकारले मनाइन्छ । हिन्दु धर्मावलम्वीको महान चाड दशैं नेपालमा विभिन्न प्रकारले मनाउने प्रचलन छ । यसै सन्दर्भमा दशैं मनाउने प्रचलनको विषयमा बाजुराको कोल्टीमा मनाईंदै आईरहेको दशैंको विषयमा यहाँ ऐतिहासिक चर्चा गरौं ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पौराणिक महत्वको चन्द्रनाथ मन्दिर रहेको कोल्टी चौरमा पौराणिक प्राचीन समयदेखि परम्परागत रुपमा साविकका बाजुरा जिल्लाको कुण्डा क्षेत्रका साविकका ११ गाविसका जनसमुदायले फुलपाती देखि दशमीसम्म बडादशैं मनाउँदै आएको इतिहास छ । इतिहासका जानकार प्रख्यात जोतिषी किस्मत जोशीका अनुसार १० औं शताब्दी देखि १३ औं शताव्दीको अन्त्यसम्म साके १३३२ सम्वत १४९७ मा बाजुराको कोल्टीमा पालबंशी राजाो राज्य थियो । पहिलो राजा शक्ति बर्मा नरपाल मौली भएको प्रसिद्घ चन्द्रनाथ मन्दिरको शिला र ताम्रपत्रमा उल्लेख छ ।

परम्परागत रुपमा पहिलेदेखि अहिलेसम्म कोल्टीको दशैं विभिन्न आयोजना गरि मनाउँदै आएको पाइन्छ । कुण्डा क्षेत्रका विशेष गरि चार किले हकदार कल्याल, छत्याल, विष्ट, कार्की, अधिकारी र साहनी संगै दानीगौणे जोशी(रेग्मी) गिरी र भारतीहरुले फुलपाति देखि विभिन्न कार्यक्रमको आयोजना गरि फुलपाती पण््छिने, डोला बोकेर पुजाआजा गर्ने, पुज्ने, चौखुट्टेमा पुजा गर्ने गरिन्छ । अष्टमी र नवमीमा कुण्डाखोला भरिका सबै गाउँ र बस्तीबाट बाजागाजा, घोडा, राँगा सहित फुलमाला लगाएर कोल्टीको दशैमा आउने गरिन्थ्यो । ढोले, हुड्के, बाजागाजा सहित उल्लेख्य जनसमुदायको सहभागिता हुन्थ्यो । स्थानीय देउडा खेल्ने र जमघट भएका सबैले एकअर्काप्रति श्रद्घा, सद्भाव र शुभकामना आदान प्रदान हुँन्थ्यो ।

पहिले कोल्टीको दशैंमा घोडा दौड हुने, राँगा र गोरु जुधाउने, कखुराको भाले, च्याखुरा, कालिज लडाउने गरिन्थ्यो । बढी दुध दिने भैसी, गाई, बढी अन्न, फलफुल फल्ने थुप्रै प्रतियोगतिा गरिन्थ्यो । हाल आएर यी सबै ऐतिहासिक परम्पार लोभ हुँदै कम हुँदै आएकोले कोल्टीको दशैं कतै लोभ त हुने होइन , इतिहासमा किंवदन्ती रहने होकी भन्ने कुण्डाबासीमा चिन्ता र चासोको विषय बनेको छ । कोल्टीको दशैलाई विशेष महत्वको रुपमा मनाउँदै आएपनि हाल व्यवस्थापन राम्रो हुन नसक्दा ऐतिहासिक र परम्परागत दशैं मेला करिव करिव लोभ हुने स्थितिमा छ । कोल्टीको दशैंलाई विशेष गरि कुण्डाबासीको चासो, चिन्ता र महत्व किन छ भन्दा यसको ऐतिहासिक, पौराणिक र धार्मिक तथा साँस्कृतिक महत्व छ ।

पाण्डवले बनबास कालमा आएर चन्दनाथको स्थापना गरेको भनाई छ । अर्को किंवदन्ती अनुसार दील्लीमा मुगल साम्राज्यको प्रभाव बढेपछि त्यहाँका साधुलाई बस्न गाह्रो हुँदा एक जना सिद्घ बाबाले चन्दनाथको रुप लिएर मानसरोवर जान भनेर यसै कोल्टी चौरको बाटो भएर आउँदा एक दिन बास बसेर दुई पाउ परेकोले कोल्टीको चन्दनाथलाई दुई पाउ र जुम्लाको चन्दनाथलाई एक पाउ भन्ने गरिन्छ । चन्दनाथ भगवान शिवको एक स्वरुपको रुपमा मान्ने गरिन्छ । चन्दनाथ मन्दिर, चौखुट्टे ४ ओटा कोट भएकोले कोल्टीलाई चौखुट्टे पनि भनिन्छ ।

पालबंशी राजाका पालादेखि कोल्टीको चौरको विचमा रहेको मौला पुजा गरिदै आएको छ । पहिले चौखुट्टे ४ ओटा कोट थिए । गोर्खाले ३ ओटा भत्काएपछि हाल एउटा मात्र छ । त्याहाँ बस्ती विस्तारसंगै चौखुट्टे नजिक घर निर्माण गरिएका छन भने विच चौरमा रहेको मौलो छेउमा परेको छ । कोल्टी चौरको वरिपरी बस्ती विस्तार गरि अतिक्रमण गरिएको छ । यो चौरको हकदार विशेष गरि चार किले र कुण्डाखोलाका आम जनसमुदायको साझा, चासो र सरोकार हो ।

दशैं मेला लाग्ने चौरको आधा भूभाग कोल्टी गाउँका स्थानीयहरुबाट अतिक्रमण भएको छ । चन्द्रनाथ गुठी र रैकर कुनैमा कोल्टीको चौर दर्ता नभएपनि सार्वजनिकमा राखिएको छ । चौरको जति क्षेत्रफ हुनुपर्ने हो उल्लेख छैन । चौरको चारैतिर चोरी दर्ता गरिएको र अतिक्रमण गरेको कुरा जानकार बताउँ छन । कुण्डाबासीको व्यापक गुनासो र चासो रहेको छ । सरकारी जग्गा भएका कारण अतिक्रमण गरेमा स्थानीय सररकार र राज्य कीन मौन छ ? कुण्डाबासीले जनगुनासो गरेका छन तर स्थानीय सरकार, राज्य पक्षबाट वेवास्ता गरिएकोछ । चारकिले पक्ष र कुण्डाबासीले चौर अतिक्रमणको आवाज उठाउन जरुरी छ ।

राजा शक्ति बर्माको पालादेखि नैं कुण्डा क्षेत्रको कोल्टी चौरमा घटस्थापना देखि दशमीसम्म विभिन्न कार्यक्रम गरेर दशैं मनाउने प्रचलन रहेको जानकारहरुको भनाई रहेकोछ । शुरुमा पालबंशी राजाले यो ठाउँमा राज्य गरे । पालबंशी राजाको पालामा बाँधुका अधिकारी, छत्याल मल्ल राजाको पालामा पिपलडाली कार्की, कल्याल शाहीको पालामा जगन्नाथ विष्टले काजीको जिम्मेवारी पाएको इतिहास छ । प्रत्येक राजाको पालामा कोल्टीका साहनी सिपाही भएको बताइन्छ । पालबंशी राजा पछि छत्याल(मल्ल) राजा भएको पाइन्छ । छत्याल(मल्ल) पछि कल्याल(शाही) महाराजले कोल्टीबाट राज्य चलाएको इतिहास छ ।

जुम्ली महाराज बलिराज हुन । बाइसेचौविसे राज्य अन्तरगत कुण्डा क्षेत्र र कोल्टी राज्य जुम्ली सिंजापति कल्याल शाही महाराजबाट राज्य चलाएको अधिनमा थियो । राणाकालिन श्री ३ चन्द्र शमशेर की छोरी गंगादिव्यश्वरी राजकुमारीको विवाह बझाङका राजा जयपृथ्वी बहादुर सिंहसंग भएपछि दाइजो स्वरुप कुण्डाक्षेत्र र कोल्टी राज्य बझाङ्गी राजालाई दाइजो स्वरुप दिएपछि सिंजा राज्यबाट बझाङ्गी राज्य अन्तरगत यो क्षेत्र रहेको इतिहास छ । कोल्टीको हाल जन प्रकाश प्रावि शाखा रहेको ठाउँमा पहिले समुन्द्र पाल राजा बसेको कोट दरबार रहेको थियो । कोल्टीको पितरमाणु रहेको ठाउँमा पालबंशी राजाको दरबार रहेको थियो ।

हाल त्यसै कोटबाट कुलो ल्याएको हुँदा कोटकुला भन्ने गरिन्छ । पछिसम्म बझाङ्गी राजाको दरबार हालको जनप्रकाश प्रावि शाखा रहेको ठाउँमा विद्यालय संचालन हुनुपूर्व दरवार थियो । त्यसै दरबारमा २०१६ सालमा आधारभूत विद्यालय खोलेर पहिलो संस्थापक प्रधानाध्यापक बझाङका मुक्तिलाल जोशी र विव्यस अध्यक्ष सूर्यप्रसाद गिरी हुनुहून्थ्यो । हालको भारतीहरुको घर रहेको बस्ती नजिक जुम्ली कल्याल राजाको दरबार रहेको बताइन्छ । त्यसै दरबारमा जुम्ली कल्याल शाहीको सन्तान जुकोटका नरजंग शाही बसेको बताइन्छ ।

राज्य चलाउने राजा र दानी गौणे जोशी हालका रेग्मी कोल्टी गाउँमा बस्ने गरेको पाइन्छ । गाउँले बस्ती हालको कोल्टी बजार क्षेत्रमा रहेको बताइन्छ । सुगुर खाल भएको ठाउँमा ताल रहेको र सो ताल फुटेर कोल्टी बजार रहेको क्षेत्रमा बाढीपहिरो हुँदा बस्ती छोपिएको एक थरि भनाई रहेको छ भने देवताले छल गरेर पहिरो गएको भनाई पनि रहको छ । कोल्टी बजार क्षेत्रमा खन्दा र एअरपोर्ट बनाउँदा भाँडाकुँडा, घरबस्तीका विभिन्न अवशेष पाएको बताइन्छ ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पौराणिक महत्व बोकेर मनाउँदै आइरहेको कुण्डा क्षेत्रको कोल्टीको दशैंलाई कसरी मर्यादित र थप व्यवस्थित बनाउन जरुरी छ । कुण्डा क्षेत्रका जनताले विभिन्न काल खण्डमा राज्य चलाउने शासकको निर्देशन र परम्परा अनुसार दशैं मनाउँदै आए । पालबंशी, छत्याल(मल्ल), कल्याल(जुम्ली शाही महाराज) र बझाङ्गी राजाको शासन देखि पंचायत र बहुदलीय व्यवस्थासम्म परम्परागत रुपमा कोल्टीको दशैं कुण्डाबासीले मनाउँदै आइरहेका छन । जानकारका अनुसार पहिलेको भन्दा पछि मनाउने दशैंको महिमा, व्यवस्था र रोचकता कम हुँदै गएको बताइन्छ ।

पछिल्लो चरणमा सूर्य प्रसाद गिरी, नरजंग शाही, मनिजंग शाही, टिका गिरी, डवल भारती, ताराचन्द्र रेग्मी, प्रदिप गिरी, रणबहादुर अधिकारी, नरबहादुर सिंह, धर्मबहादुर सिंह, गगन बोहरा, चित्र विष्ट, जयबहादुर कार्की, किस्मत जोशी, श्रीलाल जोशी, शिवलाल जोशी, गोरख बहादुर मल्ल, जयबहादुर मल्ल, जाड गिरी, कटकशाही, हर्कजंग शाही, पूर्ण बहादुर विष्ट, कर्णबहादुर विष्ट, मनलाल विष्ट र ब्रह्म्दास दमाइ , तुला साहनी सम्मको राजनीतिक तथा सामाजिक अगुवाईंमा दशैं सन्तोषजनक ढंगले राम्रो व्यवस्थापन गरेर मनाएको पाईन्छ ।

विगतको १० बर्षे जनयुद्घ र शाही कुका कारण ५६ देखि ६२ को दशकसम्म दशैंको मेला, भेला, महिमा र व्यवस्थापन राम्रो हुन सकेन । प्रत्येक दशैको स्तर खस्किदै गयो । देशमा शान्ति सम्झौता भएपछि ६३ देखि ६६ दशकसम्म दशैंको व्यवस्थापन सुधार भएपनि पछिल्लो लोकतान्त्रिक, गणतान्त्रिक र राज्यपुनःसंरचनाको संघिय शासन व्यवस्थामा दशैं व्यवस्थापन सन्तोष जनक छैन । कुण्डा क्षेत्रको कोल्टीले प्रदेश सभा सदस्य बलदेव रेग्मी, नेपाल सरकारको सहसचिव नारायण प्रसाद रेग्मी, बुढीनन्दा नगर प्रमुख पदमकुमार गिरी र उपप्रमुख श्रृष्टि रेग्मीलाई पाएको छ । यति ठूलो जनशक्ति हुँदाहुँदै पनि कोल्टीको दशैं व्यवस्थित र मेला स्थलको सार्वजनिक चौर अतिक्रमण हुँदा सम्म कुनै पहल नगरिनुले जनस्तरमा गुनासो बढ्दै गएको छ । कुण्डा क्षेत्रका साविकका ११ गाविस हालका ४ पालिकामा स्थानीय सरकारका प्रमुख देखि जनप्रतिनिधी पाएको छ ।

स्थानीय सरकार र जनप्रतिनिधी हुँदा पनि कोल्टीको दशैं व्यवस्थित, मर्यादित र प्रशंसनिय हुन सकिरहेको छैन । कोल्टी गाउँ मैं प्रदेश सभा सददशैंको घटस्थापनादेखि दशमीसम्म गरिने पुजा, बाजागाजा र बढाई हुन छाडेको छ । दशैंमा होहल्ला गर्ने, जाडरक्सी सेवनकर्ताको विगविगी हुने, रिस र मौका छोपेर लडाईझगडा गर्ने पर्वमा परिणत हुन गएको छ । पशुपंक्षि प्रतिष्प्रधा, राँगा जुधाई र घोडा दौड प्रतियोगिता कम हुँदै गएको पाइन्छ । स्थानीय देउडा खेलको रौनक पनि घटिरहेको छ । हुनत राजनीतिक, पार्टीगत र अस्वस्थ प्रतिष्प्रधाका कारण तथा धार्मिक साँस्कृतिक विचलनका कारण पनि दशेैं व्यवस्थापनमा फितलो र स्तर घटेको हुनसक्छ ।

२०७५ सालको दशैंमा दशैं मेला लाई राम्रो व्यवस्थापन गर्नका लागि छुट्याएको २ लाख रुपैयाँ बुढीनन्दा नगरपालिकाबाट छुट्याएर निकासा भुक्तानी भएपनि अपारदर्शिढंगले लेखाजोखा छैन । अछामबाट देउडाखेलका लागि चर्चित देउडा खेलाडी पानसरा थापाको समुह झिकाएर आयोजकले खाली हात पठाएको छ । दशैंको मुखमा अर्काको छोरीचेली बोलाएर देउडा खेलाएर मनोरञ्जन लिने, तोकेको ६० हजार भन्दा माथिको रकम नदिने आफ्ना छोरीचेलीलाई माइती घरमा बोलाएर आश्रीवाद, दक्षिणा र राम्रो खानपान गराउने यो सोच र व्यवहारले छिमेकी जिल्लामा कोल्टी, कुण्डा क्षेत्रको मात्र वेइज्जत नभएर बाजुरा जिल्लाको बदनाम भएको छ ।

यसको नैतिक र व्यवस्थापकीय जिम्मेवारी कस्ले लिने ? रेडियो बुढीनन्दाबाट दुई दिनको प्र्रत्यक्ष प्रशारण र सूचना प्रशारण वापतको ३२ हजारको विल आयोजकलार्य दिईए पनि रकम प्राप्त भएको छैन । बुढीनन्दा नगरको लेखा शाखाबाट १ लाख ७५ हजार निकासा भुक्तानी भएपनि देउडा खेलाडी पानसरा थापा, रेडियो बुढीनन्दाको गरि १ लाख आयोजकले भुक्तान दिएको छैन । देउडा खेलाडी र अन्यलाई पुरस्कृत गर्दा खाममा हालेर भपाई बढी गरिएको गुनासो छ । आयोजकले रकम खाएर अपारदर्शि काम गरेका छन । “लाटाका छोरा पतुर्दा, बाठाका छोरा राम हेर्दा ” भनेझै कोल्टीको दशैंको व्यवस्थापन भएको छ । मेला व्यवस्थापनका लागि छुट्याईएको रकमको पारदर्शि लेखाजोखा भएको छैन । लेखक सर्पलाल गिरी रेडियाे बुढीनन्दाकाे अध्यक्ष र नागरिक अधिकारका क्षेत्रमा लामाे समय देखि काम गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार