बामगठबन्धन एकताको लागि संयोजन समिति गठन

  मूलधार सम्वादाता  407 पटक हेरिएको

अछाम– नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले बाम एकताको पहल जिल्ला तहबाट पनि गरिने बताउनु भएको छ । केन्द्रको निर्देशन अनुसार अछाम जिल्लामा पनि ७ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिने र त्यसका लागि एमालेबाट ४ जनाको नाम सिफारिस भएको साथै माओवादी केन्द्रबाट नाम आउने बित्तिकै जिल्ला तहमा पनि पार्टी नेता कार्यकर्ताको वीचमा हार्दिकता बढाउने, सहकार्य गर्ने लगायतका अभ्यास हुने बताउनु भएको छ ।

नेकपा एमाले अछामको मंगलबार सम्पन्न जिल्ला कमिटिको बैठकले गरेका निर्णय आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै जिल्ला अध्यक्ष कुँवरले सो कुरा बताउनु भएको हो ।

एमाले अछाम प्रचार विभाग प्रमुख भीम जनालाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कुँवरले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को समिक्षा गर्दै पार्टीका सम्पूर्ण तह र तप्काको रात दिनको मेहनतबाट चुनाव जित्न सफल भएको बताउनु भयो ।

चुनाव जिते पनि पार्टी संगठनका कामलाई निरन्तरता दिँदै गाउँ, नगरका बैठक गरिने उहाँले बताउनु भयो । जनताले अहिले बाम गठबन्धनलाई मत दिएर बिजयी गराएको र जनताको बिश्वासलाई कायम राख्न विकास निर्माण, आर्थिक समृद्धि तथा उत्पादनलाई बढावा दिने कार्यक्रम पार्टी र सरकारले गर्ने उहाँले बताउनु भयो । युवाहरुलाई सही परिचालन गरी देशको समृद्धि बढाउनेतर्फ आफ्नो पार्टी लाग्ने उहाँको भनाई छ ।

पार्टी अध्यक्ष कुँवरले स्थानीय निर्वाचनमा पनि राज्य संयन्त्र र प्रशाशनबाट एमाले कार्यकर्तामाथि विभेद भएको र भर्खरै सम्पन्न निर्वाचनमा पनि आफ्ना कार्यकर्तालाई विभिन्न आरोपमा फँसाईएको र नियतपूर्वक फन्दामा पारिएको बताईएको छ । कसैले खुलेआम अपराधिक मनोवृत्ति देखाउँदा पनि केही नगर्नु र कसैको पिछा गरी गरी दुःख दिने कार्य भैरहेको प्रति निन्दा व्यक्त गर्दै कुँवरले यस्ता कार्यको भ्रत्सना गर्ने निर्णय भएको जानकारी गराउनु भयो ।

आगामी पुष १५ गते भित्र सम्पूर्ण नगरपालिका र गाउँपालिका संगठन कमिटीका बैठक गरि सक्ने निर्णय गरेको बैठकले नेता कटक साउँदलाई अछाम निर्वाचन क्षेत्र नं. २ पदम बुढालाई क्षेत्र नं. २ अन्तरगतको प्रदेश निर्वाचन क्षेत्र नं. १ को संयोजकको जिम्मेवारी दिएको छ । बैठकले मंगलसेन नगरपालिकाको संयोजकमा चन्द्र बोहरा, पञ्चदेवल बिनायक नगरपालिकाको संयोजकमा भीमबहादुर बिष्ट र सहयोसंयोजक नमराज न्यौपानेलाई तोकेको बताईएको छ ।

यस्तै पार्टी सदस्य ममिन मियाका बुवा अजि मिया र पार्टी समर्थक कालागाउँका काले सोडारीको निधन प्रति श्रद्धाञ्जली तथा परिवर जनमा समबेदना व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा प्रदेश संगठन कमिटी सदस्य कमल तिमिल्सेना, कुलबहादुर कुँवर, बमबहादुर बिसी, जिल्ला उपाध्यक्ष नन्दबहादुर कडायत, जिल्ला सचिव तथा प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी, प्रदेश सभा सदस्य बलबहादुर सोडारी, जिल्ला सचिवालय सदस्य कृष्ण शाह, लक्ष्मी अधिकारी, प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारी, पत्रकार शिवराज ढुंगाना, नरेशकुमार शाही, टेकबहादुर थापा, तुल बहादुर कुँवर, ललित केसी, विष्णु भण्डारी लगायतको सहभागिता रहेको थियो । ले सम्बोधन गर्नुभएको थियो । पत्रकार सम्मेलनको सञ्चालन सचिवालय सदस्य दिपक अधिकारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार