आमा बन्ने रहर

  पत्रपत्रिका खबर  671 पटक हेरिएको

त्यो दिन शुक्रबार थियो। मेरो फोन बज्यो। फोन उठाउँदै मैले घरको झ्यालबाट सुन्दर मौसमको फाइदा उठाउँदै सडकपेटीमा हिँडिरहेका मानिसलाई हेरेँ। ‘सुन्दा जति नराम्रो लाग्छ, यो त्यति नराम्रो छैन,’ डाक्टरले फोनमा भनिन्। मेरो गर्भाशयको ट्युमरको उपचार गर्न सकिने उनी बताइरहेकी थिइन्। ‘अश्वेत महिलामा यो समस्या यति धेरै किन हुन्छ, हामी पत्ता लगाउन कोसिस गरिरहेका छौँ,’ उनले भनिन्, ‘अहिलेसम्म यससम्बन्धी कुनै तथ्यांक छैन।’

त्यस्तो तथ्यांकले मेरो उपचारमा के सहयोग पुग्थ्यो, मलाई थाहा थिएन। मलाई के मात्र थाहा थियो भने ट्युमर तीव्र गतिमा बढिरहेको थियो। त्यसैले म दिक्क भएकी थिएँ। तीन महिनाको गर्भवतीजस्ती देखिने र महिनावारीमा अत्यधिक रक्तस्राव हुने कारण म पीडित थिएँ। यी समस्या निको भइदिए हुन्थ्यो भन्ने मेरो चाहना थियो। डाक्टर यो निको हुन सक्छ भन्दै थिइन्। तर, पहिले उनी एउटा प्रश्नको उत्तर जान्न चाहन्थिन्, ‘गर्भवती हुने योजना छ कि छैन तपाईंको ?’

उनी उत्तर पर्खिरहेकी थिइन्। निकै बेरपछि बोलिन्, ‘दुईतीन दिन यसबारे सोच्नुहोला। हामी सोमबार कुरा गरौँ है ?’बच्चा जन्माउने कि नजन्माउने ? यसबारे निर्णय गर्न मसँग दुई दिनको समय थियो। ‘म तयार भएकै छैन कि ?’ ३० देखि ३५ वर्ष पुग्दासम्म मैले आफूलाई सोध्ने प्रश्न थियो यो। अब अर्को प्रश्न उब्जिरहेको थियो, ‘म कहिल्यै बच्चा जन्माउन नसक्ने भएँ भने ?’

म जमैकामा जन्मेकी हुँ। अर्थात्, हाम्रोमा छिट्टै आमा बन्ने संस्कार छ। बिहे भए पनि वा नभए पनि, आफूले चाहे पनि वा नचाहे पनि जमैकन महिला छिट्टै आमा बन्छन्। आफ्ना आमा र हजुरआमाहरूले जस्तै निश्चय नै ती आमा बन्छन्। किशोरी छँदै म आफ्नै उमेरका केटीहरूले पेट बोकेको देख्थेँ। किनभने, त्यसबेला गर्भपतन अपराध थियो, जबकि आफूभन्दा दोब्बर उमेरको पुरुषबाट गर्भवती बन्नु चाहिँ अपराध थिएन।

मेरो काकाकी छोरी अत्यन्त सुन्दर थिइन्। तर, १६ वर्षमै पाको व्यक्तिबाट गर्भवती भएपछि मानिसहरू उनीबाट तर्किन थाले। उनको सुन्दरताको स्थान कुनै खतरनाक चिजले लिएझैँ महिनौँसम्म मानिसले उनलाई घृणाको नजरले हेरे। मुन्टो निहु¥याएर उनीबाट टाढा हुन्थे। पूरै जिन्दगी बर्बाद हुन दिएकोमा मानिसहरू उनलाई बेवकुफ ठान्न थाले। त्यसको उल्टो, मैले सबथोक राम्रो गरेँ। स्कुलको पढाइ सिध्याएँ, २० वर्षसम्म कसैसँग यौन सम्बन्ध राखिनँ।

तर, जब हामी ३० वर्ष लाग्यौँ, काकाकी छोरीले गुमेको सम्मान फिर्ता पाइन्। बच्चा जन्माएकोले उनको जीवनलाई सफल ठान्न थालियो। ‘जे छ, ठीकै छ,’ उनले पनि मलाई भनिन्। अब हाम्रा अग्रजहरूको क्रोधयुक्त नजर भने मतिर सोझिएका थिए, बच्चै नजन्माई ३० नाघ्ने आइमाईतिर।‘निक्की ! तँ आफ्नै बच्चा चाहिँ कहिले जन्माउँछेस् ?’ केही वर्षअघि आमाले मलाई सोधिन्। उनको हातमा भर्खर जन्मेको बहिनीको छोरो थियो, ‘अझै सोच्ने बेला भा’को छैन ?’

समलिंगीहरू पनि बच्चा जन्माउन सक्छन् भन्ने उनलाई थाहा थियो। त्यसैले बारम्बार नातिनातिना जन्माउन कर गरिरहन्थिन् । आमाले मलाई २२ वर्षको उमेरमा जन्माएकी थिइन्। जमैकाका महिलाले पहिलो सन्तान जन्माउने औसत उमेर यही हो। म भने २२ वर्षकी हुँदा विश्वविद्यालयमा आवेदन दिइरहेकी थिएँ, ेटीहरूसँग डेटिङ गइरहेकी थिएँ। पार्टी र क्याफे धाउने म बेरोजगार थिएँ। कलेजको डिग्री मेरो बाकसमा थन्किएको थियो। त्यस्तो बेलामा अर्को मान्छेप्रति जिम्मेवार बन्ने कुरा म सोच्नसम्म सक्दिनथेँ।

मेरी बहिनीले पनि आमाले जस्तै २० कटेपछि पहिलो र त्यसको छ वर्षपछि अर्को सन्तान जन्माई। म ऊजस्तै देखिन्छु तर ऊ मेरै आँखाअगाडि महिलामा रूपान्तर भएकी थिई। आमाले गर्वले छाती फुलाउँदै हजुरआमाको भूमिका पूरा गरिन्। केही समयमै मेरी बहिनीको चमत्कारका अघिल्तिर मेरो आईभी लिगको डिग्री र उपलब्धि फिका भए।

बच्चा जन्मेपछि बहिनीले कलेज छोडी र बच्चाको बाबुसँग बिहे गरी। मेरो ऊसँग झगडा पनि प¥यो। म महŒवाकांक्षी थिएँ र बच्चा जन्माउन कलेज छोड्ने उसको कार्यले चकित भएकी थिएँ। समलिंगी हुँ भनेर मैले घोषणा गर्दा मलाई सहयोग गर्ने एक मात्र व्यक्तिलाई मैले त्यतिबेला नराम्रो भन्नु हुन्थेन। तर, अमेरिका आएर लेखक बन्ने सपना पूरा गर्न अनेक काम गरिरहेकी मैले त्यसबेला यस्तो सोच्न सकिनँ। अहिले बहिनी–ज्वाइँ लङ आइल्यान्डमा दुई सन्तानसहित बस्छन्। सांस्कृतिक रूपले भन्ने हो भने ऊ सफल भई। किनभने, उसको लाखौँ डलरको शैक्षिक ऋण छैन र उमेरसँग संघर्ष गरिरहेको पाठेघरको चिन्ता पनि उसलाई छैन।

बहिनीका बच्चा नखेलाउँदासम्म मलाई आमा बन्ने कुनै रहर थिएन। मिडियामा अश्वेत महिलालाई आमाका रूपमा प्रस्तुत गरिएको पनि मलाई मन पर्दैनथ्यो। त्यसैले म बच्चाको अनुहारतिर पनि हेर्दिनथेँ। तर, बहिनीका बच्चाले मेरो यो धारण पूरै परिणत गरिदिए। म तिनको प्रेममा परेँ। मेरी श्रीमती र मबीच ११ वर्षअघि भेट भएको थियो। हामी २५ वर्ष हाराहारीका थियौँ। हामीले बिहे गरेको अहिले सात वर्ष नाघिसक्यो। उनी बच्चा जन्माउन चाहन्छिन् भन्ने मलाई सुरुमै थाहा थियो। उनी सानैदेखि आफ्नै बच्चा जन्माउन चाहन्थिन्। ‘यो चाहना कस्तो हुन्छ ?’ एक पटक मैले ओछ्यानमा पल्टेर उनको ढुकढुकी सुन्दै सोधेकी थिएँ। सन्तानको चाहना कस्तो हुन्छ, त्यो जान्ने छटपटी मलाई थियो।

‘यो एक किसिमको इच्छा मात्रै हो,’ उनले भनिन्, ‘वर्णनै गर्न नसकिने इच्छा। छेउछाउमा अरू बच्चा हुँदा आमा बन्ने चाहना नहुनु सम्भवै छैन।’ त्यसैले उनले गर्भवती हुने प्रयास गरिन्। दुई वर्षसम्म हामीले उनको गर्भाशयमा शुक्रकीट राख्ने पद्धति अपनायौँ। म आफैँ चाहिँ बच्चा जन्माउन चाहन्नँ भन्ने उनलाई थाहा थियो। यो खुलासा गर्न सजिलो थिएन। किनभने, हामी बसेको समाजको नियमअनुसार त्यसो गर्नु असंगत थियो। हाम्रो उपचारमा संलग्न डाक्टरहरूले समेत सीधै भने, ‘तपाईंहरूसँग त दुई वटा गर्भाशय छ। एउटाको असफल भए अर्कोले प्रयास गर्ने !’ उनी हरूको सुझाव केही मानिसका लागि उचित थियो होला। तर, हाम्रो हकमा त्यो गलत थियो। किनभने, म होइन, मेरी श्रीमती चाहिँ गर्भवती हुन चाहन्थिन्। जिन्दगीले हाम्रो योजना तहसनहस पारिदियो। अनेकौँ प्रयास र एउटा गर्भपतनपछि मेरी श्रीमतीलाई स्वास्थ्यका कारणले बच्चा जन्माउने सपना त्यागिदिन डाक्टरले सल्लाह दिए।

हेर, बच्चा जन्माउन साँच्चैको इच्छा चाहिन्छ,’ उनले भनिन्, ‘नचाहँदा नचाहँदै गर्न सकिने कुरा होइन यो।’‘तिमी रिसाउँछ्यौ कि ?’त्यस्तो पनि सोच्छु त म,’ उनले भनिन्। सोमबार मैले डाक्टरलाई फोन गरेँ। उनको रिसेप्सनिस्टले फोन उठाएर भनिन्, ‘डाक्टर व्यस्त हुनुहुन्छ। पछि फोन गर्नुहुन्छ। बरु तपाईंलाई केबारे कुरा गर्नु थियो ?’ट्युमर उपचार पद्धति अघि बढाउन म तयार छु भन्दिनू,’ मैले भनेँ।‘गर्भवती हुने योजना छ कि छैन तपाईंको ?’ डाक्टरको प्रश्न थियो। ट्युमरको उपचार गर्न मलाई डाक्टरले सुझाएको पद्धति गर्भवती हुन चाहने महिलाका लागि उचित थिएन। बच्चा जन्माउन सम्भव हुने गरी पनि ट्युमरको उपचार गर्न सकिन्थ्यो। तर, त्यो पद्धतिबाट उपचार गरे पनि तन्दुरुस्त हुन लामो समय लाग्ने थियो। यो कुरा जान्दाजान्दै पनि मलाई के थाहा थियो भने भित्री मनमा म बच्चा जन्माउनभन्दा ट्युमर निको पार्न चाहन्थेँ।

मैले ऐनामा आफूलाई नियालेँ। काला आँखा, गालाका अग्ला हड्डी। के म कुनै दिन यस्तै आँखा र झ्याम्म कपाल भएको बच्चा जन्माउन चाहन्नँ त ? पश्चात्तापका दुई साना थोपा मेरा गालामा खसे। मैले श्रीमतीलाई यो सब सुनाएँ।‘हामी धर्मसन्तान लिन सक्छौँ,’ उनको आवाजमा मप्रति कुनै गुनासो थिएन। मलाई त्यो शब्द खूब मन प¥यो। उपयुक्त घरको आवश्यकता रहेका बच्चाको संख्या ठूलो छ। म दोधारमा अलमलिइरहेँ। सबैथोक अवास्तविकजस्तो लाग्न थाल्यो। यदि म कहिल्यै बच्चा जन्माउन चाहन्नथेँ भने यो दोधार किन त ? बच्चा नजन्माउँदा म पूर्ण आइमाई बन्दिनँ ?‘यो सबै पार गरेर पनि त म बच्चा जन्माउन सक्छु होला नि ?’ मैले परिवार र वरिपरिका महिलाबारे सोच्दै सोधेँ। म बिनसित्ति डराएकी पनि हुन सक्थेँ।

केही छिनपछि नै डाक्टरले मलाई फोन गरिन्। मेरो छातीको पर्खाल भत्काउने गरी मुटु धड्कियो। आफ्नो कुरा भन्न र आफैँले बच्चा जन्माएकी डाक्टरको आँखामा नगिर्नका लागि जस्तोसुकै माफी माग्न पनि म तयार थिएँ। मेरो भनाइको परीक्षण गर्न उनले प्रश्न दोहो¥याउलिन् कि भन्ने पनि लागेको थियो। तर, उनले यति मात्र भनिन्, ‘ठीकै छ त।’मेरो टाउकोमाथि वर्षाैंदेखि झुण्डिरहेको प्रश्नले उत्तर पाएको थियो। (बेन उपन्यासकार हुन्। उनको ‘हेयर कम्स द सन’ प्रकाशित छ भने ‘प्याट्सी’ प्रकाशोन्मुख छ। द न्युयोर्क टाइम्समा प्रकाशित आलेख कवि आचार्यले अनुवाद गरेका हुन्।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार