वामदेवले चुनाव हार्नुका ११ कारण यस्ता छन्, कहाँ हराए २५ हजार भोट

  पत्रपत्रिकाबाट  397 पटक हेरिएको

काठमाडाैं- स्थानीय तहको निर्वाचनको आधारमा वाम गठबन्धनको २९ हजार मत बढी रहेको बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको हारको विषय दिनदिनै पेचिलो बन्दै गएको छ ।

वामपन्थीको गढ त्यस निर्वाचन क्षेत्रबाट मंसिर २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता संयज गौतमसँग एमालेका प्रभावशाली नेता वामदेव पराजित भए । कांग्रेसका सञ्जयले ४४ हजार ८२९ मत ल्याए भने वामदेवले ४४ हजार ७६ मत प्राप्त गरे ।

बन्यो छानविन समिति

एमालेले वामदेवको हारको कारण पत्ता लगाउन छानविन आयोग नै गठन गरेको छ । केन्द्रीय सदस्य बैजनाथ चौधरीको नेतृत्वमा वामदेवको हारको कारण पत्ता लगाउन बनेको छानविन आयोगको टोली अहिले बर्दियामा छ । आयोगमा प्रदेश नम्बर ५ का सचिव भुवेश्वर ढकाल र कार्यालय सचिव रामप्रसाद भट्टराई सदस्य छन् ।

उपाध्यक्ष गौतमको पराजयलाई एमालेले गम्भीरतापूर्वक लिएको छ । स्थानीयस्तरमा समेत वामदेव पराजयको छानबिन गर्न समिति बनेको छ । एमालेका जिल्ला अध्यक्ष हरि ज्ञवालीले केन्द्रको आयोग बर्दिया आएर छानबिन थालेको जानकारी दिए । उनले भने, ‘उहाँहरु यहाँ आइपुगेर छलफल थाल्नु भएको छ ।’ उनले वामपन्थीको गढमै प्रभावशाली नेता गौतम हार्नुमा केही न केही कारण हुनसक्ने बताए । ‘छानबिन टोली आएको छ, यथार्थ चाँडै बाहिर आउला’, उनले विश्वास व्यक्त गरे ।

वामदेवले हार्नुका ११ कारण यस्ता छन्

वामदेवको हारभित्र आन्तरिक र बाह्य दुवै कारणले काम गरेका छन् । पार्टीबाटै अन्र्तघात भएको अनुमान धेरैले गरेका छन् । उनलाई हराउन पार्टीमै चलखेलदेखि अरु बाह्य कारणले पनि काम गरेका स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

माओवादी केन्द्रसहितको चुनावी संरचना निर्माणले एमालेका जिल्ला कमिटी, नगरपालिका कमिटी र गाँउपालिका कमिटी पुरै निष्क्रिय भएका थिए । ‘ओभर कन्भिडेन्स’, नजिकका केही नेताको घेरामा सीमित हुनु, आफुलाई भावी प्रधानमन्त्रीको घोषणा गर्नु वामदेवका हारका कारण रहेका स्थानीय नेताहरु बताउँछन् ।

घात अन्तरघातसँगै स्थानीय पार्टी नेतृत्व निर्वाचनमा प्रभावकारीरुपमा परिचालन हुन नसक्नु हारको एउटा प्रमुख कारण बनेको छ । निर्वाचनमा परिचालनका लागि बनाइएको ‘हाइकमाण्ड’को नेतृत्व जिल्ला बाहिरका नेतालाई सुम्पिँदा जिल्ला, नगरपालिका र गाउँपालिका कमिटि निष्क्रिय भएको थियो ।

निर्वाचन परिचालनका लागि वामदेवकै नेतृत्वमा बनेको ‘हाइकमाण्ड’मा अधिकांश नेता बर्दिया बाहिरका छन् । त्यस संरचनामा किसान परिचालन समिति संयोजकमा काठमाडौंका बालराम बासकोटा, युवा तथा विद्यार्थी परिचालन संयोजकमा लमजुङका डिबी कार्की, असन्तुष्टलाई सम्झाउन बनेको समितिको संयोजकमा कास्कीकी शारदा सुवेदी र आर्थिक समितिको संयोजकमा चितवनका हरि पराजुली थिए ।

स्थानीय नेतालाई बेवास्ता

बर्दियाका पार्टी अध्यक्ष हरि ज्ञवालीलाई यो निर्वाचन परिचाल ‘हाइकमाण्ड’ राखिएकै थिएन । उनलाई गुलरिया नगरपालिकाको कमाण्डको जिम्मेवारीमा सीमित गरिएको थियो भने सचिव शालिकराम अधिकारीलाई बासगढी नगरपालिकामै सीमित गरिएको थियो ।

अर्कातिर जिल्ला उपाध्यक्ष लालबहादुर श्रेष्ठलाई बढैयाताल गाउँपालिकामा खटाइएको थियो । त्यसैगरीे बारबर्दिया नगरपालिकामा जिल्ला सचिवालय सदस्य पदम ढकाल संयोजकत्व निर्वाचन परिचालन समिति बनाइएको थियो । सबै नगरपालिका र गाउँपालिमा एमाले÷माओवादीका ३÷३ जना सदस्य रहेको ६ सदस्यीय निर्वाचन परिचालन समिति बनाइएको थियो ।

मन नपरेका नेता ‘जगेडा’मा ?

चारै स्थानीय तहको निर्वाचन परिचालन समितिलाई कमाण्डको जिम्मा जिल्ला सचिवालय सदस्य पूर्णप्रसाद शर्मालाई दिइएको थियो । निर्वाचनमा वामदेवले मन नपराउने स्थानीय नेतालाई आफ्नै वडामा सीमित गरिएको थियो । पूर्वसांसद श्याम ढकाल, केन्द्रीय युवा तथा खेलकुल विभागका सचिव दामोदर अर्याल, प्रदेश सभा सदस्य शोभा ज्ञवाली र पूर्व अंचल सदस्य खड्कबहादुर खड्कालाई वडा कमिटीको खटनपटनमा आफ्नै वडामा रोकेर राखियो ।

नेतृ गौरा जिम्मेवारीविहीन

जिल्ला पार्टी इन्चार्ज एवं पोलिटव्यूरो सदस्य गौरा प्रसाईलाई कुनै जिम्मेवारी दिइएको थिएन । पूर्व सांसद ढकाल, यूवा तथा खेलकुल विभाग सचिव अर्याल, पूर्व अञ्चल सदस्य खड्का र केन्द्रीय सदस्य सूर्य थापा लगायतलाई वामदेवको पराजयको प्रमुख कारकका रुपमा आरोप लगाइएको छ । वामदेवबिरुद्ध बागी उम्मेदवारी दिएका पूर्व अञ्चल सदस्य खड्काको उम्मेदवारी फिर्ता लगाउन भनिएको थियो ।

‘ओभर कन्फिडेन्स’ ले डुबायो

माओवादी केन्द्रसहितको चुनावी संरचना निर्माणले एमालेका जिल्ला कमिटी, नगरपालिका कमिटी र गाँउपालिका कमिटी पुरै निष्क्रिय भएका थिए । ‘ओभर कन्भिडेन्स’, नजिकका केही नेताको घेरामा सीमित हुनु, आफुलाई भावी प्रधानमन्त्रीको घोषणा गर्नु वामदेवका हारका कारण रहेका स्थानीय नेताहरु बताउँछन् ।

प्युठान ‘फ्याक्टर’को असर

वामदेव २०७० सालको दोस्रो संविधानको निर्वाचनमा प्युठान गएका थिए । त्यहीकारण बर्दियाली एमाले कार्यकर्तादेखि मतदातासम्म उनीसँग रुष्ट थिए । पूर्वेली र पश्चिमेलीको हावाले समेत यो पटक वामदेवलाई असर पार्यो ।

घट्दो लोकप्रियता

पछिल्लो समयमा बर्दियामा वामदेव गौतमको लोकप्रियता समेत घटेको थियो । अर्कातिर कांग्रेस नेता सञ्जय गौतमले जिल्लामा निरन्तर सक्रिय भएर लोकप्रियता बढाएका थिए । सञ्जय पछिल्लो समय बर्दियाली जनताबीच भिजेका थिए । तर वामदेवको सम्बन्ध बर्दियाबाट टाढिँदै थियो ।

अर्को कारण श्रीमती र छोरा

वामदेवले चुनाव हार्नुको अर्को कारण श्रीमती तुलसा थापालाई समानुपातिकमा राख्नु पनि रहेको छ । उनले छोरा हरिश गौतमलाई राजनीतिक उत्तराधिकारी घोषणा गर्दा कार्यकर्तामाझ असन्तुष्टि चुलिएको थियो । वामदेवले गर्ने अत्यारिला भाषण हारको कारण बन्यो ।

अन्तरघात नगरेको जवाफ

वामदेवलाई हराएको आरोप केही स्थानीय र केन्द्रीय नेतामाथि थोपर्ने कोशिश भएको छ । केन्द्रीय युवा तथा खेलकुद विभागका सचिव अर्याल आफूमाथि लगाइएका आरोप निराधार भएको बताउँछन् । आफूले जिम्मा पाएको साविकको जमुनी गाविसबाट एक हजार ३३६ मतले अग्रता दिलाएको दाबी उनले गरेका छन् ।

पछिल्लो समयमा बर्दियामा वामदेव गौतमको लोकप्रियता समेत घटेको थियो । अर्कातिर कांग्रेस नेता सञ्जय गौतमले जिल्लामा निरन्तर सक्रिय भएर लोकप्रियता बढाएका थिए । सञ्जय पछिल्लो समय बर्दियाली जनताबीच भिजेका थिए । तर वामदेवको सम्बन्ध बर्दियाबाट टाढिँदै थियो ।

श्रीमती विरामी भएका कारण १५ दिन मात्रै चुनावी अभियानमा खटिने अवसर पाएको उनले स्पष्टिकरण दिएका छन् । ‘मेरी श्रीमती विरामी भएकोले २ हप्ता मात्र बर्दियाको चुनावी अभियानमा खट्ने अवसर पाएँ, बर्दिया पुग्नेवित्तिकै काम मागें, उहाँ (वामदेव) ले आफ्नै गाउँमा खट्ने आदेश दिएपछि त्यही खटिएँ’, उनले भने, ‘म खटेको साविकको जमुनी गाविसमा एक हजार ३३६ मतले अग्रता छ , अन्यत्र सबै ठाउँमा हामी पराजित भयौं, के कारणले त्यस्तो भयो ? सम्बन्धित कमरेडहरुलाई थाहा होला ।’

कहाँ गयो २५ हजार ६ सय मत ?

बर्दिया क्षेत्र नम्बर १ बाट स्थानीय निर्वाचनमा एमालेले २८ हजार ९२, माओवादी केन्द्रले २ हजार ७२२ मत ल्याएका थिए भने कांग्रेसले २७ हजार ९१ मत ल्याएको थियो । वाम गठबन्धको मत कांग्रेसको भन्दा २९ हजार ६१५ बढी थियो ।

माओवादी केन्द्रले जितेको बारबर्दियामा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले १९ हजार ६८७ मत ल्याएको थियो भने कांगेसले ८ हजार १९९ मत पाएको थियो । ११ हजार ४८८ को अग्रता हुनुपर्नेमा १ हजार ८०९ मतको मात्रै अग्रता भयो । बारबर्दियामा ९ हजार ६७९ मत गायब भयो ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको गुलरिया नगरपालिकामा एमाले ५६० मतले पराजित भएको थियो । यो निर्वाचनमा गुलरियामा कांगेस र वाम गठबन्धनको २ हजार ८५९ को अन्तर भयो । त्यहाँ पनि वाम गठबन्धनको २ हजार २९९ मत गायब भयो ।

उता एमालेले जितेको बाँसगढी नगरपालिकामा वाम गठबन्धनको १६ हजार ६४७ मत प्राप्त भएको थियो भने कांग्रेसले ६ हजार ४७८ मत पाएको थियो । स्थानीय निर्वाचनमा कांग्रेस भन्दा वाम गठबन्धनको १० हजार १६९ मतले अघि थियो । यस निर्वाचन कांग्रेसको भन्दा वाम गठबन्धनको ७८५ मत कम आयो । बाँसगढीमा १० हजार ९५४ मत गायब भयो ।

एमाले नै विजयी बढैयाताल गाउँपालिकामा वाम गठबन्धनले १० हजार ६४० मत प्राप्त गरेको थियो । यहाँ कांग्रेसले ६ हजार २०७ मत पाएको थियो । स्थानीय तह निर्वाचनमा कांग्रेस भन्दा वाम गठबन्धनको ४ हजार ४३३ मत धेरै थियो । तर, प्रतिनिधि सभा निर्वाचनमा बढैयातालमा पनि वामदेवले १ हजार ५८४ को मात्रै अग्रता बनाउन सके । यहाँ पनि २ हजार ८४९ मत गायव भएको छ ।

वामदेव र बर्दिया

बर्दिया र वामदेव पर्यायवाची जस्तै हुन् । हुन त वामदेवको जन्म प्युठानमा भएको हो । तर उनले बर्दियालाई राजनीतिक कर्मथलो बनाएका थिए । भूमिगतकालमा बर्दियामा हलो जोतेर किसान क्रान्ति थालेका वामदेवले भूमिगतकालमा धेरै दुःख भोगे, हलो जोतेर जीविका पनि चलाए ।

कुनै बेला उनी आदिबासी थारु, भूमिहीन कमैया र सुकुम्बासीका लोकप्रिय नेता थिए वामदेव । २०४८ सालको आमनिर्वाचनमा वामदेवलाई बर्दियाबासीले भारी मतले विजयी बनाए । कृषिको उर्वरभूमि बबई सिँचाई आयोजना बनाउन वामदेवको ठुलो योगदान छ । वामदेवकै कारण बर्दिया वामपन्थी गढ पनि बन्यो ।

वामदेवले चुनाव हार्नुको अर्को कारण श्रीमती तुलसा थापालाई समानुपातिकमा राख्नु पनि रहेको छ । उनले छोरा हरिश गौतमलाई राजनीतिक उत्तराधिकारी घोषणा गर्दा कार्यकर्तामाझ असन्तुष्टि चुलिएको थियो । वामदेवले गर्ने अत्यारिला भाषण हारको कारण बन्यो ।

गौतमलाई बर्दियाबासीले तीन पटकसम्म जिताए । २०७० सालको निर्वाचन बर्दियासँगै वामदेवले प्युठानबाट पनि चुनाव लडे । उनी त्यो बेला दुवै क्षेत्रबाट विजयी हुन सफल भए। हराए पनि जिताए पनि बर्दियालीले वामदेवलाई आफ्नै सोचेका थिए । तर, दुई क्षेत्र जितेका उनले बर्दियालीलाई माया मार्दै जन्मथलो प्युठान रोज्न पुगे। बर्दिया नफर्किने भन्दै प्युठान रोजेपछि उनीसँग बर्दियाली रिसाए । उनको त्यो निर्णय पनि अहिलेको निर्वाचनमा पराजयको कारण बन्यो ।

बाढी आउँदा हेरेनन्, विकास पनि भुले

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमापछि बर्दियामा ठुलो बाढी आयो । धेरै धनजनको क्षति भयो, तर वामदेव सहानुभूति दिन समेत बर्दिया गएनन् । भादा नदीका कारण सदरमुकाम गुलरिया उच्च जोखिममा छ । भादामा तटबन्ध बनाउनेदेखि बाढीले भत्काएका घरबास पुननिर्माणमा उनले चासो नदेखाएको अर्को आरोप पनि छ ।

पटक पटक प्रभावशाली मन्त्रालय सम्हाल्दा समेत बर्दियाको विकासमा चासो नदेखाएको, बेरोजगार थारु, भूमिहीन किसान, सुकुम्बासीलाई नहेरेको गुनासो त उनीमाथि थियो नै । अर्कातिर युवालाई रोजगारी दिन कुनै भूमिका नखेलेको अर्को आरोप पनि लागेको थियो ।

नेपालगन्ज–गुलरिया र, गुलरियाबाट राजमार्ग जोड्ने सडकको दुरावस्था लगायत अन्य विकास निर्माणमा चासो नदिएकाले बर्दियामा वामदेवको लोकप्रियता पछिल्लो दिनमा घटेको थियो । यिनै कुरा वामदेवले चुनाव हार्नुका प्रमुख कारण बनेका थिए । अन्नपूर्ण पोष्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार