बझाङमा स्क्रब टाइफसका कारण २ जनाको मृत्यु

  मूलधारपोष्ट  628 पटक हेरिएको

बझाङ-स्क्रब टाइफसका कारण बझाङका २ जनाको मृत्यु भएको छ । स्क्रब टाइफस एक जना महिला र एक जना पुरुष गरी दुई जनाको मृत्यु भएको छ भने एक सय ४४ जना प्रभावित भएका छन् । स्क्रब टाइफस बाट मृत्यु हुनेमा कैलाली जिल्ला गेटाका बस्दै आएका बझाङ देउरा घर भएका १५ वर्षीय भरत खाती र बझाङ जिल्लाको वित्थडचिर गाँउपालीकाकी २३ वर्षीया सरस्वती सिंह रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत ओम प्रकास जोशिले बताउनु भयो । दुबै जनको कैलालीमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनु भयो ।

सुदुरपश्चिम प्रदेशको अछाम र बाजुरा जिल्ला बाहेक अरु ७ वटा जिल्लामा स्क्रब टाइफसको संक्रमण देखिएको उहाँको भनाई छ । अहिले सम्म सुदूरपश्चिम प्रदेशमा एक सय ४४ जना स्क्रब टाइफसबाट प्रभावित भएका छन् । सबैभन्दा बढी डडेल्धुरा जिल्लामा ५४ जना स्क्रब टाइफसका बिरामी रहेका छन् । त्यस्तै कैलालीमा ४४, बैतडीमा २४, कञ्चनपुरमा ९, डोटीमा ६, बझाङमा ५ र दार्चुलामा दुई जनामा संक्रमण देखिएको जोशिले बताउनु भयो । मुसामा देखिने किर्ना जस्तो किरा बाट मानिसमा सर्ने यो रोग मानिस बाट मानिसमा भने सर्दैन ।

यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणु बाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखा पर्ने जिल्ला अस्पतालका कार्यालय प्रम्ख डाक्टर सन्दिप ओखेडाले बताउनु भयो । स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने, समयै उपचार नभए कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्ने डाक्टर ओखेडाको भनाई छ ।

उहाँले भन्नु भयो किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ । यो रोगबाट बच्न खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घास बारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भए सम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चौर, बारी, घाँस बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार