मैले देखेको पुरुष’माथिको हिं’सा

  पत्रपत्रिकाबाट  860 पटक हेरिएको

श्रद्दा के.सी-हजारौं लेख देखें, जो महिलाका हकहितका लागि लेखिए । हजारौं सभा समारोहमा केवल महिला कै कुरा निस्किए । तर मौन भएर हजारौंको भिडमा उभिएको पुरुषलाई कसैले सोध्न सम्म भ्याएन । के छ उसको पीडा ? हो म पनि एक महिला हो । मैले पनि लेख्नु पर्थ्यो, महिलाका गीत, आमाका कविता अनि महिलाको अधिकारको बारेमा । तर मैले लेखिनँ किनकी यहाँ महिला मात्र कहाँ हो र ! कुनै न कुनै ठाउँमा पुरुष पनि हिंसामा छन् ।

सबैको मुखबाट सुनिन्छ, पुरुषको मन कठोर हुन्छ । उनीहरु अक्सर सानो कुराले रुदैनन् । अनि भन्छन्, कति धेरै निर्दयी हुन्छन् यी पुरुष जाती ! तर कसैले यो देख्दैन उनीहरुका आँशु त सबै सकिन्छन्, पसिना बनेर । जो हरेक दिन रात आफ्नो परिवारको लागी मिहिनेत गर्दा बग्छ । हरेक रात रोएर काट्दा पनि सधै मन्द मुस्कानका साथ उभिने पुरुष निर्दयी कसरी हुन सक्छ ?

एउटा भनाई छ नि,”पुरुषको तलब अनि महिलाको उमेर कहिल्यै सोध्नु हुदैँन ।” किनकी महिलाहरु कहिल्यै आफ्नो लागी बाच्दैनन् र पुरुषहरु कहिले आफ्ना लागी कमाउँदैनन् । भन्छन्, छोरी-मानिस दुई घरको भाग्य लिएर जन्मिन्छन् । फेरी सबैले यो किन सोच्दैनन् कि छोरा पनि दुई घरको जिम्मेवारी बोकेर जन्मिछन् ? एउटी नारी सँगसँगै उसले आफ्ना जिम्मेवारी पनि अङ्गालेको हुन्छ, उसका जिम्मेवारीहरू पनि बढेका हुन्छन् ।

आफ्नी छोरी आफूबाट टाढा हुँदा शोकमा रुने बुवा-आमाले किन त्यो घरको छोरोलाई पनि किन पराइ बनाउछन् होला । कैयौं ठाउँमा हामीले देखेकै कुरा हो । आफ्नो जिम्मेवारी पूरा गर्न कतिपय दाजुभाइ विदेशिनु परेको आफ्ना खुशी भन्दा अरुको खुसीको लागि जिन्दगी त्याग्नु परेको यहाँ पुरुष विदेश बसेर दुःख गरेर पसिना बगाएर सम्पति कमाउँछन् । केवल आफ्नो परिवारको खुसी र जिम्मेवारी पूरा गर्छन् । त्यही दुःख गरेर कमाएको त्यो रकम कुम्ल्यार कैयौं नारी बेपत्ता भएका छन् ।

सँधै महिलाको हकहितका लागि आवाज उठे, महिला हिंसा विरुद्ध कैयौं कार्यक्रम, कैयौं गोष्ठी सेमिनार गरियो । तर त्यहीं ठाउँमा पुरुषका लागि न कुनै आवाज उठ्यो न त कुनै गोष्ठी सेमिनार नै भयो । हर कोही भन्छ्न्, महिला हिंसा दिनानुदिन बढ्दै छ । महिलाहरु पीडित छन् । महिला हिंसा देख्ने हाम्रा यी आँखाले किन कहिल्यै पुरुष हिंसा देखेनन् ? आखिर कही न कही, कतै न कतै पुरुष पनि हिंसामा नै त छन् ।

तर यो किन सोचेनौं, हामीले लगाउने सिन्दुर, चुनरी, हल्दी, मङ्गलसुत्र, चुरा, औँठी, त्यही पुरुषले लगाइदिन्छ जो हाम्रो लागी जिन्दगीभरी हामी सँगसँगै हाम्रो आमा बुवाको जिम्मेवारी उठाउन हामीलाई अटुट बाचा कसम दिइरहेको हुन्छ । जब तिमी कुनै पुरुषको नामको सिन्दुर लगाउँछौ भने दु:खी किन हुने ? उसको नामको भनेर उसले त झन् तिम्रो रंगिएको जिन्दगीलाई जिन्दगीभरी रंगाउने एउटा अटुट बन्धन दिएको हो । गलामा मंगलसुत्र बाधिदिन्छ्न् र हामी भन्छौं उसको नामको । यो त तिम्रो जिन्दगीभरी तिम्रो रक्षाका लागि उसले दिएको अर्को बाचा हो ।

हरेक बुवा-आमा आफ्नी छोरी पराइ घर पठाउँदा आफ्नी छोरीको सुख-शयल अर्को परिवार अनि केटासँग माग्ने गर्दछन् । हो त्यसैगरी अर्की आमाले पनि आफ्नी बुहारीबाट छोराको लागि सुख र खुसीको आशा बोकेकी हुन्छिन् । आफ्नी छोरी पराइ घर पठाउँदा निःशब्द हुने, दाइजोको बिरोध गर्ने बुवा-आमाले आफ्नो छोरीले सुख पाओस् भनी ज्वाईलाई विदेश जान अनुरोध गर्दै लाखौ रकम लगानी गर्न राजी हुन्छन् । आखिर किन ?

खाना खाएको चिसो हात ओभाउन नपाउँदै आफ्नो कामको लागी दौडिन्छन् । भ्याइ-नभ्याइ आफ्नो काम सकेर घर फर्किन जब सार्वजनिक बस चढ्छन्, बस्ने सिट भेटिदैन र पनि मौन हुन्छन् । चुपचाप उभिरहन्छन् । न कसैले सोध्छ थकाइ लाग्यो होला, गाह्रो भयो होला यता सिटमा बस भनेर । सधै अरुको लागी जिउँछन्, अरुकै लागी कमाउँछन् र अरुकै लागी रमाउँछन् ।

मलाई अझै पनि याद छ, त्यो दिन केही महिना अगाडी साथीहरु सबै घुम्न गएको बेला सबै जना सामान किन्ने भनेर गयौं । सबैले यो लग्छु आमालाई, त्यो लग्छु आमालाई । अपशोच त्यहाँ म सँगसँगै कोही पनि थिएनौं जो बुवाको लागि केही किनिदिउँ, केहि लगिदिउँ भन्ने । यहाँसम्म कि केटाहरु पनि पोतेको लहरो झुन्ड्याएको पसल मै झुम्मिएका थिए, त्यति ठुलो भीडमा कोही कसैको मुखबाट सुनिएन ‘बुवा’ शब्द । न त मैले नै सम्झिए ।

हो, आमा महान छिन् । आमाको मूल्य अमुल्य छ । हामी जन्मिदाँ आमाको शरीरबाट कैयौँ लिटर खुन बग्यो होला । हामीलाई पिलाएको दश धारा दुधको मूल्य कसैगरी चुकाउँन सकिँदैन । म मान्छु, आमाले संसार देखाउँछिन् । नौ महिना कोखमा राख्छिन् । उनको पीडा उनको दुख वर्णन गरी साध्य नै छैन । हर कोही भन्छन्, आफु जन्मेको घर छुट्छ । तर यो किन सोच्दैनौ तिम्रो जिन्दगीमा अर्को घर पनि त जोडिन्छ, तिम्रो जिन्दगीको नयाँ सुरुवातमा तिमी सँगसँगै उसको नाम जोडिन्छ । जो तिम्रो जिन्दगीको महत्त्वपूर्ण पाटो बन्न पुग्छ ।

यही ठाउँमा बुवालाई राखेर हेरौँ त । जिन्दगीभरी आफ्ना सन्तान आफ्नो परिवारको लागि दुख गर्दा उनको शरीरबाट बगेको पसिना के आमाको शरीरबाट हामी जन्मिँदा बगेको रगत भन्दा कम छ होला र ? उनीले सन्तानका लागि गरेको त्यो दुःख त्याग कुनै आमाको भन्दा कम छैन जस्तो लाग्छ । एउटा बच्चा जन्माउँदैमा आमा भइदैन जस्तो लाग्छ । यदि त्यसो हुँदो हो त दिनानुदिन जन्मँदै फालिएका कति अबोध बच्चा छन् । कति कोख मै मर्छन् । कति सडक मै सड्छन् । जसलाई तिनै आमाले जन्माएकी हुन । हो ! म मान्छु, जन्म दिने आमा महान् हुन्छिन् । तर जिम्मेवारी बोक्ने मेरो बुवा पनि मेरो लागि उत्तिकै महान छन् । श्रद्दा के.सीले लेखेको यो लेख हामीले सल्लेरी खबरबाट साभार गरेका हाैं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार