सुरु भयो सुदुरपश्चिमकै दोस्रो ठूलो भुवा पर्व,

  गंगराज पण्डित  487 पटक हेरिएको

बाजुरा – जिल्लामा सुदुरपश्चिमकै दोस्रो ठूलो भुवा पर्व विधिवत रुपमा सोमबारट धुमधामका साथ सुरु भएको छ । पौष कृष्ण औंसीको अघिल्लो दिनदेखि सुरु भुवा पर्व बाजुरा, बझाङ्ख, अछाम, लगायत सुदूर र मध्यपश्चिमका धेरै जिल्लामा खेलिने दशै पछिको दोस्रो ठूलो पर्व हो । त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । यो पर्व सुदूर तथा मध्यपश्चिमका धेरै जिल्लामा विशेषरुपले मनाइने गर्दछन ।

बाजुरा जिल्लाका धेरै गाउपालिका तथा नगरपालिकाहरुमा यो पर्व निकै रमाइलो गरी मनाउने गर्दछन । जिल्लाका मार्तडी, जुगाडा, पाण्डुसैन, बम्रतोला, कैलाशमाडौ, आटिचौर लगायत ठाउहरुमा यो पर्व विषेशरुपमा मनाइन्छ । रातभरी आगोको मुढा सल्काएर देउडा, भारीखेल, भोस्सो हरुपानिया लगायत विभिन्न खेलहरु छुट्टा छुट्टै खेल्ने चलन छ । आफ्नै रीति संसकृतिको जर्गेना गर्न यो पर्व ३ देखि ५ दिन सम्म मनाइन्छ । कुनै ठाउँमा भैलो पुनिदेखी मनाउने चलन छ ।

भैलो पुनिदेखि भुवाखाडामा मुणा जम्मा गर्ने र भुवा आैसीको अघिल्लो दिन राति मुणा सल्काई रातभरी देउडा, भारीखेल, भोस्सो, हरुपानिया, र चाली खेल्ने चलन छ । यसपर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पुरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ ।

छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो । यस पर्वमा बुडिगंगाको वम्रतोलामा हरिनु खेल्ने चलन समेत रहेको छ । स्थानीयबासीका अनुसार हरिनु भनेको मान्छेलाई मुकुट लगाई श्रृङगार गरी कसैलाई बाघ, चितल, हरिण बनाई बाजागाजाका साथ घमाउने र रमाईलो गर्ने चलन छ । अर्को खेल चाली चालीको पनी छुट्टै विशेषता छ । दायाँ हातमा तरवार र बायाँ हातमा ढाल समाई पञ्चेबाजाको तालमा नाच्ने गरिन्छ ।

पौराणिककालमा पाण्डव र कौरवबीच लडाई हुँदा एक हातमा तरवार र अर्को हातमा ढाल समाई गरेको सम्झनामा खेल्ने खेल चाली हो । ‘राती चारबजे राँको सल्काई नजिककै खोलामा गई नुहाएपछि शरीरको छालासम्बन्धी रोग हराउने र पुसको चिसो रातमा नुहाउँदा मान्छेमा यति धेरै शक्ति रहेछ भनेर राक्षसहरु डराउने हुँदा सबै मान्छेहरु एकैसाथ खोलामा नुहाउने चलन चलेको हो ।’

भुवा पर्वको अन्तिम दिन दिउँसो सबै मान्छे भुवा खेल्न जम्मा भई आफूभन्दा ठूलाबाट टिका लगाई आर्शिवाद माग्ने र चाली खेलेर समापन गर्ने गर्दछन । तर बाजुराको डाडा पाखा लेक वेंसी अनि घट्ट चौतारामा बसेर हरेक मेलापर्वमा गाइने, देउडा दोहोरी लोप हदै गईरहेकाले यसको संरक्षण गर्नुपर्ने देउडा पारखीहरुले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार