राष्ट्रपतीमा रामबहादुर थापा “बादल” नाम सिफारीसमा

  मूलधार सम्वादाता  401 पटक हेरिएको

काठमाडाैं-  केहि दिनमा गठन हुने नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवार बनाउने तयारी गरेको छ ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब पक्का पक्कि भएपछि माओवादीका भागमा राष्ट्रपति र सभामुख परेको हो । सभामुखमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतको दाबी रहे पनि बादल भने माओवादीभित्र राष्ट्रपतिका एक्ला उम्मेदवार हुन् ।

चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने सोचमा रहेका बादललाई चितवन–३ मा उम्मेदवारी दिएका प्रचण्ड कमजोर हुने ठानेर माओवादीले ब्याक गराएको थियो ।

अध्यक्ष प्रचण्डले पुरुषतर्फ समानुपातिकको पहिलो नम्बरमा नाम राख्न खोज्दा उनले मानेका थिएनन् । पछि राष्ट्रिय सभामा ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने आश्वासन दिइएको थियो । बाम गठबन्धनको बहुमत आएसँगै भागबण्डामा माओवादीले राष्ट्रपति पाउने भएपछि बादलको नाम अघि सारिएको हो ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समेत बादलको नाममा सहमत देखिएका छन् । अर्का वरिष्ठ नेता झलनाथ खनालले भने आफैं हुन चाहेका छन् । उनले यसअघि विद्या भण्डारी राष्ट्रपति हुँदा पनि चाहना राखेका थिए । तर, पार्टीभित्रको समीकरणमा कमजोर देखिएपछि खनाल पछि परेका थिए ।

‘कमरेड बादललाई राष्ट्रपतिको उम्मेदवार बनाउने करिब पक्का भएको छ’, माओवादीका एक कार्यालय सदस्यले भने, ‘एमाले पनि उहाँको नाममा सहमत छ ।’ अर्का एक नेताले भने पार्टी नेतृत्वले राष्ट्रपतिमा अघि सार्न खोजे पनि स्वयं बादलले भने राष्ट्रपति बन्न अस्वीकार गरेको दाबी गरे ।

यसअघि राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यकाल दोहोरिन चाहेको समाचारहरु आएका थिए । त्यसका लागि राष्ट्रपति–उपराष्ट्रपति दुवैले आ–आफ्ना पूर्वपार्टीमा लविङसमेत गरिरहेका छन् । श्रोत काठमाडाैं टुडेबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार