आफ्नै तलब भत्ताले दिन दुखकीको उपचार गर्छन पत्रकार सिंह

  मूलधारपोष्ट  268 पटक हेरिएको

२०६६ को एउटा अनिदो बिहान, पश्चिमोत्तर सुदूरको पाहाडमा घामले राम्ररी पखेँटा फिँजाइसकेको थिएन । बासिविदो बसेजस्तो आकाशमा टम्म बादल बास बसेको थियो । एकजना दीनहीन बालिका, आफूजस्तै दुब्लो, भोक, रोगग्रस्त र शोकमग्न अनुहारको बालक पिठ्युँमा बोकेर घाम नझुल्कँदै प्रकाश सिंहको औषधि पसलमा आइन् । अहेव सिंह बाजुराको देवलसिङ स्वास्थ्यचौकीमा काम गर्थे । रोगले गाँजेका र स्वास्थ्य–संस्था पुग्न नभ्याउनेलाई लाभ पुगोस् भनेर घरमै ओखतीमूलो बेचबिखन पनि गर्थे । मुस्किलले ११ वर्षमा पैताला राखेकी ती बालिका बिहान घामले आँखा नउघार्दै उनको दैलामा आइपुगेकी थिइन् ।

साबिक बाह्रबीस गाविस, तिमाडा, हाल बूढीगङ्गा नगरपालिकाकी ती बालिका ‘टुहरी’ रहिछन् । वर्षेनी बच्चा जन्माउँदाजन्माउँदा गलितम् शरीरले पुन: बच्चा जन्माउन खोज्दा डेढ–दुई वर्षअघि आमाको सुत्केरी अवस्थामै प्राण निमोठिएको रहेछ ! आमाको प्राणपखेरू उडेको केही समयपछि हृदयघातले बाबुको पनि जीवनको दौडधूप टुङ्गिएपछि दुई भाइ (एकजना आठवर्ष र अर्को डेढ दुईवर्षका) र आफ्नैसमेतको अभिभावक बनेकी रहिछन्– सञ्जा धामी ! पिठ्युँमा बोकिएका बालकको अवस्था नाजुक थियो । कलेटी परेका ओठ बगरतुल्य सुख्खा थियो । शरीरमा हाडछालामात्र बाँकी हुँदो हो ।

पिँठ्युबाट ओह्रालेर प्रकाशले ती बालकको अवस्था नियाले । आउँले शरीर क्षीण तुल्याइसकेकाले बालक उभिनसक्ने हालतमा थिएनन् । प्रकाशले जाँचपड्ताल पश्चात् औषधि दिए । १६० रुपैयाँ भएको थियो । तर पैसा तिर्नेबेलामा अभावग्रस्त उनका आँखाबाट आँसु हाम फालुँलाझैँ गरे । ती बालिकालाई उपचार गरेपछि मूल्य भुक्तान गर्नुपर्छ भन्नेसमेत थाहा रहेनछ ! औषधोपचारको मूल्य सुन्नेबित्तिकै उनको अनुहार सोहोरियो । प्रकाशले ती बालिकाको अनुहारको सङ्गकटासन्न भाव बुझे ।

औषधिको पैसा त लिएनन् नै । आफूसँग भएको लुगाफाटोसमेत दिइपठाए । दुई भाइ च्यापेकी ती बालिकाको अभावग्रस्त अनुहारले प्रकाशलाई दिनभर पिरोलिरह्यो । राति निद्रामा पनि भयानक ऐँठन भयो । बालिकाको दीनहीन अवस्थाले भन्दा सुदूरको भू–खण्डको पीडाले उनको चित्त फाट्नुसम्म फाट्यो । भाइहरू च्यापेकी ती बालिकाको तस्बिर प्रकाशले कैद गरेका थिए । दीनहीन अवस्थाले मन थामिएन । उनले समाचारको रूप दिएर बाजुराबाटै प्रकाशित हुने ‘मालिका टाइम्स’ साप्ताहिकलाई दिए । लगत्तै अर्को हप्ता समाचार प्रकाशित भयो । प्रकाशले समाचारको ‘तागत’ अनुमान गरेका थिएनन् । चित्तशान्ति गर्न समाचारको सहारा लिएका थिए । तर परिणाम सुखद् रह्यो । बाह्रबीस गाविसले करिब १० हजार रुपैयाँ सहयोग गर्‍यो ।

बालिकाको गरिबी केही दिनका लागि ओझेल पर्‍यो । कयौँ छाक तात्न नपाएको चुह्लोमा सामलतुमलको जुगाड भयो । दुई–चारदिनकै लागि सही, ती टुहुरा लालाबालाको पेटमा तातो पर्‍यो । यो घटनाले स्टेथेस्कोप समाइरहेका प्रकाशको दिमागमा जादुयी तरङ्ग ल्यायो । “स्टेथेस्कोप (अहेव)को प्रभाव विरामीलाई परेथ्यो, कलमको प्रभाव त समाजलाई पर्दोरहेछ ! सुदूरको भू–खण्डमा फणा उठाइरहेको गरिबी पन्छाउने तागत कलमसँग पो रहेछ भनेर म तुरुन्तै आकर्षित भइहालेँ,” स्टेथेस्कोपबाट कलमतिर फड्को मार्दाको घटना स्मरण गर्छन् ।

बालिकाको दयनीय अवस्थाले उद्विग्न मन समाचारले शमन भयो नै, पत्रकारितातिर पनि डोहोर्‍यायो । प्रकाशलाई पत्रकारितासँग साइनो जोडाउने अर्को घटना पनि छ–प्रकाशकै टोल समीप दुधिर प्रावि थियो । स्कुलको हालत रुग्ण । विद्यार्थी नियमित विद्यालय आउँथे तर शिक्षक नहुने । एक पटक त यस्तो भयो, दसैँ बिदामा घर गएका शिक्षक तीन महिनासम्म विद्यालय फर्किएनन् । स्कुलको होइन विद्यार्थीको भविष्यमा भोटेताल्चा लाग्यो ! प्रकाशले दुधिर प्राविको दूरावस्था समेटेर सामाचार तयार पारेर । पुनः ‘मालिका टाइम्स’लाई दिए । ‘बाइनेम’मै खबर छापियो । समाचार आउनेबित्तिकै जिल्ला शिक्षा कार्यालयले तदारुकता देखायो । शिक्षक छानबिनको दायरामा आए ।

यो घटना पनि प्रकाशलाई सञ्चारकर्मतिर डोहोर्‍याउने सहायक कारण बन्यो । “मलाई सञ्चारकर्ममा समाहित गराउने ‘मालिका टाइम्स’का दयाराम पण्डित हुन्,” उनको अनुहारमा कृतज्ञ भाव सञ्चार हुन्छ । समाचारको आलोकमा सुदूरको दुःख निस्तेज बनाउने हुटहुटी जागेपछि उनी धनगढीको ‘समाचार सारांश’मा पनि गाँसिए । ‘समाचार सारांश’लेमात्रै उनको समाचारको तिर्खा मेटाएन । काठमाडौंबाट कोशौँ टाढा पर्ने सुदूरको अभावमा खासै बदलाव आएन । मूलप्रवाहमै सुदूरका दुःखका ‘सवाई’ कहन मन लाग्यो । तिनताक अन्नपूर्ण पोष्टले बाजुराको रिपोर्टर खोजी गरेका थियो । प्रकाश जोडिन आइपुगे ।

अन्नपूर्ण पोष्टमा पाइला राखेपछि उनलाई आफूलाई पत्रकारितामा मोड्ने ती तीन बालबालिकाको सम्झना भयो । उनीहरूको यादले एक किसिमले पिरोल्यो । एक त किशोरवयमा समेत नटेकेकी जेठी बालिका आफ्नै स्याहार गर्न सक्दिनथिन् । अर्को, उनलाई गरिबीले निर्मम दपेटिरहेको थियो । सुदूरको पीडाका प्रतिनिधि पात्र बनिरहेका ती बालिकाको पीडालाई पुनः उजागर गरे । अन्नपूर्ण पोष्ट’ र ‘दि हिमालयन टाइम्स’को मुख्य समाचार बन्यो । आश्वासनका पोकापन्तुरा नै सही, ओइरो लाग्यो । उत्तम सञ्जेल संस्थापक रहेको समता शिक्षा निकेतनले पढाउने वचन दियो । झण्डै पाँच महिना उनले ताकेता गरे । तर पढाउने ‘समाजसेवी’ कोही निस्किएनन् । अन्ततः बुढानीलकण्ठको ‘नेप्लिज होम’ले आश्रय दिने भयो ।

प्रकाशकै पहलमा ती टुहुरा नानीहरू ‘नेप्लिज होम’मा बसेर जीवनका सु–स्वादू सपना बुनिरहेका छन् ।“महिनैपिच्छे चाडबाड आउँछ । बाजुराबाट हुर्रिंदै काठमाडौँ आउँछु, ती बालबालिकाको आर्शीवचन लिएर फर्कन्छु,” भावुक देखिन्छन् प्रकाश । प्रकाशले पत्रकारिताको दशक लामो सङ्घर्षमा ४८ बालबालिकाको ‘अभिभावकत्व’ लिए । गरिबीले छिमलेका ३० दीनहीनलाई उपचारको जोहो गरिदिए । सुदूरपश्चिमका गाउँपाखा चहार्दा प्रकाश थुप्रै चहर्‍याइरहेका घाउहरूसँग ठोक्किन पुगेका छन् । ती घाउहरू उनको जीवनको दर्शन बनेका छन् र पत्रकारिता पेशामा निर्भीक अघि बढ्न प्रेरित गरिरहेका छन् । पत्रकारिता लिनका लागि होइन, दिनका लागि हो भन्ने निजत्व स्थापित भएको छ ।

त्यसको आडमा सुदूरको कुना-कन्दारमा प्रकाशका अलग्गै छवि स्थापित भएको छ । एउटा घटनाले उनको मनमा अझै पनि रिँगटा चलाउँछ ।
गत सालतिरको कुरा हो । उनी घरबाट सदरमुकाम मार्तडी जाँदै थिए । बडीमालिका–६, बूढीगङ्गा पुगेपछि एउटा विदारक दृष्य-घटनासँग जम्काभेट भयो । एकजना निःसहाय महिला बाटामा अलपत्र थिइनन् । उनका सहारा बनेका बैसाखी बाटामा लापरवाहीसँग फालिएका थिए । खुट्टामा (थेग्लो) टालो बाँधिएको थियो । र, हल न चलको अवस्था थिइन् । घाउले खुट्टा कुँजिएका थिए ।

बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सडकमा चारहातपाउ पसारेर गुहार माग्दा पनि कुनै गाडीले नरोकेपछि उनी इन्तु न चिन्तुको अवस्थामा थिइन् । माइती पानीनाउला पुग्ने एकपित्को तागत पनि उनीसँग थिएन । प्रकाशले मोटरसाइकल रोकेर दायाँबायाँ हेरे । उद्धार गर्ने हेतु मोटरसाइकल त अड्याए तर कोही मानिस बाटामा आवतजावत गरिरहेका थिएनन् । निर्जन अवस्था थियो । जसोतसो मोटरसाइकलमा राखेर माइतीछेउ ल्याए तर झार्न उस्तै कठिन । १० मिनेट पर्खिएपछि एकजना महिला भेटिइन् । उसैको सहायतामा ओह्राले ।

मोटरसाइकलबाट ओह्रालेपछि दीनहीन ती महिलाले आफ्नो कथा सुरू गरिन् । बडुवालको पहिलो विवाह गावैँ छेउमा भएको थियो । दुर्भाग्य भनौँ उनको पहिलो विवाह सफल भएन । श्रीमानले अर्की च्यापेर हिँडे उनले माइतीकै शरण पर्नुपर्‍यो । माइतीमा रूखोपीठो खाँदै थिइन् । केही वर्षमै बाबु र भाइको बाटोमा मृत्यु तगारो बन्यो । केही समय माइतीमा बसेर भाइका बच्चा स्याहारिन् ।

केही सीप नचलेपछि उनले पनि माइती नजिकै दोस्रो बिहे गरिन् । पहिलो र दोस्रो श्रीमानबाट १२ सन्तान जन्माएकी रहिछन् । एउटा छोरीबाहेक बचेनन् । ती छोरी पनि बाटो लागिन् । श्रीमान वनजङ्गल चहारेर जडिबुटी खोजमेल गरेर ल्याउँथे । बेचबिखन गरे गुजारा चलाउँथे । अफसोस ! भीरबाट लडेर मृत्यु भयो । श्रीमान्को देहलिला समाप्तीपछि उनको भन्नु कोही थिएन । माइतीका गोरु चराएर दुःख काट्दै थिइन् । पहराबाट बल्ड्याङ खाँदै आएको ढुङ्गा उनको खुट्टामा बज्रियो । जीवनले अर्को भयानक दुःखतिर धकेल्यो । उपचारका लागि बयलपाटा अस्पताल लगिएको पनि थियो तर पैसा नभएपछि उपचार कहाँ हुन्थ्यो फर्काएर घर पुर्‍याउँदा खुट्टामा कीरा परिसकेको थियो ।

प्रकाश भगवान सावित भए । उनले ‘डब्लुएचओ’को चिकित्सकको सहायतामा ‘एक्स–रे’ गरे । तत्काल प्राथमिक उपचार गरे । थप उपचार गर्न लाग्ने रुपैयाँ प्रकाशसँग पनि थिएन । विकल्प थियो– सामाजिक सञ्जाल, फेसबुक । तत्कालै उनले सामाजिक सञ्जालमा राखे । दुई–चार दिनको अन्तरालमा ८० हजार रुपैयाँको जुगाड भयो । धनाको मृत्युउन्मुख जीवनले पुनर्जीवनको श्वास फेर्‍यो । “बयलपाटा अस्पतालका चिकित्सक एवम् प्रमुख विकास गौचनले औषधि सहायता दिनुभयो, झण्डै दुई महिना शैय्या दिनुभयो,” उनी सुदूरका पीडा ओकल्छन् । बडीमालिका-५ मा पनि मन उद्वेलित गराउने अर्को घटना छ । बडीमालिका–५ मनागाउँमा पाँचजना बालबालिका अभिभावकविहीन बनेका थिए ।

बाबुको क्यान्सर लागेर निधन भएपछि एकमहिनाजति आमाले हेरविचार गरिछन् । एकदिन आमा आफ्नो भाग्यदेखि हरेश खाइन् । छोराछोरी छाडेर वेपत्ता भइन् । चाउचाउ किनिदिएर अस्पताल जान्छु भनेर हिँडेकी आमा कहिल्यै घर फर्किइनन् । गाउँलेले सोधीखोजी गर्दा थाहा लाग्यो– उनी त कैलालीमा अर्कैसँग घरजम गरिछन् । गाउँलेहरू चुकचुकाउन लागे, “बाबुलाई आउने काल यिनीहरूलाई पनि आइदिएको भए हामीले दुःख त देख्नुपर्दैनथ्यो !”आमा ‘पोइल’ हिँडेपछि फुपू नाता पर्नेले केही समय ती अनाथको हेरविचार गरेकी थिइन् । माइत बस्दा ‘देउता’ लाग्यो भनेर उनले पनि सह्यार गर्न छाडिन् ।

खबर प्रकाशकै कानमा ठोक्किन आइपुग्यो । समाचार थाहा पाएलगत्तै प्रकाश हानिएर मनागाउँ पुगे । कुपोषणले डसेको बालबालिको अवस्था देखेर उनको छाती चरचरी चिरियो । जेठी छोरी ११ वर्षकी थिइन् । स्कुल जानुपर्ने बालिका पीठो पैँचो मागेर भाइबहिनीको पेट उकास्न अभिशप्त थिइन् । प्रकाशलाई देख्नेबित्तिकै ‘विधाता’ आएझैँ गरेर बालिका धरधरी रोइन्– “कयौँ छाक भोकै बस्यौँ । बासी ढिँढो पनि कसैले पत्याएनन् । तल.. गाउँमा गएर पीठो पैँचो ल्याएर रोटी पकाउँदैछु ।”

घरमा आउनेबित्तिकै प्रकाशले बालिकाको त्यो आँसु सामाजिक सञ्जालमार्फत् फिँजाए । १२ लाख बढीको भिडियोमा दृष्टि पर्‍यो । चार-पाँच दिनमा छ लाख जुगाड भयो । ‘एसओएस’जस्ता आधा दर्जन कहलाएका संस्थाले शिक्षा–दीक्षाको वचन दिए । अहिले ती बालबालिका ‘एसओएस’को छहारीमुनि जीवनको भाग्य कुँदीरहेका छन् । बाजुराकी कोल्टीका दलित वयोवृद्धको पनि प्रकाशले उद्धार गरेका छन् । समाजले पिँधमा पारेको दलित । त्यसमाथि वयोवृद्ध । विरामीले गल्तै गएपछि ती वयोवृद्धलाई उपचारको सट्टा घाटको बन्दोबस्त मिलाउन थालेछन् गाउँले ।

केही वर्षअघि भदौ १४ गतेका दिन संयोगले प्रकाश त्यो गाउँमा पुगेका थिए । अभागी झुप्रोमा मसानघाटको सन्नाटा थियो । वयोवृद्धको एकजना छोरा थिए, दुर्भाग्य भीरबाट लडेर उनी अघि लागे । बुहारीले अन्तै घरजम गरिन् । तीनजना नातिनातिना स्याहार्ने जिम्मा तिनै वयोवृद्धको काँधमा थियो । वृद्धकी श्रीमतीले काखमा राखेर पङ्खा हम्किँदै थिइन् । घरको छानोको अवस्था तिनै नातिनातिनीकोजस्तै थियो ! शीताम्य ! एकझर पानी नओत्ने ! विदारक अवस्था देखेर प्रकाशको मन पनि सीमासार क्षेत्रजस्तै भयो ।

वृद्धाले कोल्टीको मेडिकलबाट आठ सय रुपैयाँ उधारोमा ओखतीमूलो लिएकी रहिछन् । रोगको निदान नै नभएकाले के निको हुन्थ्यो ! प्रकाशले दुःख नियालिरहन सकेनन् । पाँच सय रुपैयाँ वृद्धाको हातमा थमाएर घर फर्किए । राति अबेरसम्म निद्रा परेन । राति नै फेसबुकमार्फत हयोगको अपिल गरे । भोलिपल्ट पत्रिकामा पीडालाई समाचारको रूप दिए । डा. सुन्दरमणि दीक्षितले तत्काल ३० हजार उपलब्ध गराए र दुई लाखको वचनवद्धता गरे । बसुधा गुरूङ, अनिता बिन्दुलगायतले सहयोग गरेर झण्डै साढे तीन लाख जुगाड भयो ।

बाजुराको सीडीओमार्फत् परिवारलाई हस्तान्तरण गरे । जिल्ला अस्पताल, बयलपाटा हुँदै सेती अञ्चल अस्पतालमा तीन महिना उपचार गरेपछि वृद्ध तङ्ग्रिए । ७० हजार उपचार खर्च लाग्यो । “दुई लाखजति बैंकमा जम्मा गरिदिएका छौँ । अहिले उहाँ भैँसी पालेर दूध पो बेच्न थाल्नुभयको छ,” मृत्युको मुखमा पुगिसकेको बिरामीलाई उपचार गरे जीवनको लयमा फर्काउन सकेका पुलकित देखिन्छन् प्रकाश । प्रकाश ‘द हिमालयन टाइम्स’का बाजुरा सम्वाददाता र पत्रकार महासंघ जिल्ला शाखाका सभापति छन् । समाचारमार्फत् ‘परहित’, परोपकारमा जुटेका प्रकाश सुदूरको पीडामा मल्हमपट्टी लगाउन उद्यत छन् ।

त्यसका लागि सहयोगी बनेको छ– सामाजिक सञ्जाल र आफ्नै पत्रकारिता पेशा । आफू आवाजविहीनको आवाज बन्ने तर आफैँ दीनदुःखी, असहायको हातमा पैसा दिँदैनन् । जिल्ला प्रशासन कार्यालयमार्फत् हस्तान्तरण गर्छन् । दुरुपयोग नहोस् र पत्रकारिता पेशामा प्रश्नचिह्न खडा नहोस् भनेर उत्तिकै सचेत पनि छन् । अरुको पैसामा समाजसेवा गर्ने पत्रकार भनेर वचनवाणको सामना नगरेका होइनन् । उनीहरूलाई यसको जवाफ छ । पत्रकार महासंघको जिल्ला सभापतिको पदीय हैसियतका आधारमा जिल्लास्थित सङ्घ–संस्थाले बैठकमा बोलाउँछन् । बैठक–भत्ता पनि दिन्छन् । भत्तावापत हात परेको सबै रकम तीनै दीन–दुःखीको सेवामा खर्चन्छन् । पत्रकारिता पेसाले उनको स्वास्थ्य सेवा पेसा ओझेलमा परेका छ । समाजसेवा झनझन् तिखारिँदो छ । “मेरो जीवन पत्रकारिता र समाजसेवाको दुई भँगाला हुन्,” आफ्नै जिन्दगीलाई सङ्क्षेपमा परिभाषित गर्छन् उनी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार