प्रेम विबाह गर्न मन छ – शिवानी कुँवर

  पत्रपत्रिका खबर  399 पटक हेरिएको

पोखरा-पछिल्लो समय सामाजिक सञ्जाल मार्फत एकपछि अर्को भाईरल बनिरहेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटक लगायतका सामाजिक सञ्जाल मार्फत भाईरल हुनेहरुको जमात पनि बाक्लै छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम भन्दा पनि टिकटकबाट भाईरल हुने र हुन खोज्नेहरुको जमात राम्रै छ । टिकटकमा रमाइलो भिडियो सजिलै अप्लोड गर्न सकिने भएकाले पनि यस्तो हुन सक्छ । समयको परिवर्तन सँगै प्रविधिको विकास भयो । प्रविधिको विकास सँगै मान्छेका चाहना र इच्छामा पनि परिवर्तन नआएको होइन ।

अहिले सबैका हातहातमा मोबाइल फोन छन् । मोबाइलले सामाजिक सञ्जालको प्रयोगलाई अझ सहज बनाइदिएको छ । पोखरा पनि त्यसबाट अछुतो छैन । पोखराबाट पनि धेरै व्यक्ति यस्ता छन् जो सामाजिक सञ्जालको प्रयोग गरि चर्चामा नआएका होइन्न । सामान्य देखि कलाकार, पत्रकार, राजनितिकर्मीहरुले यसको प्रयोग गरेको देख्न सकिन्छ ।

फरक त्यति हो कसैले रमाइलोका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् भने कसैले आफ्ना विचारहरु प्रस्तुत गर्न सामाजिक सञ्जाल प्रयोग गरेको पाइन्छ । चर्चामा आउने एकाध् नाम मध्ये एक नाम हो शिवानी कुँवर । टिकटकमा पाएको चर्चाका कारण शिवानीले केही नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । उनले अभिनय गरेको म्युजिक भिडियोमा “मायालु मायालु” लाई रुचाईएको छ । शिवानीले ८० भन्दा अधिक सर्टमुभीमा पनि अभिनय गरिसकेकी छिन् ।

“घरपरिवारबाट अभिनय र कलाक्षेत्रमा त्यति सपोर्ट छैन”, उनले भनिन्, “चाहेर पनि घरपरिवारका कारण यो क्षेत्रमा प्रोफेसनल रुपमा लाग्न समस्या छ ।” तर साथीभाईहरुको सपोर्टले अलिअलि गरिरहेकी छु । सामाजिक सञ्जालमा बढी प्रयोग गर्न मन पर्ने शिवानीलाई इन्स्टाग्राम र टिकटकनै हो । उसो त फेसबुक पनि उनले नचलाउने भने होइन । दिनको अत्याधिक समय उनले फेसबुकलाई पनि छुट्याएकी छिन् । फेसबुकमा आउने समाचारहरुमा उनलाई बढी चाख छ । तर आनन्द टिकटक र इन्स्टामानै उनलाई मिल्छ ।

व्यवस्थापन विषय लिएर बिबिएस अन्तिम वर्षमा अध्ययन गरिरहेकी शिवानीलाई हाँस्यव्यङ्ग्य चलचित्र हेर्न बढी मन पर्छ । घरपरिवारका अन्य सदस्य भन्दा दिदीका कारण उनलाई अभिनय कलामा रुची भएको हो । शिवानीलाई मागी विवाह भन्दा प्रेम विवाह मन पर्छ । प्रेमी हुनुहुन्छ भन्ने प्रश्नमा शिवानी भन्छिन्— “पहिले थियो अहिले छैन ।” बच्चामा आफु ज्ञानी स्वभावको रहेको बताउने शिवानीले दाल र अण्डा करी भने मिठो बनाउछिन् रे । तर उनलाई खाना बनाउन एकदम अल्छी लाग्छ । “घरको अरु काम गर्न तयार तर खाना बनाउन चाहिँ म पछिनै हट्छु ।”— उनले भनिन् ।

पोखरा रामघाट घर भएकी कुँवर टिकटकका कारण भाईरल छिन् । उनको टिकटक एकाउन्टमा १ लाख ६८ हजार फलोअर्स छन् । शिवानीले टिकटकमा अप्लोड गरेको बाबाजीको कमेडी भिडियोलाई अत्याधिकले रुचाएका छन् । लगभग चार लाख भन्दा बढीले उक्त भिडियोलाई हेरेका छन् ।

कुँवरलाई कमेडी अभिनय गर्न अलि बढी मन पर्छ । तर उनी नृत्य गर्न नजान्ने भने होइनन् । गीतहरुमा नृत्य गरेका भिडियोहरुलाई पनि उनले टिकटकमा अप्लोड गरेकी छिन् । टिकटक एकाउन्टमा सबै उमेरको समूहका साथीहरु रहेको शिवानीले बताईन् ।

शिवानीलाई प्राकृतिक सौन्दर्यताका ठाउँहरु विशेष मन पर्छ । डाँडाकाँडा, हरियाली ठाउँहरु घुम्न शिवानीको रुचीको विषय हो । उसो त उनले अष्ट्रेलिया पनि घुमेर आइसकेकी छिन् । छोटो समयमा टिकटकका कारण भाइरल बनेकी शिवानीलाई चलचित्रमा अभिनय गर्न भने रहर छैन । भन्छिन् —“त्यो मेरो विषय होइन् । मोडलिङमा चाहिँ चाहना छ ।” सबैको माया पाएमा सफलता मिल्ने उनको विश्वास छ । शिवानीलाई बेलाबखत टिकटक, फेसबुक, इन्स्टामा रहेका केटा साथीहरुबाट प्रेम प्रस्ताव पनि नआएको होइन् । तर उनले उक्त विषयलाई आफ्ना फलोअर्सहरुको माया भनेर बुझेकी छिन् ।

टिकटक अभिनय गर्न चाहनेहरुका लागि र सिक्नेहरुका लागि राम्रो अवसर भएको शिवानीले बताइन् । टिकटकको प्रयोग उचित तवरले भए सामान्य मान्छेका राम्रा प्रतिभाहरु बाहिर आउने उनको भनाई थियो । “सामान्य मान्छेलाई टिकटकले परिचित गराउँछ । आज टिकटकका कारण कलाकार बनेका थुप्रै उदाहरणहरु पनि छन् ।”—शिवानीले भनिन् ।परिचय नेटवर्कबाट साभार । तस्विर शिवानीको टिकटकबाट लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार