भारतमा श्रीमती कोठी चलाउने, नेपालबाट श्रीमान् युवती पुर्‍याउने

  पत्रपत्रिका खबर  495 पटक हेरिएको

छिमेकी देश भारतको कोलकातामा कोठी वेश्यावृत्तिका लागि तोकिएका घर सञ्चालन गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। कोलकाताको ‘रेड लाइट’ क्षेत्र सोनागाक्षीमा कोठी सञ्चालन गर्ने राजु स्याङतान भन्ने अजय लामा र उनका सहयोगी राजु तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शनिबार पक्राउ गरेको हो।

नुवाकोटकी एक २० वर्षीया युवती लिएर भारत हिँडेका दुवैलाई विशेष सूचनाका आधारमा परिसर टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो। उद्धार गरिएकी युवतीको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।परिसरका अनुसार काठमाडौंबाट काकडभिट्टा चल्ने बा ४ ख ८०१ नम्बरको हायस माइक्रो बसमा रहेका तीनै जनालाई नियन्त्रणमा लिइएको हाे।

‘विशेष सूचनाका आधारमा पक्राउ गरेका हौं,’ परिसरका डीएसपी होविन्द्र बोगटीले भने, ‘युवतीलाई राम्रो जागिरको प्रलोभनमा भारत लगिँदै थियो।’ उनका अनुसार पक्राउ परेका अजयको मोबाइलबाट समेत उनी चेलिबेटी बेचबिखनमा सक्रिय रहेको खुलासा भएको छ। युवतीलाई भारतमा आफूले धेरै युवतीलाई लगेर राम्रो जागिर दिएको बताउँदै उनले फकाएका थिए। प्रहरीले उद्धार गरेपछि युवतीले आफू बेचिन लगिएको चाल पाएकी थिइन्।

मोबाइलबाटै भारतमा युवतीको ‘बार्गेनिङ’
प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखिएका अजयको मोबाइलमा नेपाली युवतीहरुको फोटो र उनले भारतका विभिन्न सहरमा रहेका कोठी सञ्चालकसँग बार्गेनिङ गरेको विवरण फेला परेको छ। उनकी श्रीमतीले कोलकाताको सोनागाक्षीमा सञ्चालन गरेको कोठीबाहेक अन्य स्थानमा समेत अजयले युवतीको मोलमोलाइ गरेको विवरण प्रहरीले फेला पारेको हो।

‘यो गिरोहले धेरै युवती भारत पु-याएकाे मोबइलमा भेटिएका विवरणले पुष्टि गर्छ,’ डीएसपी बोगटीले भने, ‘समूहका नाइके र कोलकाता-नुवाकोट कनेक्सन खोतल्दै छौं।’अनुसन्धान अधिकारीका अनुसार कुख्यात चेलीबेटी तस्कर सुनबहादुर तामाङ र अजयबीच समेत केही सम्बन्ध हुनसक्ने तथ्य प्रारम्भिक अनुसन्धानमा भेटिएको छ।प्रहरीलाई अजयले दिएको प्रारम्भिक बयानमा नुवाकोटकै डोल्मा तामाङ र पिङकी तामाङलाई कोलकातामै लगेर बेचेको खुलेको छ। ‘उसले प्रेम, नक्कली विवाह र रोजगारको प्रलोभनमा युवती भारत पु-याउने गरेको हो,’ डीएसपी बोगटीले भने, ‘हामीले नुवाकोट प्रहरीसँगको सहकार्यमा विस्तृत अनुसन्धान गर्छौं।’

नुवाकोटको खरानीटारका अजय र राजु दुवैले नागढुङगा नाकामा चेकजाँच धेरै हुने भएकाले सिन्धुली हुँदै युवतीलाई सर्लाहीबाट भारत पुर्याउने योजना बनाएका थिए। प्रहरीलाई आएको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पच्छयाईरहेको हो। पक्राउ परेका दुवैजना ३० वर्षभन्दा कम उमेरका छन्। ‘युवतीलाई सुरुमा मोटो रकम दिने ग्राहक कहाँ पु-याउने,’ अनुसन्धान अधिकारी भन्छन, ‘केही महिनापछि बन्धक बनाएर यौन धन्दामा लगाउने गरेको खुलेको छ।’नेपाल खबरबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार