व्यवसाय सुरु गर्दा समानको मूल्य कसरी तोक्ने ? सुत्र सहित

  मूलधारपोष्ट  911 पटक हेरिएको

बजारमा भएको कुनै पनि वस्तु वा सेवा लिनको लागि हामी सबैले केही मूल्य तिर्ने गर्छौ । बजारमा बेच्नको लागि राखिएका हरेक वस्तुको आफ्नै मूल्य हुन्छ किनभने मूल्यको कारणले गर्दा नै वस्तुको महत्त्व बढ्छ । त्यसैले कुनै पनि व्यापारीले वस्तुको मूल्य तोक्दा धेरै ध्यान पुर्‍याउनु पर्ने हुन्छ । व्यवसायीहरुले वस्तुको मूल्य तोक्दा देशको आर्थिक स्थिति, उपोभोक्ताको खर्च गर्ने क्षमता आदिको आधारमा निर्धारण गर्नु पर्ने हुन्छ । वस्तुको मूल्य तोक्ने उदेश्यहरू थुप्रै हुन्छन् जस्तै नाफा आर्जन गर्नु, बजारमा आफ्नो वस्तुको व्यापार बढाउनु, प्रतिस्पर्धा सामना गर्नु वा हटाउनु, आदि । वस्तु वा सेवाको मूल्य कसरी तोक्ने भन्नेबारे जानकारी दिएको छ । मुख्यत वस्तु वा सेवाको मूल्य निर्धारण गर्ने तिन वटा तरिकाहरू छन् जुन निम्न दिएको छ:

लागत मूलक मूल्य निर्धारण गर्ने-
यस विधि अनुसार, वस्तुको मूल्य निर्धारण गर्दा त्यस्मा लागेको खर्च वा लगानीको जम्मा जोडफलको आधारमा नाफा समेत जोडेर मूल्य तोक्नु पर्छ । यो विधि प्रयोग गर्नुको मूल उद्देश्य भनेको उत्पादक कम्पनीहरूले गरेको लगानी उठाउनु मात्र हो । त्यसैले यस विधिलाई सबै भन्दा सजिलो मानिन्छ । जस्तै, निम्न उदाहरणमा वस्तुको मूल्य कसरी निकाल्ने भन्ने बारे बुझाईएको छ –

मानौं-उत्पादित वस्तुको सङ्ख्या = १,०००
प्रत्यक्ष खर्च = रु १०,०००
स्थिर खर्च= रु ५,०००
जम्मा लागत= प्रत्यक्ष खर्च + स्थिर खर्च
= १०,००० + ५,००० = १५,०००
प्रति यकाई लागत= रु १५,००० / १,००० = रु १५
नाफा= रु ५ प्रति वस्तु
वस्तु को मूल्य= प्रति यकाई लागत + नाफा प्रति वस्तु
= रु १५ + रु ५ = रु २०
तसर्थ, यस उदाहरण अनुसार एउटा वस्तुको मूल्य रु २० राखिनु पर्दछ । तपाईहरुले पनि यसरी नै आफ्नो उत्पादित वस्तुको मूल्य निकाल्न सक्नु हुन्छ । वस्तुमा के कस्ता प्रत्यक्ष खर्च लागे जस्तै कच्चापदार्थ किन्दा कति खर्च लग्यो, कामदारलाई ज्याला, इतिआदि र स्थिर खर्च जस्तै बिजुली खर्च, घर भाडा, कर्मचारीको तलब, आदि सबैको मुल्यांकन गरेर जम्मा लागत निकाल्नु पर्छ र आफुलाई कति नाफा लिने त्यसको विचार गर्नु पर्छ ।

माग मूलक मूल्य निर्धारण गर्ने-
यस विधि अनुसार, बजारमा वस्तुको मूल्य त्यसको माग र आपूर्तिद्वारा तय गरिन्छ । एदी कुनै वस्तुको माग बजारमा बढ्दै छ भने त्यति बेला त्यो वस्तुको मूल्य थोरै बढाएर नाफा कमाउन सकिन्छ । त्यसैले यो विधि प्रयोग गर्न व्यवसायीहरु उपभोक्ताको माग कस्तो छ भन्ने बारे बुझ्न बजारमा अनुसन्धान कार्य गर्न आवश्यक छ । वस्तुको मूल्य त्यसको लाभ र गुणस्तरका आधारमा निर्धारण गर्नु पर्ने हुन्छ । उपभोक्तालाई उच्च गुणस्तरको सामान सस्तो मूल्यमा दिने हो भने उनीहरू त्यस उत्पादक कम्पनी प्रति बफादार हुन्छन् । कम्पनीले वस्तुको मूल्य निर्धारण गर्दा, वस्तुले उपभोक्तालाई जति बढी लाभ प्रदान गर्न सक्यो त्यतिनै वस्तु प्रतिको आकर्षण वृद्धि हुन्छ र कम्पनीले धेरै नाफा सिर्जना गर्न सक्छ । त्यसै गरी कम्पनीले ध्यान दिनु पर्ने अर्को कुरा भनेको उपभोक्ता आयस्तर र वस्तु खरिद प्रति देखाउने चासो कुन ठाउँमा के कस्तो छ भनेर बुझ्न जरुरी छ किनभने उपभोक्ताको आयस्तर ठाउँ अनुसार फरक रहन सक्छ र उनीहरूको वस्तु खरिद प्रति देखाउने चासो पनि ठाउँ अनुसार भिन्न हुन सक्छ ।

प्रतिस्पर्धा मूलक मूल्य निर्धारण गर्ने-
यस धारणा अनुसार वस्तुको मूल्य बजारमा उक्त वस्तुको प्रतिस्पर्धाको मात्रा हेरेर निर्धारण गरिन्छ । धेरै जसो कम्पनीहरूले आफ्नो वस्तुको एकाधिकार कसरी कायम गर्ने भन्ने कुरामा बढी ध्यान दिएको हुन्छ । बजारमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा वस्तुको गुणस्तरमा ब्रिधि गरेर मूल्यमा केही कम गरी वस्तुलाई बजारमा पठाउँदा त्यस कम्पनीको वस्तुले प्रतिस्पर्धा गर्न सक्छ र केही हदसम्म भए पनि बजारमा एकाधिकार कायम गर्न सक्छ । तर हेरेक समयमा यही तरिका नमिल्न सक्छ । नयाँ व्यवसायीले आफ्नो वस्तुको मूल्य बजारमै भएको कुनै प्रतिस्पर्धी कम्पनीको वस्तुको प्रचलित दर मूल्य छ भने सोही अनुसार पनि निर्धारण गर्न सक्छन् ।

त्यसै गरी आफूले उत्पादन गरेको वस्तु अरू कम्पनीले उत्पादन गरेको वस्तुहरू भन्दा केही फरक छ र राम्रो गुणस्तरको छ भने त्यस्तो वस्तुको मूल्य प्रतिस्पर्धी वस्तुहरूको भन्दा अलि बढी राखेर मूल्य निर्धारण गर्न पनि सकिन्छ ।  यी त भए वस्तुको मुल्य निर्धारण गर्ने केही तरिकाहरु । यदी तपाईं पनि आफुले उत्पादन गरेको वस्तुको मूल्य कति राख्ने भन्ने बारे सोची रहनु भएको छ भने आफ्नो व्यवसाय अनुसार माथि दिएका तरिकाहरु अपनाउन सक्नु हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार