१७ दिनकी ‘अञ्जली’का

  पत्रपत्रिका  350 पटक हेरिएको

राजपुर गाउँपालिका वडा नं. ४ मा एउटा छाप्रो छ। बाँसका भाटाले च्यापेको र माटोले लिपेको खरको छानो भएको घरभित्रबाट बाहिरको दृश्य देख्न सकिन्छ। दुइटा कोठा छन्। सुत्ने, भात पकाउने एउटै। दुइटा खाट। चकटी बिछ्याइएको छ। शिशु काखमा राखेर उनी धुमधुमती बसिरहेकी थिइन्। बोलाउन खोज्दा उनले प्रतिक्रिया दिइनन्। शिशु १७ दिनकी भइन्। उनकी आमा १५ वर्ष मात्रै।

शिशुको नाम गंगदी स्वास्थ्य चौकीका स्वयंसेविकाले राखिदिएका छन्- अञ्जली।‘अञ्जली’ दुब्लाउँदै गएकी छन्। सुत्केरीलाई आवश्यक पोसिलो खानेकुरा अञ्जलीकी आमाले खान पाएकी छैनन्। अञ्जलीकी १० वर्षीया फूपू आगोमा रोटी सेक्दै थिइन्। नी यो वर्षमात्रै गाउँकै सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना भएकी छिन्। संवाददाताले बोलाउन लगाएपछि ‘अञ्जली’का हजुरबुवा, हजुरआमा र छ वर्षीय मामा केहीबेरमा आइपुगे। छ वर्षीय मामाले यही वर्ष कक्षा १ मा नाम लेखाएका छन्।

चरम गरिबी भोगिरहेको यो परिवार सुत्केरी स्याहार्ने ध्याउन्नमा छ। तर, उनीहरूसँग सुत्केरी स्याहार्ने आमा र बच्चाको पालनपोषण गर्ने स्रोतसाधन छैन। लत्ता कपडा र खानेकुरा छैन। घरमा बिजुली बत्ती, पिउने पानीको सुविधा पनि छैन। नाजुक अवस्था देखेपछि त्यहाँ पुग्नेहरुले फाट्टफुट्टरूपमा विभिन्न खालको सहयोग दिने गरेका छन्। स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, प्रहरी, केही संघ-संस्था र व्यक्ति विशेषले लत्ताकपडा, खाद्यान्न र केही नगद समेत दिने गरेका छन्। त्यसैको भरमा यो परिवारलाई दुई चार दिन खान पुगिरहेको छ।

अञ्जलीका जेठो मामा २० वर्षका छन्। चार दिनअघि मात्रै उनी इँटाभट्टामा मजदुरी गर्न भनी छिमेकी जिल्ला कपिलवस्तुको जितपुर गएका छन्। उनी घरनजिकै बारीमा मकै गोड्दै थिए, त्यहीबेला ‘अञ्जली’ जन्मेकी थिइन्। बच्चा रोएको सुनेपछि उनैले घरबाहिरै जन्मिएकी भाञ्जी र बहिनीलाई घरभित्र छिराए। ‘हामी त अरुको खेतमा धानको ब्याड उखेल्न गएका थियौं। साँझ-बिहान छाक टार्नै गाह्रो छ,’ अञ्जलीका हजुरबुवाले भने, ‘दिउँसो २ बजेतिर जेठो छोरो दगुर्दै खेतमा आयो र नानी जन्मेको कुरा सुनायो। त्यसपछि हामी पनि घर आयौं।’

शिशु घरबाहिर मकैबारी नजिकै जन्मेकी थिइन्। ब्यथाले छट्पटाउँदै सुस्तमनस्थितिकी आमा मकै बारीतिर पुगेको हुन सक्ने उनका अभिभावकले बताए। घर आएलगत्तै उनीहरूले सुत्केरी आमासहित ‘अञ्जली’लाई एउटा गाडीको व्यवस्था गरेर गंगदी स्वास्थ्य चौकी पुर्‍याएका थिए। त्यहीबेला एक जना स्वमंसेविकाले नवजात शिशुको नाम ‘अञ्जली’ राखिदिएकी रहिछन्। चेकजाँचपछि आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको हुँदा केहीबेरमै उनीहरू घर फर्के।

हजुरबुवाका अनुसार सहयोगस्वरूप प्राप्त खाने कुरा केही दिनलाई पुग्ने मात्रै छ। त्यसपछि सुत्केरीलाई के खुवाउने भन्ने चिन्ता उनीहरूलाई छ। छोरी सुत्केरी भएपछि उनीहरू काममा पनि जान सकेका छैनन्। समाजमा अझै पनि गाउँघरमा छोराछोरीबीच असमान व्यवहार छ। उनी सुस्तमनस्थितिकी। ‘बेवास्ता’ यहाँ देखिएको छ।अञ्जलीकी आमा गर्भवती भएको कुरा उनका आमाबुवा र दाजुले छ महिनासम्म थाहै पाएनन्। ‘सुइँको नपाउनु’को पछाडि ‘बेवास्ता’ भएको पनि हुनसक्छ। जब छोरी मोटाउँदै जान थालिन्, अनि मात्रै उनका अभिभावकले के भयो भन्ठाने।

गत वैशाखमा छोरीको स्वास्थ्य जाँचका लागि गंगदी स्वास्थ्य चौकीमा पुर्‍याए। त्यसपछि उनी गर्भवती भएको पत्ता लाग्यो। छ महिना पुगिसकेको थियो। गर्भपतन गराउन सम्भव थिएन। कानुनी परिबन्ध मिलाएर गर्भपतन गर्ने हैसियतको यो परिवार हैन। अर्कोतिर आमाको उमेर नै कम थियो।यी सबै परिबन्धसँग मुकाबिला गर्न नसकेर परिवार ‘निरीह’ बसे। गाउँमा हल्ला एक कान-दोकान फैलिन थाल्यो। अभिभावकले छोरीलाई पटक-पटक कसको बच्चा हो भनेर सोधे। अञ्जलीकी आमाले ‘रघुवा बाजे’ भन्ने नाम लिइन्। यो बीचमा ‘अञ्जली’का हजुरबुवा र हजुरआमाले गाउँलेबाट धेरै दुर्बचन सुन्नु पर्‍यो।

‘कसैले कसको भने कसैले कसको नाम लिए। अरुको नाम लिँदै मजाग उडाए,’ अञ्जलीका हजुरबुवाले भने, ‘तैपनि हामीले कसैलाई केही भनेनम्। कसैलाई दोष पनि लगाएनौं। सबै पीडा सहरै बस्यौं।’उनकी छोरीले लिने गरेको नाम ‘रघुवा बाजे’ भनिने ‘अघरे’लाई पनि पीडित परिवारले बच्चा नजन्मिँदासम्म केही भनेनन्। तर, बच्चै जन्मेपछि चुप लागेर बस्ने अवस्था रहेन।अविवाहित र त्यसमाथि सुस्तमनस्थितिकी १५ वर्षीया किशोरीले बच्चा जन्माएको कुराले परिवारलाई पिरोल्नसम्म पिरोल्यो। कुरा प्रहरीसम्म पुग्यो।

प्रहरी घरमै आयो। सोधीखोजी गर्न थाल्यो। छोरीले भनेको कुरा भन्न बुवालाई कर लाग्यो- ‘रघुवा’ बाजे। त्यसपछि गाउँकै ६५ वर्षीय मानबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। आरोपित चौधरी एकल पुरुष हुन्। झन्डै २० वर्षअगाडि उनकी पत्नीको मृत्यु भएको खुल्न आएको छ। इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक गिरिराज भण्डारीका अनुसार पक्राउ परेका चौधरीले अभियोग ‘स्वीकार’ गरिसकेका छन्। थप अनुसन्धान भने जारी नै रहेको उनले बताए। ‘चाउचाउ र बिस्कुट दिएर बलात्कार गरेको हुँ भन्ने बयान उनको छ,’ प्रमुख भण्डारीले भने।

अञ्जलीका हजुरबुवाले छोरी आसपासका वन र खोल्साखोल्सीमा झिँझा बटुल्न जाने गरेको बताए। त्यही समयमा मानसिक सन्तुलन ठीक नभएकी उनलाई एक्लै फेला पारेर ६५ वर्षीय चौधरीले जबरजस्ती करणी गरेको प्रारम्भिक बयानमा खुलेको प्रहरी निरीक्षक भण्डारीले बताए।

त्यतिले नपुगेर प्रहरीले पीडकलाई पत्ता लगाउन इप्रका गढवामा झन्डै एक दर्जनजति व्यक्तिहरूलाई जम्मा गरेर ‘अञ्जली’की आमालाई बोलाएर पहिचान समेत गर्न लगाएको थियो। पीडितले तीन पटक एउटै व्यक्ति मानबहादुरलाई औंल्याएको प्रहरी निरीक्षक भण्डारीले बताए। सुस्तमनस्थिति भएकी छोरीले नवजात शिशुलाई कसरी रेखदेख गर्ने र दूध चुसाउन पनि जान्दिनन्। त्यसले गर्दा उनका बुवा-आमा मेलापात जान पाएका छैनन्।‘भएकालाई कसरी पाल्ने भन्ने चिन्ता थियो त्यसमाथि नातिनी थपिएपछि झनै चिन्ता थपियो,’ अञ्जलीका हजुरबुवाले भने, ‘सानो छँदासम्म त हामीले जसोतसो पालौंला, ठूली भएपछि खै के के गर्ने।’

अञ्जलीलाई उनकी आमाले आफ्नी आमाबाहेक अरुलाई समात्न र राम्रोसँग छुन पनि दिन मान्दिनन्। धेरै माया गर्छिन्। गाउँघरका मानिसहरू आएर हाल प्रहरीले पक्राउ परेका चौधरीले छोरी मात्रै लैजान्छु भन्ने गरेको कुरा उनलाई सुनाउँछन्। कतिपयले बच्चा पाल्न संघ-संस्थालाई दिनुपर्छ भन्छन्।‘यो डर छ क्यारे यसको मनमा,’ अञ्जलीकी हजुरआमाले भनिन्, ‘हाम्री नातिनीले बुवाको नाम पाउनुपर्छ। उसैबाट पालनपोषणको बन्दोबस्त मिलाउनुपर्छ।’ ‘अलग्गै घर-सम्पत्ति दिएर राख्ने व्यवस्था हुनुपर्छ,’ उनले थपिन्। अशिक्षित यो परिवारको थप केही माग छैन। अञ्जली’को शिक्षादिक्षा र भविष्यबारे कसले सोच्ने यो प्रश्न पहाड बनेर उभिएको देख्छिन् हजुरआमा। अञ्जलीका बुवा को हुन्? पत्ता लगाउन अदालतको अन्तिम फैसला कुर्नुको विकल्प देखिँदैन। यो बीचमा डिएनए परीक्षण लगायतका धेरै पक्रिया बाँकी छन्। नारायण खड्काले दाँङबाट सेतोपाटीका लागि खबर लेखेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार