प्रत्यक्षमा पछि परेको काँग्रेस समानुपातिकमा पहिलो, कहाँ चुक्यो एमाले

  निर्वाचन विषेश  749 पटक हेरिएको

काठमाडाैं-  प्रदेश ७ को प्रदेशसभामा पनि वाम गठबन्धनको दुई तिहाई बहुमत हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार शनिबार दिउँसो समानुपातिकतर्फ मतगणना सकिएको छ । कांग्रेसले २ लाख ९५ हजार ७२९ मत पाएको छ भने एमालेले २ लाख ६० हजार ९५५ र माओवादीले १ लाख ४२ हजार ७०२ भोट पाएको छ । राजपाले ३६ हजार ९०२ मत पाउँदा राप्रपाले १५ हजार ४४४ मत ल्याएको छ ।

आयोगले समानुपातिकको मत दिएपनि कुन दलले कति सिट पाउने छ भनेको छैन । सेन्ट लग मेथडका आधारमा कांग्रेस र एमालेले समान ८ र ८ सिट पाउने देखिन्छ भने माओवादी ले ४ र राजपाले एक सिट पाउने छ । राप्रपाले भने पाउने छैन ।

प्रदेश ७ को प्रदेशसभामा एमाले २५ सिटसहित सबैभन्दा ठूलो दल बन्नेछ । तर, प्रत्यक्षतर्फ १७ सिट जितेको उसलाई बहुमतलाई २ सिट पुग्दैन ।

प्रत्यक्षतर्फ १० सिट जितेको माओवादीको १४ सिट हुनेछ । कांग्रेसको प्रत्यक्ष ४ सहित १२ सिट हुनेछ भने प्रत्यक्षमा एक सिट जितेको राजपाको कुल २ सिट हुनेछ ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सदस्य भए पुग्छ भने दुई तिहाईका लागि ३६ सिट । एमाले र माओवादी गठबन्धनसँग दुई तिहाई पुगेको छ ।

अन्य प्रदेशको पनि पढ्नुहोस्

प्रदेश नम्बर १
एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद समानुपातिकबाट छानिदै छन् । दलहरुले प्राप्त गरेको मतअनुसार ३७ सिटमध्ये एक नम्बर प्रदेशमा एमालेले १५, कांग्रेसले १३ माओवादीले ६, संघीय समाजबादी फोरमले २ र राप्रपाले १ सिट पाउने भएका छन् ।

प्रदेश नम्बर २
प्रदेश नम्बर २ मा १ सय ७ सदस्यीय प्रदेशसभा बन्दैछ । जसमा प्रत्यक्षबाट ६४ र बाँकी ४३ प्रतिशत समानुपातिकबाट छानिदैछन् । समानुपातिकतर्फको ४३ सिटमा दुई नम्बर प्रदेशमा पहिलो दल कांग्रेस, दोस्रो राजपा र तेश्रो संघीय समाजवादी भएका छन् ।
यो प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै ११, राजपा र फोरमले ९–९ सिट पाउने छन् । अरु प्रदेशमा अघि देखिएको एमाले यो प्रदेशमा चौथो स्थानमा खुम्चिएको छ । उसले ८ र माओवादीले ५ जना सांसद पाउनेछन् । यस्तै नेपाल संघीय समाजवादी पार्टीले पनि प्रदेश नम्बर २ मा एक सिट पाउनेछ ।

प्रदेश नम्बर ३
प्रदेश नम्बर तीनमा एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ । जसमध्ये ६६ जना प्रत्यक्षबाट निर्वा्चित भइसकेका छन् भने ४४ जना समानुपातिकबाट चुनिनेछन् । प्रत्यक्षतर्फ एक्लै झण्डै बहुमत ल्याएको एमाले यो प्रदेशसभामा समानुपातिकमा पनि सबैभन्दा धेरै सांसद पाउनेछ ।
यस्तै, वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएको विवेकशिल साझा पार्टीले पनि यो प्रदेशमा सिट कायम गरेको छ । प्रदेश नम्बर ३ मा एमालेले १७, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ र राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट पाउने भएका छन् ।

प्रदेश नम्बर ४
प्रदेश नम्बर चारको समानुपातिकतर्फ पनि एमाले नै पहिलो दल बनेको छ । प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित यो प्रदेशमा ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ । चार नम्बर प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १–१ सिट पाउने छन् ।

प्रदेश नम्बर ५
५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा बन्दैछ । जहाँ ५२ जना प्रत्यक्षबाट निर्वा्चित भएका छन् भने समानुपातिकबाट ३५ सांसद आउनेछन् । यो प्रदेशमा एमाले र कांग्रेसले झण्डै बराबर जस्तै मत पाएका छन् । त्यसकारण एमालेले १३, नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ६, संघीय समाजबादी फोरमले २ र राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले १–१ जना सांसद पाउने भएका छन् ।

प्रदेश नम्बर ६
६ नम्बर प्रदेशमा सबैभन्दा सानो अर्थात ४० सदस्यीय प्रदेशसभा बन्नेछ । यो प्रदेशमा प्रत्यक्षबाट २४ सांसद चुनिइसकेकाले समानुपातिकबाट १६ जना सांसद चुनिनेछन् । यो प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेसले दोस्रो धेरै मत पाएका छन् । निर्वाचन आयोगको आँकडा अनुसार एमाले र कांग्रेसले समान ६–६ तथा माओवादीले ४ सिट पाउनेछन् । राप्रपा र नेमकिपाले ६ नम्बर प्रदेशमा १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाएपनि सिट थोरै भएका कारण कुनै सिट पाउदैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार