विष्णुमाया थापाको ठेला ‘संघर्ष’

  पत्रपत्रिकाबाट  242 पटक हेरिएको

चाउँरिन लागेको अनुहार, एकदम शिथिल अनि भिजेको शरीर, जिर्गिङ्ग परेको कपाल, मसिना हातका पाखुरामा सानो चम्किलो घडी, पुराना मोडेलका हात्ती छाप चप्पल लगाएकी एक अधबैंशे महिला, यो काभ्रे स्थायी घर भएकी विष्णुमाया थापाको हुलिया हो।कान्ति बाल अस्पतालको अगाडि विष्णुमाया प्लाइउडको टुक्राले आगोमा हम्किँदै मकै पोलिरहेकी थिइन्। मकै पोल्दै एक दिनमा उनले १५ वटा कर्म बेचेको बताइन्। विष्णुमायाले मकै/मकै भनेर कराएपछि ग्राहक आए। ग्राहक पनि कति चलाख एक जनाले सोधे, ‘कति पर्छ दिदी एउटा मकैको?’ विष्णुमायाले जवाफ दिइन्, ‘३० रुपैयाँ हो भाइ।’ अनि ग्राहकले यसरी नलुट्नुस् न दिदी मैले भर्खर २० रुपैयाँमा किनेर खाएको भने।

विष्णुमाया पनि के कम, उनले भनिन्, ‘भाइ २० रुपैयाँमा पाइने भए मलाइ १०० वटा ल्याइदिनुस्, म एउटाको तपाँइलाई २५ रुपैयाँको दर नै दिन्छु।’ ग्राहक अकमक्क परे। त्यतिकैमा अर्को ग्राहकले ५ वटा मकै डेढ सयमा किनेर लगे। विष्णुमायाले अगाडि बार्गेनिङ गर्ने ग्राहकलाई भनिन्, ‘हेर्नुस् भाइ मैले कति दुख गरिरहेकी छु। मकै पोल्दा पोल्दै आगोको धुँवाले आँखा खराब भैसकेका छन्, हिलो धुलो पानी केही नभनी २ रुपैयाँ फाइदा होला भनेर दुख गरिरहेकी छु।’त्यसपछि ती ग्राहक भावुक बने। सरासर ३ वटा मकैका घोगा ९० रुपैयाँमा किनेर गए। एकछिनमै विष्णुमायाका सबै मकै सकिने भए। त्यसपछि हामीले आफ्नो परिचय दिएर फोटो खिच्ने र केही कुराहरु गर्न अनुमति माग्यौ। विष्णुमाया पनि मकै पोल्दै हामीसंग कुराकानी गर्न राजी भइन्। त्यसपछि सुरु हुन्छ उनको कथा।

विष्णुमायाको दिनचर्या ।
विष्णुमाया थापाको उमेर अहिले ५० वर्ष कटिसकेको छ। तर आजसम्म उनको स्थायी निवास भने कतै छैन। उनी टिचिङ अस्पताल नजिकैको घरमा बस्छिन्। ‘काठमाडौंमा धेरै ठाउँमा बसियो, अहिले भने केही वर्षयता यसै ठाउँमा बस्छौं,’ उनले भनिन्, ‘अरु ठाउँको भन्दा यताको घरबेटीको व्यवहार राम्रो छ। उहाँहरुले माया गर्नुहुन्छ। त्यसैले सजिलो भएको छ।’अहिले विष्णुमायाको परिवारमा ५ जना बस्छन्, छोरी बुहारी, नातिहरु र आफू। विहान सासुबुहारी र छोरी ३ बजे नै उठ्छन्। त्यसपछि अँध्यारोमै चावहिल पुग्छन्। चाहविलमा उनीहरुले राम्रो राम्रो मकै छानेर किन्ने गर्छन्। बोरामा करिब ५०/६० वटा मकैका (घोघा) किनेर फर्किन्छन्। विष्णुमायाकी बुुहारी अनु कार्कीले भनिन्, ‘कहिलेकाँही त अँध्यारोमै गएपनि मकै पाउँदैन। छिमेकी जिल्लाबाट आएको मकै चाहविलमा बिहान किन्नेको घुँइचो नै लागेको हुन्छ।’ ताजा र राम्रो मकै भेट्टाउनका लागि अँध्यारोमै जानुपर्ने उनले बताइन्।

‘चाहविलमा एउटा (घोघा)को १५ रुपैयाँ पर्छ। त्यसलाई ल्याउन बाटोमै ३/४ सय खर्च हुन्छ।’ अनुले भनिन्, ‘चाहविलबाट कोठामा मकै ल्याएर राख्छौं। त्यसपछि दिनभर घरको काम गर्ने र साँझपख कान्ति बाल अस्पताल अगाडि मकै पोलेर बिक्री गछौं।’ उनीहरु १५ रुपैयाँमा खरिद गरेको मकै पोलेर ३० रुपैयाँमा बेच्ने गर्छन्। सिजन अनुसार मात्र चल्ने मकैबाट राम्रो आम्दानी हुने गरेको अनु बताउँछिन्। मकै भन्दा बाहेकको सिजनमा विष्णुमायाको परिवार चियाको व्यापार गर्छन्। चिया पकाएर मान्छेको भिड भएको ठाउँमा ठेला गुडाउँदै गएपछि उनको चिया पनि सबैले मन पराउने र खपत हुने गर्छ। ‘महानगरपालिकाले आफ्नो व्यापार चल्ने दिने भए त राम्रै आम्दानी हुने थियो,’ उनी भन्छिन्।

विष्णुमायाको संघर्ष ।
५० वर्ष आगाडि रामेछापमा जन्मेकी विष्णुमाया थापा बाल्यकालदेखिकै बेशाहारा हुन्। किशोराबस्थामै काभ्रेको फूलबारी (ढाँचा) भन्ने ठाउँमा विहे गरेकी थापा त्यसपछि पनि बेशाहाराकै शिकार बनिरहिन्। बिहे गरेको केही वर्षमै उनले छोरी जन्माइन्। जाँडरक्सी जुवातासको लतमा फसेका ससुराले घर जमिन पुरै बेचिदिए। अनि परिवारमा सबैको विचल्ली भयो।विष्णुमायाका श्रीमानका २ भाइ । कान्छो भाइले गाउँमै इलम गरेर बसेका छन्। विष्णुमायाको परिवार भने त्यति बेलानै काठमाडौंमा आएर सानोतिनो काम गर्न थाले। त्यतिकैमा उनका श्रीमानले पनि छोडे। उनीबाट एउटै छोरी मात्र थिइन्। फेरि उनी टुहुरो जस्तै भइन्। जेनतेन आफ्नो गुजारा गर्न मजदुरी काम गर्न थालिन्। त्यसैमा छोरीलाई हुर्काइन्।

‘अहिले छोरी पनि बिहे गरेर पराई घर गैसकी,’ विष्णुमायाले दुखेसो पोख्दै भनिन्, ‘अब बुढेसकालमा एक्लै छु। कतिखेर के हुन्छ थाहा छैन, तैपनि जेनतेन गुजारा गरिरहेकी छु।’अहिले विष्णुमायाको आफ्नो घरपट्टीको एक्लै भएपनि उनलाई साथ दिने उनका नातेदारहरु छन्। उनकी बुहारी पर्ने अनु कार्कीको पनि विष्णुमायाको जस्तै कथा व्यथा छ। अहिले विष्णुमायालाई अनुले आफ्नै सासुआमाको जसरी व्यवहार गरिरहेकी छन्। विष्णुमायाकी छोरीबाटका छोराहरु पनि उनीसँगै छन्। ज्वाँईले छोरीलाई खासै वास्ता नगर्दा उनीहरुलाई पाल्ने र पढाउने जिम्मेवारी पनि विष्णुमायाकै छ। महानगरले सडकमा सामान बेच्नै दिदैँन ।

काठमाडौं महानगरपालिकाले फुटपाथमा सामान बेच्नेलाई तोकिएको समयभन्दा अघिपछि रोक लगाएको छ। नगरपालिकाले फुटपाथमा सामान बेच्नेहरुले कर नतिर्ने भएको भन्दै जताततै लखेट्ने गरेको विष्णुमायाले सुनाइन्। उनले भनिन्, ‘महानगरपालिकाले त हामीलाई गरिखानै दिएको छैन।’ सडकमा देखेपछि महानगरपालिकाका प्रहरीहरु आएर सामान छताछुल्ल पार्दै ठेला नै लगेर जान्छ। फिर्ता गर्दैन।’ २८ वर्षदेखिकै ठेलामा व्यवसाय गर्दै आएकी विष्णुमायालाई केही वर्ष अघि वर्ष भने जीवनमा बिर्सनै नसकिने घटना भएको थियो। महानगरपालिकाका प्रहरीले चिया बेचेको भन्दै लठ्ठीले हिर्काएका थिए। चिया पकाउने भाँडाकुँडा समेत लात्तीले सडकमा फालेर ठेला बोकेर गाडीमा लगेका थिए। उनले सम्झँदै भनिन्, ‘वेशाहारालाई गरिखाएको डाह गर्ने महानगरले हामी जस्ताको कहिल्यै भलो चाहेन। त्यो दिन बुहारी बाहिर गएकी थिइ। म मात्र थिए ठेलामा चिया पकाएर ग्राहकलाई दिने तयारी थिएँ। महानगरका प्रहरी आएको चाल नै पाइनँ। सिधै मेरो मेरो कम्मरमा लठ्ठीले हिर्कायो। मेरो आँखै अगाडि चिया पकाउने भाँडा चियासहितको भाँडा सडकमा फाल्यो र ठेला नै लगेर गए। फिर्ता नै दिएनन्।’२८ वर्षको अवधीमा ४ पटक ठेला लगेर जलाएको उनले बताइन्। महानगरपालिकाले अरु व्यापारीलाई बेलुका ६ बजेपछि पसल थाप्न अनुमति दिन्छ तर ठेलामा व्यापार गर्नेलाई कुनै बेलापनि देखेमा लखेट्ने गरेको उनले बताइन्। ‘यस्तो पसल थाप्ने होइन्। कुनै ज्यामी गरेर खाउ भन्छ, हामीले कता कसरी ज्यामी गरेर खाने?’ उनले प्रश्न तेस्र्याइन्।

चुनौतीकै वीचमा वार्षिक साढे ३ लाख कमाई ।
कठोर संघर्षका विच पनि विष्णुमाया वार्षिक करिब साढे ३ लाखको हाराहारीमा कमाउने गर्छिन्। उनले कमाएको रकम बचत भने हुँदैन। तैपनी आफ्नो गुजारा भएकोमा भने सन्तुष्ट छिन्। दैनिक ८÷९ सय फाइदामा काम गर्ने उनी आफ्नो ५ जनाको परिवार पाल्नमै बराबर भएको बताउँछिन्। ‘९ हजारको कोठाभाडा, आफ्नो खानपिन, लुगाकपडा, नातीहरु (छोरीका छोरा) को स्कुल शुल्कलगायतको सबै खर्च बेहोर्ने हुँदा कमाएको कत्तिपनि बचत हुँदैन।’ ज्वाँईले पनि नातीहरुलाई खासै नहेर्न हुुँदा सबैको जिम्मेवारी आफैंले लिएको विष्णुमाया बताउँछिन्।

‘दिनभर काम गर्न पाए त राम्रै कमाइपनि हुन्थ्यो बचत पनि हुन्थ्यो। तर कसैलाई असर नगरेर गरेको इलममा पनि महानगर भने सकारात्मक हुँदैन।’ उनले भनिन्, ‘महानगरलाई बरु कर तिर्छौं भन्दा पनि हाम्रो काम महानगरको लागि कसिंगर बन्ने गर्छ।’उनी महानगरपालिकाले आफूप्रति गरेको कामको हौसला दिनुको साँटो उल्टै दुख दिने गरेकोमा चिन्तित छिन्। उनी भन्छिन्, ‘हामीले नराम्रो काम गरेका छैनौं, कसैलाई दुख दिएका छैनौं, चोरी डकैती गरेका छैनौं।’ आफूलाई गरिखाने वातावरणमा महानगरले हस्तक्षेप गर्न उनले आग्रह गरिन्। भुमीराज पीठातोलीले  डिसी नेपालको लागि काठमाडाैंबाट खबर लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार