बिप्लव बन्दले कहाँ के के भयो

  मूलधारपोष्ट  1069 पटक हेरिएको

बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहले मकवानपुरका दुई स्थानमा दुईवटा गाडीमाथि आगजनी गरेकाे छ । विप्लव समूहले मंगलबार राति मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार जलाएको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमारसिंहले सिंहले बताउनुभयो ।

यस्तै बन्दमा आतंक फैलाउने उद्देश्यले हेटौंडा उपमहानगरको विभिन्न ४ स्थानमा शंकास्पद वस्तु फेला परेको छ । बमको आशंकामा सेनाको टोलीले शंकास्पद वस्तुहरु डिस्पोज गरिदिएको हो । विप्लव नेतृत्वको नेकपाले बुधबार बन्दको जानकारी दिनको लागि हेटौँडाको थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजिकै शंकास्पद वस्तुहरु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर स्थित वडा कार्यालयमा आगजनी भएको छ । गए राति आगजनी बाट वडा कार्यालयको सम्पुर्ण सामान जलेर नष्ट भएको स्थानियले बताएका छन् । आजगनी कसले र किन गर्यो भन्ने विषयमा पत्तो लागेको छैन । विप्लव नेकपाले आयोजना गरेको बन्दको पुर्वसन्ध्यामा घटना भएकाले कतै विप्लव कार्यकर्तालेनै आगजनी गरेका हुन् की भन्ने आशंका गरिएको छ । कार्यालयको ताल्चा काटिएको अवस्थामा फेला परेको स्थानियले बताएका छन् । घटनाबारे अन्य विवरण आउँन बाँकी छ ।

यता रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा पनि मंगलबार मध्येरातमा आगजनी भएको छ। आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वाड अध्यक्ष रवि देबकोटाले जानकारी दिए। कार्यालय भित्र रहेको कम्प्युटर, दराजलगायतको कागजात जलेर नष्ट भएको उनले बताए। घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले बताए। सो वाड कार्यालय नजिकै बम जस्तो देखिने बस्तुले स्थानीय त्रसित भएका छन्। उक्त आगजनी विप्लब समूहले गरेको हुन सक्ने स्थानीयको आशंका छ। साउन १५ गतेको बन्दलाई लक्षित गरि ब*म राखेको हुन सक्ने अनुमान छ।

काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले बुधबार बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखासहित ११ जिल्ला बन्द आह्वान गरेको छ । त्यस्तै झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको समाचार प्राप्त भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ । एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।  प्रहरीका अनुसार यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरी अनुमान छ । यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी छ, यो रातो खबरमा समाचार छ ।

विप्लब नेकपाद्वारा १५ गते बन्द सफल बनाउन अपिल-
नेपाल कम्युनिस्ट पार्टीले भोली आह्वान गरेको बन्द सफल बनाउन सहयोग गर्न सबैपक्षसँग आग्रह गरेको छ । बन्दको पूर्वसन्ध्यामा ने.क.पा.ले अपिल जारी गर्दै सम्पुर्ण शैक्षिक संस्था, कार्यलय उद्योग कलकारखाना, सार्वजनिक तथा नीजि यातायातका साधन बन्दगरि सहयोग गर्न आग्रह गरेको छ ।

पार्टी केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामाको गिरफ्तारीको बिरोध तथा रिहाईको माग गर्दै चरणबद्ध संघर्षमा उत्रिएको नेकपाले भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्ला बन्दको आह्वान गरेको हो । सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फसाउँदै जेल चलान गर्ने र मुठभेडको नाममा हत्या गर्ने गरेको भन्दै आक्रोशित बनेको नेकपाले दमन र धरपकड बिरुद्ध बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

बन्दको आव्हान गर्दै नेकपा प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञाप्तिमा संघर्षको कार्यक्रम अन्तर्गत जनप्रतिरोध र जनकारबाहीको समेत उल्लेख भएकोले भोलीको बन्द फरक किसिमको हुने बुझिएको छ । देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको भन्दै प्रवक्ता प्रकाण्डले त्यही संकटमाथि पर्दा हाल्न सरकारले पछिल्लो समय नेकपासँग वार्ताको हल्ला गरेको समेत बताउनु भएको छ ।

बन्दको पूर्वसन्ध्यामा आज नेकपाले देशभर मसाल जुलुस समेत निकाल्दै छ । आफ्नो अनुकुलतामा आज काठमाडौं उपत्यकासहित देशभर मसाल जुलुस निकाल्ने नेकपाले जनाएको छ । यहि साउन ४ गते राति काठमाडौंको काडाँघारीमा सुतिरहेको अवस्थामा व्युरो ईन्चार्ज लामालाई प्रहरीले गिरफ्तार गरेको थियो । पुर्पक्षका लागि थुनामा रहेका नेता लामालाई हाल नख्खु कारागारमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार