बाल बाल बचेको शेरबहादुरको त्यो समय,

  पत्रपत्रिकाबाट  380 पटक हेरिएको

काठमाडाैं-  नेपालको इतिहासमै पहिलोपटक दलीय प्रतिस्पर्धामा सबैभन्दा प्रतिकूल परिणाम हात पारेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैँ पनि चुनाव नजिकिँदै जाँदा कति आत्तिएका रहेछन् भन्ने बुझिन्छ, यी दृष्टान्तबाट ।

सरकारका जासुसी संयन्त्रबाट प्राप्त पराजयको पूर्वसूचनालाई ज्योतिषीहरूको भरमा केहीजस्तो पनि नठानेका उनी अन्तिम–अन्तिम समयमा हारिने खतरा महसुस गर्दै हेलिकोप्टरबाट डडेल्धुरा ओर्लिए । पार्टी सभापति भएका नाताले उनले हेलिकोप्टर प्रयोग गर्न त पाउँथे तर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारका क्रममा त्यो सुविधा उनीसँग थिएन । तर, निर्वाचन आयोगको सहमतिबेगरै उनी चामल, गहुँलगायत खाद्यान्नसहितका हेलिकोप्टरमा डडेल्धुराका गाउँ घुम्दै थिए ।

पहिल्यैबाट जिल्लामा खटाइएका रत्नबहादुर ऐरचाहिँ हार्ने पक्कापक्की भएको बुझेर अलि हतास मनस्थितिमा थिए । उनी नेपाल विद्युत् प्राधिकरणका १२ औँ तहका कर्मचारी हुन् । सरकारबाट होइन, कांग्रेसबाट खटाइएर उनी त्यहाँ जुटेका थिए । पहिला देउवाका निजी सचिव पनि थिए । उनले पहेँलो नम्बर प्लेटको गाडीमा जिल्लाभरि आर्थिक परिचालनको काम गरे । सदरमुकामस्थित होटेल राइनोमा थियो, उनको बसाइँ ।

एमाले र माओवादीबाट स्थानीय तहमा चुनाव जितेका र हारेका व्यक्तिलाई आर्थिक प्रलोभन दिने, प्रहरी प्रशासनमार्फत वाम गठबन्धन निकटका कर्मचारीलाई आफ्नो पक्षमा आउन दबाब दिनेजस्ता काम तीव्र भए । कतिसम्म भने, प्रहरीका उच्चपदस्थ अधिकारी, सैनिक अधिकृत र तिनका लस्कर मतदानको केही दिनअघिबाट सदरमुकाममा छ्याप्छ्याप्ती देखिन्थे ।

बजारमा चिनिएका भन्दा नचिनिएका, छोटा कपालधारीको मेला नै लागेको थियो । डिआइजी विजयराज भट्टले लेखराज भट्टको पक्षमा काम गरेको आरोप लगाएर उनलाई हटाए अनि माधवप्रसाद नेपाल लगे । जिल्लाभरिका शिक्षकलाई जिल्ला नछाड्न निर्देशन दिइयो । दार्चुला सरुवा भइसकेका सिडिओ जनकराज भट्टलाई डडेल्धुरा तानियो ।

उनी विद्यार्थी जीवनमा नेविसंघ नेता थिए । सहायक सिडिओ करुणाकर अवस्थीलाई लेनदेनको कमाण्डर नै तोकियो । नवदुर्गा जात्रामा एमालेबाट जितेका गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टलाई आफ्नो कार्यक्रम राख्न निर्देशन दिइयो । त्यो गाउँपालिका साविकका कोटेली, मणिलेक, बेलापुरजस्ता बढी जनघनत्व भएका गाविस समेटिएर बनेको हो ।

कवीन्द्रले चुनावको मुखका सामाजिक पर्वलाई दुरुपयोग नगर्ने अडान लिएपछि उनलाई सिडिओले समातेर थुन्नेसम्मको धम्की दिए । ज्वाइँ नवलबहादुर मल्ल अध्यक्ष रहेको देउवाको आफ्नै गाउँ गन्यापधुराका दलितका बस्तीमा मदिरा र मासु बोकेर नवलबहादुर आफैँ दौडिए । सरकारी गाडी पुगेको थियो, सिडिओ जनकराज भट्टको निर्देशनअनुसार । खटिएका थिए, सहायक कर्मचारी उद्धव देउवा । विभिन्न जिल्लामा पोस्टिङ भएका प्रहरीका कर्मचारी छुट्टी लिएर जिल्ला पुगेका थिए । त्यहाँ पुगेर खुलेआम शेरबहादुरलाई जिताउन खटिए ।

कृषि विकास बैंकका लेखापाल चक्र देउवा बेलापुरको सिरोडमा मतदान अधिकृत भएर गएपछि त्यहाँको बुथ कब्जा गर्न लगाइएको गाउँपालिका अध्यक्ष कवीन्द्र विष्ट बताउँछन् । त्यहाँको मतदानकेन्द्रमा वाम गठबन्धनका प्रतिनिधिलाई बाहिर निकालियो । उजुर गर्ने कहाँ रु सिडिओको कुरै भएन । प्रहरी प्रमुख चक्रराज जोशीको त बिल्ला मात्रै सरकारी, काम सबै कांग्रेसको गर्ने । गन्यापधुराको वडा नंं १ र २ मा नवल मल्ल र इन्द्र कार्की आफैँ लागेर वाम गठबन्धनका प्रतिनिधिलाई लखेटिरहेका थिए । यस्तो हुँदा त्यहाँ खटिएका प्रहरीले हेर्नेबाहेक केही गरेनन् । प्रहरीको दुरुपयोग कतिसम्म भने, दुई दिन गणेशपुरका हरेक ठाउँमा सर्वसाधारणलाई धम्क्याउन प्रहरीकै टोली खटाइयो ।

जिल्ला कृषि कार्यालयका नासु दिलबहादुर विष्टलाई देउवाका प्रतिस्पर्धी खगराज भट्टको गाउँमा सूचना संकलनका लागि ढुक्कैले खटाइयो । त्यहाँको दलित बस्तीमा पैसा बाँड्न दिलबहादुर आफैँ पुगेका थिए । कर्ण मल्ल, तारख बुढाऐरहरूको निर्देशनमा अमरगढी नगरपालिकाका कर्मचारी लालबहादुर साउद दिनरात खटिए ।

आश्वासन कतिसम्म भने, भित्री मधेसमा वन मुद्दा लागेका अभियुक्तलाई छुटाइदिने, पुसको २७ गते फैसला सुनाइदिनेसम्म भनियो । डडेल्धुराको बहुचर्चित वनमुद्दामा ४२ करोडको विगो सर्वोच्चमा विचाराधीन छ । चाहेर पनि प्रधानमन्त्री यस्तो मुद्दा मिलाउन सक्दैनन् । तर, यस्तै आश्वासनका भरमा माओवादीबाट समानुपातिक उम्मेदवार भएका नेता नै देउवाको पक्षमा उभिए ।

मतदाता शिक्षाका नाममा समेत दुरुपयोग गर्न बाँकी राखिएन । सहस्रलिङ माविकी शिक्षिका निर्मला बोगटी जिल्ला शिक्षा कार्यालयबाट मतदाता शिक्षाका लागि खटाइएको तर कामचाहिँ कांग्रेसलाई भोट हाल्न सिकाउने । १८ र १९ गते ५२ वडामा पाँच लाख रुपैयाँका दरले प्रचार खर्च पठाइएको थियो । प्रतिबुथ तीन लाख वितरण गरियो । सदरमुकामको स्याउबारी होटेलमा गाउँका प्रत्येक व्यक्तिलाई बोलाएर पैसासहित पठाइयो । नवदुर्गा गाउँपालिकाको कोटेलीमा इन्स्पेक्टर शेरबहादुर बुढाएरकै सक्रियतामा बुथ कब्जा भयो ।।

अनुसन्धान विभागका असई चक्र देउवा चुनाव प्रचारमै खटिए । जिप्रका, मुद्दा फाँटका प्रहरी करवीर ऐरले करुणाकर भट्टलगायत वाम युवालाई अनेक तरिकाले दुःख दिइरहे ।

पेट्रोलपम्पमा कांग्रेसको झन्डा बोक्नेलाई सित्तैमा इन्धन भर्ने व्यवस्था थियो । त्रिभुवन विश्वविद्यालयका पूर्वकन्ट्रोलर रमेश जोशी र अहिलेका कन्ट्रोलर पुष्पराज जोशी पनि पैसाको बिटो बोकेर गाउँ–गाउँ दौडिरहेका थिए । यसप्रकार प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार खगराज भट्ट ६ हजार ९ सय २९ मतान्तरसहित पराजित भए । प्रदेशसभाका उम्मेदवार डा.तारा जोशी एक सय ७० मतको अन्तरले हारे । जनआस्था साम्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार