अनाथ बाल गृहका बालिकालाई प्रवासीको सहयोग

  मूलधापोष्ट  275 पटक हेरिएको

बाजुरा – जिल्लाको साविकको गाविस ब्रह्मतोलामा सञ्चालित अनाथ बाल गृहमा बस्दै आएका बालिका संगिता नेपालीलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । बाल गृहमा बस्दै आएकी नेपालीले पढाई क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै प्रवासमा बस्ने नेपाली देखि शिक्षक तथा सङघ संस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्धारा सञ्चालित अनाथ बाल गृहमा बस्दै आएको अनाथ बालबालिकाले पढाइमा राम्रो प्रगति गर्दै आएकोले विभिन्न सहयोगि हातहरुले सहयोग गरेको कनसर्न बाजुराका अध्यक्ष बहादुर थापाले बताउनु भएको छ ।

अनाथका लागि निर्माण गरिएको बाल गृह मै पुगेर सहयोगी दाताहरुले आर्थिक सहयोग गरेका हुन् । जिल्लामा सूचनाको हकका अभियान्ता एवं पत्रकार शेरबहादुर सार्कीको पहलमा भारतको दिल्लीमा दलित एकता सजाल नेपाल भारतद्धारा सङ्कलन गरिएको २६ हजार ६ सय रुपिँया बाल गृहमा बस्दै आएकी छात्रा सगिता नेपालीलाई नगद हस्तान्त्रण गरेका हुन् ।

दलित एकता सञ्जाल नेपाल भारतमा आवद्ध नेपालीहरुले दिल्ली गएको समयमा सहयोग उक्त रकम बालगृहका उतकृष्ट छात्रा संगिता नेपालीलाई सहयोग गरेको हो । बाल गृह भित्र अधिकांश दलित समुदायकै बालबालिका रहेको खबर पछि आफूहरुले सुरुवाद स्वरुप सहयोग पठाएको र यसलाई निरन्तरता दिने दलित एकता सञ्जाल नेपाल भारतको भनाई रहेको छ ।

त्यसै गरि १० नं वडा स्तरीय दलित एकता सञ्जालले बुढीगङ्गा नगरपालिका स्तरीय परीक्षामा तृतीय स्थान ल्याउन सफल बाल गृहमै बस्ने संगीता नेपालीलाई व्यक्तिगत १० हजार रुपैया सहयोग गरेका छन् । यस्तै धुरालसैन माविमा कार्यरत शिक्षक अर्जुन थापाले पनि व्यक्तिगत २५ हजार नगद सहयोग गरेका छन् ।

मध्यपान, ध्रुमपान र मदिराजन्य पदार्थबाट टाढा रहने बचन वद्धता सहीत सोका लागि खर्च हुने रकम कटाएर अनाथ बालबालिकालाई सहयोग गरिएको शिक्षक थापाले बताउनु भयो । शिक्षक थापाले भन्नु भयो ,बाल गृहमै आएर अनाथलाई सहयोग गर्न पाउनु राम्रो अवसर भएको बताउनु भयो । सहयोग हस्तान्त्रण कार्यक्रममा बुढीगङगा नगरपालिका स्तरीय दलित नेटवर्कले खान तथा शैक्षिक सामाग्री व्यवस्थापनका लागि भन्दै ४० हजार नगद सहयोग गरेको छ । दलित नेटवर्कका महासचिव एवं बुढीगङगा नगर कार्यपालिका सदस्य गणेश सुनारले नगद ४० हजार अनाथ बालबालिकाकै अगाडि अध्यक्ष बहादुर थापालाई हस्तान्त्रण गरेका छन् ।

प्रत्येक वर्ष निरन्तरता दिने बचन सहीत सुनारले नगर स्तरीय परीक्षामा प्रथम हुने छात्र तर्फका संगीता नेपाललीलाई थप १० हजार नगद सहयोग गर्ने निर्णय भईसकेको बताउनु भयो । नगर प्रमुख बाल गृहको विरुद्धमा रहेको र संस्थालाई सहयोग नगर्ने बताउने गरेको आक्रोश पोखेका वडा अध्यक्ष हिरालाल थापाले आफूले वडाबाट सहयोग निरन्तर गरिरहने बताउनु भएको छ ।

सहयोग हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हिरालाल थापाले अनाथको अभिभावक बन्ने अवसर सबैलाई नहुने भएकोले अनाथलाई पनि आफ्नै सन्तान सम्झेर संरक्षण गर्नु नगरपालिकाको दायित्व हुने बताउनु भयो । अहिले सो बाल गृहमा हाल १३ जना अनाथ बालबालिका बस्दै आएका छन् । कान्छो अभियान्ता केपी खनालको पहलमा निर्माण गरिएको बाल गृहको निर्माण खर्च अझै तिर्न बाँकी रहेको सस्थाका अध्यक्ष बहादुर थापाले बताउनु भयो ।

कुल लागतको १३ लाख भन्दाबढी रकम केपी खनालले सङकलन गर्नेक्रम जारी रहेकोले तिर्न बाँकी रहेको अध्यक्ष थापाको भनाइ रहेको छ । बाल गृहको अध्यक्षपद समालिरहनु भएका थापाले नगरपालिकाले यो सस्थालाई सहयोगका लागि चासो नदेखाएकोमा दुखेसो पोख्नु भएको छ ।

सस्थाका महासचिव पदम भण्डारीले सञ्चालन गरेको कार्यक्रममा पत्रकार एवं सूचना अभियान्ता शेरबहादुर सार्की, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, नगर कार्यपालिका सदस्य गणेश सुनार, वडा अध्यक्ष हिरालाल थापा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष पदम थापाले स्वागत मन्तव्य सहीत सबैले सहयोग गरे मात्र बाल गृह सञ्चालनमा सजिलो हुने बताएका भयो । बाल गृह २०७२ सालदेखि सञ्चालनमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार