सुनौलो सपना लिएर दक्षिण कोरिया बिमन बाकसमा फर्किए

  पत्रपत्रिकाबाट  689 पटक हेरिएको

सुनौलो सपना लिएर साढे चार वर्षअघि दक्षिण कोरिया पुगेका २४ वर्षीय बिमन राईको शव मंगलबार स्वदेश ल्याइपुर्‍याइएको छ । ओखलढुंगा सेवा समाज दक्षिण कोरिया र दूतावासको पहलमा शव ल्याइएको हो । ओखलढुंगाको मानेभन्ज्याङ–६ हिलेपानीका उनी चार वर्षअघि ईपीएसमार्फत रोजगारी गर्न कोरिया पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ल्याइपुर्‍याइएको बिमन राईको शव ।यो समाचार गणेश राईले लेखेका कान्तिपुर दैनिकमा प्रकाशित छ।

बिमन दक्षिण कोरियाको छल्लानाम्दो ख्वाङ्जुस्थित इराई कर्टेक कम्पनीमा कार्यरत थिए । उक्त कम्पनीले क्रंक्रिटबाट ब्लक बनाउने गर्छ । बिमनको काम गर्ने क्रममा पुरानो मेसिनको फित्तामा बेरिएर मृत्यु भएको हो । अरू बेला ब्लक ओसार्ने, मिलाउने काम गर्दै आएका बिमनलाई गत जुन १८ (२०७६ असार ३ गते) मा मेसिन चलाउन लगाइएको थियो । घाइते राईलाई तत्काल छल्लानाम्दो ख्वाङ्जुस्थित सुन युनिभर्सिटी हस्पिटल पुर्‍याइएको थियो । बिमनलाई भेट्न बुबा उजिरबहादुर र माइला दाइ गौतमलाई दक्षिण कोरिया बोलाइएको थियो । डाक्टरको सल्लाहअनुसार बुबा र दाइको रोहवरमा बिमनलाई भेन्टिलेटरबाट छुटाइयो । बिमनले असार १० गते संसार त्यागे । बिमन घर परिवारका कान्छो छोरो हुन् ।

हिलेपानी सेवा समाज दक्षिण कोरियाका अध्यक्ष पचुराम राईले टेलिफोनमा बताएअनुसार बिमन सबैखाले मेसिनमा काम गर्न जान्दथे । ‘सायद ओभर कम्फिडेन्सले दुर्घटनामा परे,’ उनले भने । कोरियामै कार्यरत र हाल छुट्टीमा नेपालमा रहेका लयसिंह राईका अनुसार बिमनको कोरियामा बस्ने अवधि करिब दस महिना बाँकी थियो । ओखलढुंगा सेवा समाज कोरियाका उपाध्यक्ष फणीन्द्र अधिकारीले बिमनको परिवारले पाउनुपर्ने क्षतिपूर्ति र कम्पनी साहुबाट पाउनुपर्ने राहत दिलाएको बताए । परिवारका सदस्य आउजाउका निम्ति कम्पनीले नै सम्पूर्ण खर्च बेहोरेको छ । कम्पनीले बिमा सञ्चयकोषबापत रकम दिलाएको छ । कोरियामा रहेका नेपालीबाट ११ लाख वन राहत उपलब्ध गराएको समाजले जनाएको छ । छोराको शव लिएर मंगलबार अपराह्न त्रिभुवन विमानस्थल आइपुगेका उजिरबहादुरले भने, ‘मेरो छोराले जस्तो कसैले अर्काको देशमा ज्यान गुमाउन नपरोस् ।’यो समाचार गणेश राईले लेखेका कान्तिपुर दैनिकमा प्रकाशित छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार