मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा प्रम ओली र प्रचण्ड

  पत्रपत्रिका खबर  278 पटक हेरिएको

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार पुनर्गठनका सम्बन्धमा सहमति भएको छ । बअ आउने नयाँ अनुहारमा नेकपाका नेता पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, योगेश भटराई, महेश बस्नेत र कृष्णगोपाल श्रेष्ठ छन भने विदाई हुनेमा विना मगर, रघुबिर महाँसेठ, लालबाबु पण्डित र चक्रपाणी खनालको जागीर चट् हुने भएको स्रोतको दाबी छ ।

मन्त्रीहरूकै कार्य सम्पादन र मुल्यांकनका आधारमा प्रधानमन्त्री ओलीले सरकारमा मन्त्री हेरफेरको तयारी गरेका हुन् । यस विषयमा परामर्श भएको र केही दिनमा नै सरकार पुनर्गठन हुने अध्यक्ष प्रचण्डले खुलाए । पूर्वएमाले र पूर्वमाओवादीको भागवन्डाका आधारमा मन्त्रीहरूको नियुक्ति गरिएको थियो । अब, सरकारमा अध्यक्ष ओली र प्रचण्डले पार्टी एकीकरणमा गरेको अनुपातकै आधारमा नेकपाको मन्त्रीमण्डल पुनर्गठन गर्नेछन् । यस विषयमा बुधबार बालुवाटारमा दुई अध्यक्षबीच सहमति भइसकेको छ ।

विवाद निम्त्याउनेलाई हटाइने ।
मन्त्रीको उचित कार्य सम्पादन नभएका कारण सरकारको आलोचना बढेको ठहर गरेका दुई अध्यक्षले विवाद निम्त्याउने मन्त्रीलाई हटाउन सक्ने आँकलन गरिएको छ । निर्मला पन्त हत्या अनुसन्धानमा असफल, विप्लव नेकपाको गतिविधि नियन्त्रणमा असफल तथा राजधानीमै उसको विस्फोटक प्रभाव नियन्त्रणमा ध्यान नदिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउने तयारी हुन सक्छ । उनको ठाउँमा त्यति विवादमा नआएका तर उर्जा मन्त्रालय सम्हालिरहेका बर्षमान पुनलाई सार्न सकिनेछ । सरकार गठनका बेला पुनले गृह मन्त्रालय नै रोजेका थिए । तर, बादलको दाबीका कारण उक्त पदमा पुन पुगेनन् । गृह मन्त्री प्रचण्डको सिफारिसका आधारमा हुने भएकाले केही समयदेखि राजनीतिक रूपमा पनि प्रचण्डसँग टाढिएका कारण बादल हट्न सक्छन् ।

यता, अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री ओलीका विश्वास पात्र भए पनि उनलाई स्थानान्तरण गर्ने तयारी भएको छ । अर्थ मन्त्रालयमा भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई लग्न सकिने उच्च स्रोतले जनायो । पोखरेल सरकार गठनका बेला अर्थ मन्त्रालयमा जाने निश्चित जस्तो थियो तर प्रधानमन्त्री ओलीले विज्ञताका आधारलाई मानक मान्दै खतिवडालाई उक्त पदमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले विवाद समाधान गर्नुको साटो सरकारलाई अप्ठेरोमा पार्न खोज्ने यातायात मन्त्री रघुवीर महासेठलाई मन्त्री पदबाटै हटाउन सक्नेछन् । उनी विभिन्न सिन्डिकेट तोड्ने नामको विवादमा मुछिएका थिए । उनले अपेक्षाअनुसार काम नगरेको मुल्यांकन प्रधानमन्त्रीले गरेका छन् । यता, लगानी सम्मेलनका क्रममा अंग्रेजी भाषामा बोल्दा सरकारको बेइज्जत गरेका, कार्यालयमा लफडा गरिरहने उद्योग मन्त्री मात्रीका यादवलाई पनि हटाउने सन्दर्भमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग परामर्श गरेको स्रोतको दाबी छ । गुठी विधेयक प्रकरणले सरकारको तिव्र आलोचनामात्र होइन, काठमाडौंका जनतालाई नै सरकारविरोधीका रूपमा उभिन भड्किलो विधेयक ल्याउने भूमी सुधार मन्त्री पद्मा अर्याललाई अर्को मन्त्रालयमा सार्ने तयारी भएको छ ।

यता, मेलम्ची प्रकरणमा सरकार गठन भएका बेलादेखि नै विवादमा आएको, खानेपानी मन्त्रालयमा कर्मचारी सरुवा, सचिव हेरफेर र काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायतका प्रकरणमा मुछिएकी मन्त्री बिना मगरलाई हटाउने तयारी भएको छ । मगर, प्रचण्डकी बुहारी भएकै कारणले प्रभावमा मन्त्री पद पाएको भन्ने आलोचना प्रचण्डले खेपीरहेका छन् । उनलाई उक्त पदबाट हटाउने तयारी प्रचण्डले आफैं गरेका छन् । उनलाई अर्को मन्त्रालयमा पनि स्थानान्तरण नगरिने बालुवाटार स्रोतले जनाएको हाम्रो इकोनोमी मा समाचार छ ।

यो पनि : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित गरेपछि मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभएको छ । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले केही मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग छलफल भईरहेको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि यो प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उहाँले चाहेको बेला मात्र पुनर्गठन हुने जानकारी दिनुभयो । आफू पनि पार्टी अध्यक्ष भएकाले बजेटपछि सरकारमा केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको उहाँको भनाइ थियो । गुठी लगायतका केही विधेयकमा जनताको असन्तोष देखिएको भन्दै प्रचण्डले जनताको असन्तुष्टिलाई देखेर नै विधेयक फिर्ता लिइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार