उसलाई के प्रेम गर्न सकिन्थ्यो?

  पत्रपत्रिका खबर  231 पटक हेरिएको

जर्मन फिल्म ‘पफ्र्युम’ अर्थात् अत्तर। फिल्मले अद्भुत सुँघ्ने क्षमता भएको ग्रेनुल नामको एउटा मान्छेको कथा भन्छ। ग्रेनुल सामान्य मान्छे होइन। ऊ प्रकृतिमा पाइने अनेक गन्ध(सुगन्धको तीव्र गतिमा चाल पाउँछ। जुनसुकै बास्ना पनि उसको नाकबाट प्रवेश गरिसकेपछि एक विलक्षण चेतना बन्न पुग्छ। त्यो चेतनामा तुरुन्तै आवेग मिसिन्छ। त्यसैले ऊ हत्यारा बन्न पुग्छ। बास्नासँगको अनौठो लगावले उसलाई अत्तर बनाउने उद्योगतिर तान्छ। अत्तर बनाउने र प्रकृतिमा भएका बास्नालाई सिसीमा कैद गर्ने उत्तेजनाले उसलाई असाध्यै मेहनती पनि बनाइदिन्छ। ऊ अनेक फलफूलका बास्नालाई परिष्कृत गरेर अत्तर बनाउने उद्योगमा छिट्टै जमिहाल्छ। तर, ऊभित्र एउटा अतृप्त चाहना सधैँ आँधीजस्तो खेलिरहेको हुन्छ।

कुनै बेला पेरिसमा एउटी फलफूल व्यापारी युवतीसँग उसको जम्काभेट भएको थियो। उसको शरीरबाट निस्किरहेको अद्भुत सुगन्धले उसलाई चुम्बकले जस्तै तानेको थियो। त्यो सुगन्ध महसुस गर्ने क्रममा उसले अचानक युवतीको हत्या गरिदियो। जब ऊ निसास भई, ग्रेनुल भने उसको शरीरको सुगन्ध अँजुलीले उबाइरहेको थियो। मरेपछि अचानक उसको शरीरको सुगन्ध पनि गायब भयो। त्यसपछि त्यो सुगन्धलाई अत्तर बनाएर सिसीमा भर्ने चाहनाले उसलाई हर पल लखेटिरहेको युग पाठकले सम्पूर्ण साप्ताहिकमा लेखेका छन् ।

अद्भुत अत्तर बनाउने चक्करमा उसले धेरै युवतीको हत्या गर्छ। उद्योगमा उसको कामको भरमार प्रशंसा हुन्छ। तर, अचानक हराउने र नग्न अवस्थामा मृत फेला पर्ने युवतीहरूको हत्याको रहस्य पत्ता लगाउन नसकेर शहरमा सबै हैरान हुन्छन्। अन्ततः उसले शहरको धनीमानी मान्छेकी छोरीकै हत्या गर्छ। अनि, उसको शरीरको बास्ना खिँचेर चिरप्रतीक्षित पफ्र्युम बनाउँछ। त्यो हत्यापछि उसलाई प्रहरीले फेला पनि पार्छ। उसलाई शहरका नागरिकहरूको अघिल्तिर फाँसीमा चढाउन खुला चौरमा ल्याइन्छ। त्यो चौरको दृश्य सिनेमाको सबैभन्दा शक्तिशाली दृश्य हो।

भीड उत्तेजित छ। एउटा सिरियल किलरलाई फाँसीमा झुण्ड्याएको र त्यो तड्पिँदै मरेको हेर्ने अचम्मको उत्तेजनाले मान्छेहरू चिच्याइरहेका हुन्छन्। अचानक उसले आफैँले तयार गरेको अद्भुत अत्तरको एक थोपा आफ्नै जीउमा छर्किन्छ। त्यसको सुगन्ध यसरी फैलिन्छ कि उत्तेजित भीड अचानक मौन हुन्छ। उसलाई फाँसी दिन ठिक्क परेका जल्लाद र जेलका कर्मचारीले भावविभोर भएर सिक्री खोलिदिन्छन्।

यो दृश्यमा आम मानिसहरूको मनोवेग र ग्रेनुलको मनोवेग ठीक विपरीत दिशातिर बगेको देख्न सकिन्छ। हत्यारा भनेर मार्न ठिक्क पारेको मान्छेलाई एउटा अत्तरको बास्नामा बगेर भगवान् मान्ने आम मान्छेको चरित्र एक आम चरित्र हो। मानौँ, मानिसहरू एउटा भगवान्को प्रतीक्षामा सधँै रहन्छन्। सयौँ वर्षको इतिहासले भगवान् कल्पना गर्ने, खोज्ने र स्थापना गर्ने आदत बनाइदिएको छ। त्यसैले मानिसहरू अद्भुत अवतारको खोजमा रहन्छन्। त्यो चाहे हत्याराकै रूपमा किन नआओस्, मान्छे भगवान् स्वीकार गर्न तयार छ।

त्यसपछि रुमालमा त्यो अत्तर छर्केर उसले भीडतिर हुत्याइदिन्छ। मायामोहको यस्तो चमत्कारी वेग फैलिन्छ कि सबैले आफू को हुँ भन्ने नै बिर्सन्छन्। जो छेउमा छ, उसैसँग आलिंगनमा लिप्त भएर मानिसहरू लट्ठ परेको दृश्य यति प्रभावकारी ढंगले खिचिएको छ कि फिल्म हेर्ने दर्शक आफैँलाई बिर्सन पुग्छ। उसलाई सबैले भगवान्को अवतार ठान्छन्। देवदूत नै उत्रेर आफू अघिल्तिर आएको विश्वासमा विभोर हुन पुग्छन्। भर्खरै गर्धनमा चढिसकेको मृत्यु अचानक बेपत्ता हुन्छ। ऊ स्वतन्त्र हुन्छ।

तर, ग्रेनुलका आँखामा भने त्यही फलफूलवाली युवतीको तस्बिर नाचिरहेको हुन्छ। जसलाई उसले पेरिसमा हत्या गरेको थियो। यसअघि पनि ऊ पटक–पटक त्यो युवतीलाई सम्झिन्थ्यो। तर, हरेक पटक ऊ पर–पर गैरहेकी हुन्थी। तर, यसपटक ऊ नजिक जान्छ र युवतीको हात समात्छ। शरिरको बास्नामा उत्तेजित भएर हत्या गर्न सम्भव भयो, के उसलाई प्रेम गर्न सम्भव थियो रु एउटा हत्याराको आँखामा आँशुको थोप्लो उम्रिन्छ र त्यो बिस्तारै गालाबाट बगेर झर्छ।

अर्कातिर, अद्भुत अत्तरको खोजमा एकपछि अर्को हत्या गर्दै अन्त्यमा भगवान् बन्न पुगेको ग्रेनुल भने आफू मान्छे हुनुको धरातलमा टेक्न पुग्छ। अत्तरको प्रभावमा सबै लट्ठ परिरहँदा ऊ त्यो प्रभावबाट पनि मुक्त छ। उसको दिमागमा एउटै भावना छः सायद उसलाई प्रेम गर्न सकिन्थ्यो। यो भावनालाई फिल्मले दृश्यको भाषामा बोलेको छ। आखिरमा ऊ मान्छे हुनुको स्वाभाविकतालाई खूब मिस गर्न थाल्छ। यो दृश्यले जुन विपरीत वेग देखाउँछ, त्यसमा मान्छेले आफैँभित्र निर्माण गर्ने हत्यारा, भगवान् र मान्छेको अचम्मको गुच्छा भेटिन्छ। प्रस्तुति : युवराज भट्टराई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार