उपेन्द्र यादव सरकारबाट अलग्गिने

  पत्रपत्रिका खबर  238 पटक हेरिएको

काठमाडाैं-समाजवादी पार्टी नेपालले सरकारबाट अलग्गिने मनस्थिति बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी पार्टी सरकारबाट अलग हुन खोजेको हो। उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरी सरकारमा सहभागी भएको थियो। सरकारमा सहभागी हुँदा भएको सहमति र पछिल्लो समय नयाँ शक्ति पार्टीसँग भएको एकीकरणपश्चात् सरकार छोड्न पार्टीभित्र चर्को दबाब छ।

उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण हुँदा सरकार छोड्ने आन्तरिक सहमति भएको थियो। समाजवादी पार्टी केन्द्रीय कमिटीका अध्यक्षसमेत रहेका यादव अहिले ओली नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री छन्। विगतको सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाइप्रति समाजवादी पार्टीमा असन्तुष्टि बढ्दै गएको छ। सरकार छोडेर माग सम्बोधनका लागि सडक र सदनबाट संघर्ष गर्नुपर्ने आवाज पार्टीमा उठ्दै आएको छ । आजकाे राजधानी दैनिकमा खबर छापेको छ।

बेनी–जोमसोम–कोरला सडक निर्माण तीव्र गतिमा ।
नेपाल चीन हुँदै तेस्रो देशसम्मको ब्यापारका लागि अत्यन्तै आकर्षक हुने बेनी–जोमसोम–कोरला सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । कालिगण्डकी करिडोरका नाममा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनामा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो रहँदै आएको छ ।

म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर लामो सडक ११ मिटर चौडा बनाउने गरी एक्साभेटर, लोडर तथा हजारौ श्रमिक खटिइरहेका छन् । नेपालले चीनका विभिन्न बन्दरगाह प्रयोग गर्न पाउने गरी द्विदेशीय समझदारी भएपछि चीनको ग्वाङ्जाओ बन्दरगाहको लाभ लिन यो सडक प्रयोग हुनेछ ।

पोखरा–बाग्लुङ सडक हुँदै मालढुङ्गा–बेनी सडकसँग जोडिएको यो सडक निर्माणमा पहाडी र हिमाली खण्ड पार गर्ने नाकास्थलहरूको पहरा चिर्न ठूलो जनशक्ति र उपकरण परिचालित छन् । चुनौतीपूर्ण मानिएको म्याग्दीको कालीगण्डकी खाँेच, रुप्से झरना आसपासको पहरा फुटाउने कार्य अहिले तीव्र गतिमा भइरहेको छ । कतिपय स्थान नेपाली सेनासँग सहकार्य गरेर ब्लास्टिड नै गर्नुपर्ने खालका छन् । आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार