कलियुगका याैन कर्मी

  पत्रपत्रिका खबर  1354 पटक हेरिएको

जिङ्ग्रिङ्ङ परेको कपाल, शरीरभरि खटिरा, ओठमा रातो लिपस्टिक। उनको हुलिया उदेकलाग्दो थियो। ‘भर्खरै गेस्टसँग बसेर आको…हजार भनेर जम्मा पाँच सय रुपैयाँ मात्रै दिएर गयो।’ उनी भन्दै थिइन्। ती १५ वर्षीया निरु (नाम परिवर्तन) बर्बराउँदै आफ्नो आक्रोश पोखिरहेकी थिइन्। उनलाई एक गैरसरकारी संस्थाको आवास गृहमा बस्नका लागि सम्झाउँदै थिए, त्यहाँका परामर्शदाताहरू। उनलाई सडकबाट सो संस्थाका कर्मचारीले उद्धार गरेका थिए।

‘हप्तामा एकचोटि बाहिर निस्किन पाउने भए मात्रै संस्थामा बस्छु, नत्र बस्दिनँ,’ परामर्शका लागि ल्याइएकी निरु एक हातले शरीरको खटिरा कनाउँदै अर्को हातले आँशु पुछ्दै बोलिरहेकी थिइन्। निरुको कुरा सुनेपछि पंक्तिकारलाई उनीबारे जान्ने उत्सुकता भयो। छेउमा गएर बस्दा उनको शरीरबाट नमीठो गन्ध आइरहेको थियो। ‘मेरो घर भक्तपुर हो,’ उनी आफ्ना बारेमा भन्न थालिन्, ‘दाइ विदेशमा हुनुहुन्छ। बुबा मानसिक रोगी छन्।’

पाँच कक्षामा पढ्दै गर्दा एक जना परिचितले घुम्न जाँऊ भनी कतै टाढा लगेर गाडीभित्र बास बस्न लगाउँदा निरु ड्राइभरबाट बलात्कृत भइन्। त्यसपछिको उनको जिन्दगीले खतरनाक मोड लियो। खराब संगतमा परिन् र यौनकर्मी भइन्। ‘दिनरात ग्राहकसँग बस्ने, चुरोट–रक्सी खाने, दुईचार सय बटुल्ने मेरो दिनदिनैको काम भयो,’ निरुले अतीत सम्झिन्, ‘एकताका त म एकदमै धेरै गाँजा खान्थेँ। केटाहरूले झुक्याएर चुरोटमा गाँजा हालेर दिँदा बानी पर्‍यो। अहिले चाहिँ खान छोडेँ।’धेरै बेरको कुराकानीपछि उनी आफ्नो घर जान राजी भइन्। भक्तपुर, दूधपाटी छेउमा रहेको पोखरी हुँदै एउटा गल्ली छिरेपछि उनको घर आयो। घरभित्र उनकी आमा झोक्राएर बसेकी थिइन्। बुबा ओछ्यानमा पल्टिरहेका थिए।

‘हाम्रो म्याम’ भनेर निरुले पंक्तिकारलाई चिनाउन नपाउँदै उनकी आमा रुन थालिन्। ‘लौन म्याम, यसलाई कुनै संस्थामा लगेर राखिदिनुपर्‍यो,’ निरुकी आमाले रुँदै भनिन्, ‘यसकै चिन्ताले बुबा मानसिक रोगले थलिए। म पनि धेरै बाँच्दिनँ होला। १० वर्षको उमेरमा स्कुलका साथीले फकाएर लगेर मेरी छोरीलाई बिगारे।’निरु नेवार समुदायकी हुन्। उनकी आमाका अनुसार बहिनी बिग्रिएको कुरा टोलसमाजमा फैलिएपछि उनका दाइ विदेश गए। ‘यहाँ बहिनी बदनाम भएर बस्न नसकेपछि दुई वर्षअघि छोरो विदेशतिर लाग्यो,’ निरुकी आमाले भनिन्।

साँझ पर्दै गएपछि झ्यालमा बसेर छोरीको बाटो कुर्दाकुर्दै रात बित्ने निरुकी आमाले बताइन्। ‘आज १० दिनमा बल्ल घर आकी,’ उनकी आमाले गुनासो गरिन्, ‘वर्षौं भयो यसरी घर छाडेर मनलाग्दी हिँड्न थालेकी। धेरै सुधार गृहमा लगेर राखिसकेँ। कतै बस्दिन, भागिहाल्छे।’‘अहिलेसम्म कति वटा संस्थामा बस्यौ ?’ निरुलाई सोधियो। ‘त्यही तीन–चार वटा भयो होला,’ उनको जवाफ थियो। ‘संस्थामा पूरै किन नबसेको त ?’ उनलाई पुनः सोधियो।‘त्यस्तो थुनेर राख्ने जेलजस्तो ठाँउमा पनि कोही बस्छ ?’ उनले भनिन्, ‘खानबस्न नपाको हो र ? त्यो बन्द कम्पाउन्डभित्र बस्न सक्दिनँ म त।’ उनकी आमाले संस्थामा जान बारम्बार सम्झाइरहिन्। निरुले भने आफ्नै कुरामा अड्डी कसिरहिन्। ‘मजस्तै संस्थामा बस्न नसकेर भागेका मेरा धेरै साथी छन्,’ निरुले भनिन्, ‘मेरो कुरा नपत्याए उनीहरूलाई सोध्नुस् न। म भेटाइदिन्छु।’

केही घण्टाको कुराकानीपछि उनले पंक्तिकारलाई ‘मलाई सुरुमा यो काममा फसाउने साथीको आमाले पनि केटा मिलाइदिन्छिन्, आउनुस्, म देखाइदिन्छु’ भन्दै भक्तपुरको सिद्धपोखरीतिर लगिन्। भक्तपुर बसपार्कनजिकै रहेको एउटा होटल देखाउँदै उनले भनिन्, ‘म्याम, म धेरैजसो गेस्टसँग यही होटलमा बस्छु। यो होटलको साहूले सस्तोमा कोठा दिन्छ।’ होटललाई पार गर्दै केही अगाडि बढेपछि हातको इशाराले देखाउँदै निरुले भनिन्, ‘उः त्यही हो मेरो साथीको आमा। हेर्नु्स् त, अहिले पनि त्यसले त्यो केटालाई केटीको फोन नम्बर दिएर कुरा मिलाइदिँदै छिन्।’

सडकको पेटीमा पानपराग, चुरोट र चक्लेट बेच्ने बहानामा उनी किशोरीहरूलाई यौन धन्दामा लगाउने महिला रहिछिन्। उनका गतिविधिले उनको काम बयान गरिरहेका थिए। निरुले आफ्नी एक जना साथीलाई भेटाइन्। उनी गोरी, अग्ली र सर्लक्क परेकी थिइन्। उमेर १४–१५ वर्षको हुँदो हो। उनले आफ्नो घर धादिङ भएको बताइन्। प्रमिला (नाम परिवर्तन) ले आफ्नो उमेरबारे भनिन्, ‘हुनलाई म १५ वर्षकी भएँ तर सबैलाई १८ भनेर ढाँट्छु। कहिलेकाहीँ होटलमा चेकिङ आउँछ, त्यही भएर हल्का उमेर बढाको।’ नशामा भएकाले होला, उनको बोली लर्बराइरहेको थियो। एकदमै लट्ठ देखिन्थिन्। ‘तिमी ड्रग लिन्छ्यौ, हो ?’ फकाउँदै सोध्दा सुरुमा प्रमिलाले अस्वीकार गरिन्। केही बेरपछि भनिन्, ‘पहिला खान्थेँ, अहिले छाडेँ।’

कहाँ बस्छौ, के काम गर्छौै ?’ उनलाई सोधियो। -‘बल्खुमा एक जना आन्टीको सानो पसल छ,’ उनले भनिन्, ‘त्यहाँ भित्र मेरो सानो कोठा छ। त्यहीँ मान्छेहरूलाई बोलाएर यौन धन्दा गर्छु।’ तिनै पसल चलाउने आन्टीले ग्राहक मिलाइदिने गरेको उनले बताइन्। ‘आन्टी पनि मजस्तै दुःख पाको भएर मलाई मान्छे मिलाइदिनुहुन्छ,’ प्रमिलाले भनिन्, ‘उहाँ मलाई एकदमै माया गर्नुहुन्छ।’ मायाको नाममा आफू बेचिएको प्रमिलालाई पत्तो छैन। उनीबारे निरुले थप बताउँदै भनिन्, ‘प्रमिला पनि संस्थामा बस्न नसकेर निस्केकी हो। बुबालाई क्यान्सर छ, मर्न लागेछन् भन्ने बहाना गरेर निस्केकी !’

निरुले यसो भन्दा प्रमिला हाँसिरहेकी थिइन्। सुरुमा उनले बुबा बिरामी भएकाले संस्थामा नबसेर बुबालाई भेट्न गाँउ गएको बताइन्। निरुले ‘होइन’ भनेर जिद्दी गरेपछि उनले आफूलाई संस्थामा बस्न मन नलागेपछि बहाना गरेर निस्किएको स्विकारिन्। ‘हामीलाई मन लागेको जस्तो केही गर्न पाइँदैन,’ प्रमिलाले असन्तुष्टि पोख्दै भनिन्, ‘भनेको मानेन भने कुटाइ पनि खानुपर्छ। को बस्छ त्यस्तो ज्यानमारा थुनेझैँ थुनिने संस्थामा ?’उनी अहिलेसम्म दुइटा संस्थामा बसिसकेकी रहिछिन्। ‘जहाँ बसे पनि उही हो, जेलजस्तो,’ उनले भनिन्, ‘कति जना त पर्खालबाट हाम्फालेर भाग्छन्। म त धन्न बहाना गरेर मात्र निस्किएँ।’‘संस्थामा नबस्ने भए घर जानुपर्दैन त ?’ भन्ने प्रश्न गर्दा उनले भनिन्, ‘को भनेर जानु घर ? गाँउमा सबैले बिग्रेकी केटी भनेर नाक खुम्च्याउँछन्। घरमा बुबाले अर्की श्रीमती ल्याएर बसेका छन्। मेरो वास्ता कसैले गरे पो घर जानु !’

उनीहरूकै साथी हुन्, सम्झना (नाम परिवर्तन)। उनी भर्खरै १५ वर्ष लागिन्। उनको घर काठमाडौँ, फर्पिङ हो। उनकी आमा छैनन्, बुबालाई दमको रोग छ। सम्झना नौ वर्षकी हुँदा घरनजिकैको होटलमा काम गर्थिन्। होटलमा खाना खान आउने गाडीका चालक र सहचालकले उनीमाथि यौन दुव्र्यवहार गर्न थाले। ‘अंकल, बुबा र हजुरबाजस्ता मान्छेले मेरो जीउ सुम्सुमाउने, चलाउने गर्थे,’ उनले भनिन्, ‘म रुँदै होटलको अंकललाई भन्न जान्थेँ। तर, त्यो अंकलले हाँसेर टार्नुहुन्थ्यो।’

होटलमा आउने मानिसहरूको व्यवहार राम्रो नलागेर उनले त्यहाँ काम गर्न छाडिन्। आफूमुनिका भाइ र बहिनीको जिम्मा लिएकी सम्झनालाई जसरी पनि पैसा कमाउनु थियो। ‘शहरमा पैसा कमाइन्छ भनेर आएँ,’ उनले भनिन्, ‘धेरै ठाँउमा काम खोजेँ। तर, कतै पाइनँ। फेरि, कंलकीको अर्को एउटा होटलमा काम गर्न थालँे। होटलकी साहुनीले ‘ग्राहकसँग बस्, टन्नै पैसा कमाउँछेस्’ भनेर फकाउन थालिन्।’उनले आफ्नो अतीत बयान गर्दै गइन्, ‘ग्राहकसँग बस्न थालेपछि रक्सी, चुरोट सबै खानुपर्दो रहेछ। रातभरि ग्राहकसँग होटलमा बसेको तीन हजार रुपैयाँ आउँथ्यो। सबै पैसा होटलकी साहुनीले फाइनान्समा जम्मा गरिदिन्छु भन्दै लगिन्। अहिले मसँग न पैसा छ, न कुनै काम।’

सम्झना बालबालिका तथा महिला शोषणविरुद्ध काम गर्ने संस्था ‘चेन्ज नेपाल’मा भेटिएकी थिइन्। संस्थाले उनलाई परामर्श दिई आवास गृहमा पठाउन खोजेको रहेछ। ‘संस्थामा त म पहिला पनि बसेकी हुँ,’ उनी भनिरहेकी थिइन्, ‘म मात्रै संस्थामा बसेर के गर्नु ? घरमा मेरा भाइबहिनी भोकै हुन्छन्।’ घरको आर्थिक अवस्था राम्रो भए यस्तो काम नगर्ने उनको सोच छ। सम्झनाको कुरा सुनेपछि चेन्ज नेपालकी बालसंरक्षण अधिकृत वर्षा लुइँटेलले भनिन्, ‘यस्तो अवस्थामा हामी उनीहरूलाई जबर्जस्ती आवास गृहमा पठाउन सक्दैनौँ।’

सम्झनासँग आउने धेरै ग्राहकले उनलाई बिहेको सपना पनि देखाउँछन्। ‘विदेशमा बस्नेले समेत बिहे गर्ने शर्तमा भिडियो कलमा कपडा खोल्न लगाएर नानाथरी गर्न लगायो,’ उनले भनिन्, ‘सधैँ आउने धेरै ग्राहकले बिहे गर्छु भन्दै बिनापैसा यौन सम्बन्ध राखेर जान्छन्। कोही त मेरै पैसा लिएर जान्छन् र कहिल्यै फर्केर आउँदैनन्।’

अब कुुनै संस्थामा जाने कि यस्तै काममा डुलिराख्ने ? सम्झना अन्यौलमा छिन्। ‘कमाएको पैसा सबै साहुनीले लुटिहालिन्,’ उनले रुँदै भनिन्, ‘अब के पो गर्ने ? केही ठेगान छैन।’काठमाडौँ, पुरानो बसपार्कको एक होटलमा काम गर्ने चम्पा (नाम परिवर्तन) को पनि आफ्नै कथा छ। १५ वर्षीया उनी घरको आर्थिक अवस्था र पारिवारिक कारणले नुवाकोटबाट काठमाडौँ आएर होटलमा काम गर्न थालिन्। ‘भाँडा माझ्ने कामबाट सुरु भएको मेरो जिन्दगी अहिले सबैको नजरमा काम नलाग्ने भएको छ,’ उनले भनिन्, ‘काम गर्ने होटलको अंकलले आन्टी माइत जाँदा मलाई बलात्कार गर्‍यो। गरिब भएपछि इज्जत बचाउन साह्रै गाह्रो हुँदो रहेछ।’

२०७२ सालको भुइँचालोमा उनले आमा गुमाइन्। आमा बितेको वर्षदिन हुन नपाउँदै उनका बुबाले कान्छी श्रीमती ल्याए। ‘कान्छी आमाले माया नगर्ने भएपछि घरमा बस्नै मन लागेन,’ चम्पाले विगत सम्झिन्, ‘काठमाडौँमा के काम गर्छेस्’ भनेर घरबाट कहिल्यै सोधेनन्। आफ्नी आमा भइदिएकी भए सोध्थिन् होला।’ चम्पालाई अहिले रक्सी, चुरोट सबैको लत बसिसक्यो। ‘अब त चुरोट र रक्सीबिना बाँच्नै नसक्ने भइसकेँ,’ उनले भनिन्।

कुनै पनि संस्थामा गएर बस्ने उनको सोच छैन। ‘एक वर्षअघि प्रहरीले होटलकै कोठाबाट समातेर एउटा संस्थाको जिम्मा लगायो,’ उनले भनिन्, ‘त्यहाँ छ महिना बसेपछि संस्थाले परिवारको जिम्मा लगायो।’ उनी गाँउमा फर्केपछि सबैले उनलाई बिग्रेर आएकी भनेर मुखामुख गर्न थाले। ‘कान्छी आमाले मेरो बोलाउने नामै वेश्या राखिन्,’ उनले भक्कानिँदै भनिन्, ‘मेरो पालो म पनि ‘वेश्या नै हुन्छु’ भन्दै काठमाडौँ फर्किएँ।’चेन्ज नेपालकी लुइँटेल बाध्यताले यौनकर्मी भएका किशोरीहरू संस्थामा बस्न नमान्ने बताउँछिन्। ‘खुला रूपमा हिँडिरहेका उनीहरू संस्थामा बस्दा कैदीझैँ उकुसमुकुस अनुभव गर्छन्,’ उनी भन्छिन्, ‘संस्थाहरूले सीपमूलक तालिम दिँदा पनि उनीहरू त्यहाँ बस्न मान्दैनन्।’

संस्थाभित्र उनीहरूलाई भुलाउने पर्याप्त माध्यम नहुँदा बालिका र किशोरीहरू त्यहाँ बस्न नमान्ने उनी बताउँछिन्। ‘त्यस्ता बालिकाहरूलाई राख्ने आवास गृहमा दीर्घकालीन सपोर्ट गर्न आर्थिक अभाव देखिन्छ,’ उनी भन्छिन्, ‘त्यसैले छोटो समय आवास गृहमा बसेका प्रायः बालिका फेरि भोलिका दिनमा सडकमै भेटिन्छन्।’ सरकारले केही आवास गृह भएका संस्थालाई आफ्नो मातहतमा राखी बालमैत्री मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने उनी बताउँछिन्। ‘यसो भयो भने भोलिका दिनमा संस्थामा बसिरहेका बालिकालाई सडकमा भेट्ने अवस्था आउँदैन,’ उनी भन्छिन्।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकी प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह ओठ निचार्दा दूध आउने कलिला बालिका र किशोरीहरू यौन पेशामा लागेको देख्दा निकै दुःख लाग्ने बताउँछिन्। ‘साथीभाइको लहैलहै, उच्च जीवनशैली र आधुनिक परिवेशमा आफूलाई ढाल्न खोज्दा धेरै किशोरीले त्यो बाटो रोज्छन्,’ उनी भन्छिन्, ‘कतिपय किशोरीहरू त ‘मेरो शरीर, मेरो अधिकार’ भन्दै समेत आउँछन्।’

जस्तोसुकै नियम–कानुन बने पनि मानिसको आचरण नसुध्रिएसम्म यो समस्या नसुल्झिने उनी बताउँछिन्। ‘सुधार केन्द्रमा राखेर आमाबुबाको जिम्मा लगाउनेबाहेक हामी केही पनि गर्न सक्दैनौँ,’ सिंह भन्छिन्, ‘यस्तो अवस्थामा बलात्कारको केस लगाएर मुद्दा चलाउन सकिन्छ। तर, पीडित आफैँ खुलेर बयान दिँदैनन्।’नेपालको कानुनले बालिकामाथि स्वेच्छाले यौन सम्पर्क गरे पनि त्यसलाई बलात्कार मानेको उनी बताउँछिन्। ‘तर, बालिकाहरू आफँैले उमेर ढाँट्छन् र यौन दुव्र्यवहारबारे खुलेर बोल्दैनन्,’ उनी भन्छिन्, ‘यसले गर्दा प्रलोभनमा पारी अनैतिक काममा उक्साउने व्यवसायी र यौन दुव्र्यवहार गर्ने ग्राहकलाई कानुनी कारबाही गर्न अप्ठयारो पर्छ।’

स्वतन्त्रतापूर्वक बाँच्ने, हिँड्ने बानी परिसकेका उनीहरूलाई सम्हाल्ने पहिलो जिम्मेवारी उनीहरूकै अभिभावकको रहेको सिंह बताउँछिन्। ‘अहिलेका बालबालिका आफ्नै आमाबाबुको हातमा छैनन्,’ उनी भन्छिन्, ‘आमाबुबाकै कन्ट्रोलमा नभएका बच्चालाई संस्थाले कसरी कन्ट्रोल गरोस् ?’ नैतिक शिक्षाको कमीको कारण समाजमा यस्ता समस्या बढेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहको तर्क छ।

काठमाडौँ, लैनचौर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक गौरीकुमार केसी पछिल्लो समय राजधानीमा मनोरञ्जन क्षेत्र भनेर चिनिने डान्सबार, क्याबिन रेस्टुरेन्ट, मसाज सेन्टर, खाजाघर र गेस्ट हाउसहरूमा बालिकाहरूमाथि यौन शोषण दिनप्रतिदिन बढेको बताउँछन्। ‘नेपालमा सरकारको मातहत रहेका बालसंरक्षण गृहहरू अत्यन्तै कम छन्,’ उनी भन्छन्, ‘यस कारणले पनि यस्ता बालिकाको संरक्षण गर्न मुश्किल परेको हो।’

बालिकामाथि हुने यौन शोषण तथा दुव्र्यवहारलाई कम गर्न कानुनको उचित कार्यान्वयन आवश्यक रहेको उनी बताउँछन्। ‘कानुनको पालना गर्ने निकायले प्रभावकारी कार्यान्वयन नगर्ने हो भने यो समस्या अझै बढ्दै जान्छ,’ उनी भन्छन्, ‘बालबालिकासम्बन्धी ऐन २०७५ कार्यान्वयनको प्रथम कारबाही स्वरूप हामीले भर्खरै मात्र बालिकालाई काममा लगाउने दुइटा डान्सबारका मालिकलाई कारबाही गरी ३५ जना बालिकाको उद्धार गरेका छौँ।’

काठमाडाैं, टोखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष जोगप्रसाद नेपाल आफ्नो नगरपालिकामा रहेका होटल, खाजाघर तथा गेस्टहाउसहरूमा बालिकाको अत्यधिक प्रयोग भएको बताउँछन्। स्थानीय सरकार आइसकेपछि प्रहरीसँगको सहकार्य गरेर अनुगमनको काम अगाडि बढाइरहेको उनी बताउँछन्। ‘विशेष गरी गाँउबाट दुःख पाएर काम खोज्दै शहर पसेका बालिकाहरू जानी नजानी यौन पेशामा लागेका छन्,’ नेपाल भन्छन्, ‘सुरुमा उनीहरू होटल मालिकको सम्पर्कमा आउँछन् । होटल मालिककले काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएर यौन पेशामा फसाउने गरेको पाएका छौँ।’

बालिकालाई काम लगाइदिने प्रलोभनमा पारी अनैतिक काम गर्न उक्साउने व्यवसायीहरूलाई स्थानीय तहबाटै कानुनको दायरामा ल्याउनुपर्ने उनी बताउँछन्। वडा अध्यक्ष नेपाल भन्छन्, ‘स्थानीय तहबाटै आफ्नो क्षेत्रमा भएका यस्ता घटनाहरूको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। ती बालिका र किशोरीहरूको परिवारमा आर्थिक अवस्था सबल हुने कार्यक्रम लैजान सकियो भने कामको खोजीमा शहरका सडकतिर भौँतारिनेहरूको संख्यामा कमी आउँछ।’

काठमाडौँ, महानगरपािलका, महिला तथा बालबालिका शाखा प्रमुख अनीता अधिकारी अनुगमन र कार्यान्वयनको पाटो फितलो हुँदा राजधानीमा बालिकामाथि यौन शोषण बढेको स्विकार्छिन्। ‘यस्ता घटनामा बालिकालाई नै दोषी बनाएर उनीहरूको हात बाँधेर अनुसन्धानमा लैजाने गरिन्छ,’ अधिकारी भन्छिन्, ‘तर, उनीहरूलाई अरू कसैले प्रयोग गरेको हुन्छ। त्यस्ता असली दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।’

उमेर नपुगेका बालिका र किशोरीसँग यौन सम्पर्क राख्दा कानुनले नै त्यसलाई बलात्कार मानेपछि यस्ता कार्यमा संलग्न बालिकालाई अपराधीको व्यवहार नगरी यसमा संलग्न व्यवसायीलाई कानुनी कारबाही जरुरी भएको उनी बताउँछिन्। उद्धारको काम गर्दै छौँ’ रवि गौतम, बालअधिकार स्रोत व्यक्ति, केन्द्रीय बालकल्याण समिति -केन्द्रीय बालकल्याण समितिले बाल अधिकार, संरक्षण र संवद्र्धनका लागि काम गर्दै आइरहेको छ। व्यावसायिक यौन शोषण र मनोरञ्जन क्षेत्रमा बालबालिकाको संलग्नतालाई लिएर जिल्ला बालकल्याण समिति र जिल्ला प्रशासन कार्यालयसँग मिलेर काम भइरहेको छ। रुपा शर्मा नेहाले लेखेको सम्पूर्ण साप्ताहिकबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार