आवाज खोज्दै छ लाटीको छोरा

  पत्रपत्रिका खबर  183 पटक हेरिएको

चौतारो र बीचमा ऊभिएको एऊटा रूख। फेदमा भगवान स्थापना गरिएको छ। पूजा गर्दा बेरिएका रंगीचंगी धागो। नजिकै एऊटा कुर्सी। त्यो रूखको फेदमा एक महिलाले पूजा गर्छिन्। बेस्सरी घण्टी हल्लाउँछे। सामान्य घण्टी हल्लाउँदा त्यस्तो आवाज आउँदैन। त्यो पनि चकमन्न रातमा। मैले ‘बोक्सीको घर’ नाटक सम्झिएँ। न्यारेटरले ‘मलाई अँध्यारोसँग डर लाग्छ’ भनेको वाक्य सम्झिएँ। ती दुवै प्रसङ्ग यो नाटकमा आइपुगेका थिए। निर्देशक थिए, सुलक्षण भारती। बिम्बात्मक रूपमा बोक्सीको घर मन पराएको मान्छे, मलाई ती दृश्य यो नाटकमा किन आए होलान् भन्ने खुल्दुली त्यसबेलै भएको थियो।

तर प्रसङ्ग त अर्कै थियो। श्याम साहको कथा ‘लाटीको छोरो’ मा आधारित नाटक भन्ने सुनेर ऊत्सुकता जागेको थियो। मलाई ‘लाटीको छोरो’ कथा भने हेर्न मन थिएन। पढिसकेको कथा किन हेर्नु! नाटकले फरक केही गरोस् भन्ने अपेक्षा थियो। सुरुवातमै पुरानो नाटकको त्यो दृश्य दोहोरिएपछी भने म चंख भएँ। विस्तारै ऊज्यालो भयो। पूजा गर्ने ती महिला नजिकैको सानो कुटीमा छिरिन्। त्यसपछि अन्य पात्रहरू ब्युँतिएर आए। नजिकै व्यवसाय सुरु भयो। मानिसहरूको गफ सुरु भयो। र कुर्सीमा आएर एक ‘नाईं’ बस्यो। ऊ बोल्न/सुन्न सक्दैन।

ऊसले त्यही रूखमा ऐना झुण्ड्याएको छ। तर त्यो ऐनामा कसैले आफ्नो अनुहार हेर्दैनन्। अरूलाई देखाऊन ऊसँग सानो ऐना छ। त्यो पनि सबैले हेर्दैनन्। नवीन प्राचीनको कवितांश सम्झिएँ ‘कायरहरू ऐना हेर्दैनन्।’नाटकमा कायरहरू चिनिँदै गए। रुखपछाडि परेवाको खोर छ। तर त्यहाँ कुनै परेवा बस्दैनन्। परेवाको आवाज पनि सुनिँदैन। न्यारेटरले भन्छ ‘सुन्दर बस्ती अचम्मैसँग शान्त छ। मानिसहरू चिसा छन्।’ विस्तारै बिम्बहरू पात्रहरूमा घुल्दै गए। ऐना हेर्न डराऊनेहरू दर्शकको अगाडि नैतीक रूपमा नांगिँदै गए।

नाटकले दुईवटा समयको कथालाई न्यारेट गर्छ। बिहान र रात। यी दुई समय एकआपसमा यति नजिकै भएर पनि ती समयभित्र पात्रहरूको भोगाइ फरक छन्। दिउँसो न्याय र इमान्दारिताको श्लोक फलाक्नेहरू राति खलनायक बन्छन्। राती पीडा भोग्नेहरु दिँऊसो कतै निस्किन सक्दैनन्। दिउँसो ऊनीहरूलाई कतै निस्कन अनुमति छैन। बरु ऊल्टै बोक्सीको आरोप लागेर घरबाट धपाइनु छ। पवित्रा भाऊजूले त्यो पीडालाई घण्टाको कर्कस धुन बजाएर भुल्न चाहनुको कुनै विकल्प रहेनछ सायद।

नाटकको सबैभन्दा सबल पक्ष भनेको यसले श्याम साहको कथामा भएका पात्रहरूको वरपर अरू पात्रहरू थपेको छ। नाईं, चिया पसले, व्यापारी अग्रवाल पण्डितजस्ता पात्रहरूले भइरहेका पात्रहरूलाई अल्मल्याएका छैनन् बरु झन् बलियो बनाएका छन्। विशेषगरी नाईं पात्रमार्फत एक यस्तो सामाजिक पात्र सिर्जना भएको छ, जो यथार्थमा ठ्याक्कै हामीजस्तै देखिन्छ। ऊ लाचार पात्र हो जसले तमाम अन्याय भएको देखेको छ तर बोल्न सकेको छैन। बोली भएर पनि बोल्न नसकिरहेको हाम्रो समाजको यथार्थलाई ऊसले देखाउँछ।

ऊ र डा. केसीको आन्दोलनमा चुपचाप बस्नेहरूमा कुनै फरक छैन। ऊ र धुलैधुलो भएको राजधानीमा लाचार हिँडिरहने हामीबीचमा केही फरक छैन। ऊ जति शान्त छ, त्यति नै हामी छौं। ऊ जति चिसो छ, त्यति नै हामी छौं। ऊ मानिसहरूको औकात बुझेर मालिस गर्छ। हामी मानिसहरूको औकात बुझेर बाटो छोड्छौं। ऊ बोल्न नसकेको पीडा रोएर व्यक्त गर्छ, हामी सामाजिक सञ्जालमा पोखिएर व्यक्त गर्छौं। ऊ हामी हो, हामी ऊ हौं।

नाटक बिम्बहरूमा धेरै सबल छ। हरेक दृश्यमा कुनै न कुनै बिम्बहरू मिसिएका छन्। सुर्जा डोमले चिया खान नमान्नु, पवित्राले आधा रातमा ऊठेर आगो बाल्नु, पूजा गर्नु, गाऊँबाट डोमहरूलाई हटाइसकेपछि पनि डोमका सुंगुरहरू आएर बिस्ट्याउन नखोज्नु सबै बिम्बहरू हुन्। विशेषगरी डोमका सुंगुरहरूले बिस्ट्याउन छोड्दैनन् भन्ने वाक्यले बस्ती र विकासको असमान प्रणालीलाई व्यंग्य गर्छ। विकासको नाममा बस्ती उठाउनेहरूलाई हाँक दिन्छ कि आफूले पुस्तौंदेखि भोगचलन गरेको ठाउँको अधिकार त्यहाँ बस्ने मानिसहरूलाई पहिले हुन्छ। उनीहरूलाई जबरजस्ती उठाउनु अन्याय हो। उठाएमा उनीहरू दब्दैनन्। आवाज उठाइरहन्छन्।

‘लाटी’ त्यस्तो पात्र हो जसको बोली नभएको फाइदा समाजले उठाएको छ। त्यसमा समाजमा प्रतिष्ठित भनिएका व्यक्तिहरू नकावधारी भएर इज्जतमा खेलवाड गरिरहन्छन्। ऊ सबैको बर्वरता सहिरहन्छे। त्यसको पीडा कति छ भन्ने कुरा परालको महिला आकृतिलाई धुदाधुजा पारेको देखाएको दृश्यले भन्छ। उसलाई बोक्सीको आरोपमा धपाइएकी पात्रसँगै राखेर भारतीले नौलो संयोजन गरेका छन्। पहिलाको काम र अहिलेको कामलाई सँगै गाँस्ने उनको प्रयत्न सफल भएको देखिन्छ। नाटकको प्रकाश संयोजन राम्रो छ। दिन र रातको भूमिकामा पात्रजत्तिकै सक्रिय देखिने सँगै समय बितेको कुरालाई बताउन प्रकाश संयोजन सफल छ। घाम उदाएदेखि ढल्किँदै गएको तथा फेरि बिहान भएको देखाउनको लागि प्रकाश परिवर्तन गरिएको प्रयोग सुन्दर देखिएको छ।

नाटकमा ओस्कार वाइल्डको ‘कमेडी अफ म्यानर’ प्रशस्तै देख्न पाइन्छ। लाटीलाई बलात्कार गर्ने पात्रहरूले बोलेका हरेक संवादहरू आफैंप्रति व्यंग्य गरिरहेका जस्ता लाग्छन्। ‘बुढाले न्याय हुन्छ’ भनेर भन्ने संवाद केवल आडम्बर मात्र हो भन्ने प्रस्ट्याउँदै नाटकले न्याय र अरूका लागि लड्ने भनेर बसेका नकावधारी राजनीतिज्ञहरूलाई नंग्याएका छन्। उनको अनुहारमा चुरो संरक्षण गरौं भन्दै बालुवाखानी चलाउने, बाटो बनाउँछु भन्दै त्यसैलाई ट्रिपर चलाउने जस्ता राजनीतिज्ञहरू प्रस्टै झल्किन्छन्। प्रहरी, व्यापारी, राजनीतिज्ञ, पण्डित र शिक्षक सबै हरेक समाज र देशका अभिन्न अङ्गहरू हुन्। ती सबैको नैतिक पतनलाई स्टेजमा ल्याएर नाटकले समाजमा विद्यमान खोक्रे भलाद्मीहरूले कसरी आफ्नो गल्ती ढाकछोप गर्न निर्दोषहरूको बलि चढाउँछन् भन्ने देखाएको छ। यसअर्थमा नाटक सफल भएको छ।

नाटकमा मुखियाको मृत्युपछि सुन्दरपूर बस्ती त्यो अवस्थामा पुगेको भन्ने प्रसङ्ग निकालिएको छ। त्यो सांकेतिक छ। त्यसले सामाजिक धरोहर र एकतालाई प्रतिबिम्बित गर्छ। जब ती ढल्छन् बाहिरका मान्छेहरू फुकुवा हुन्छन् र उनीहरू जे पायो त्यही गर्छन्। बारम्बार कुटाइ खाने सुर्जा डोमको अवस्था त्यसैको उपज हो। जबसम्म न्याय बलियो भएर घुम्दैन, तबसम्म सुर्जाजस्ता निर्दोषहरू जेलमा पुगिराख्नुपर्छ।

दुखान्त विषय पस्किएको भए पनि नाटकले दर्शकलाई निराशा बाँड्दैन। एउटा कुरूप यथार्थ देखाउनु थियो तर त्यसलाई देखाउँदै पनि उसले नयाँ आशाको सङ्केत गर्छ। एक क्याम्पस पढ्ने विद्यार्थीले लाटीको पक्ष लिएर लडेको देखाएर शिक्षित पुस्ताप्रति नाटकले आशा व्यक्त गरेको छ। उसले लाटीका लागि लडेको लडाईं र माया सबल देखिन्छ। दुई फरक सामाजिक पीडाबाट गुज्रिएकी महिलालाई एकैठाउँमा ल्याएर नाटकले खराब पक्षहरूबीचको लडाईं एकैचोटी लड्नुपर्ने सन्देश दिन्छ। र अन्तिममा सबैभन्दा मुख्य कुरा, लाटीले गर्भको बच्चा हुर्काउनु ठूलो विद्रोह र साहसको सङ्केत हो। त्यसले नयाँ आन्दोलनको थालनी गरेको छ।

अभिनयमा सबै पात्रहरू उत्तिकै जमेका छन्। केही संवाद हसाउनकै लागि राखिएको आभाष हुन्छ। लाटीको भूमिका निभाउने केनिपा सिंहको अभिनयले विशेष प्रभाव छोड्छ। शान्त पात्रको रूपमा मिलन कार्कीको अनिनय पनि विशेष छ। लामो समयपछि रंगमञ्चमा उक्लिएका टीका पहारीको अभिनय पनि सबल छ।

केही कमजोरीहरू पनि छन् नाटकमा। अभिनयमा सबै पात्रहरूले न्याय गरेको भए पनि पण्डित तथा इन्सपेक्टरको चरित्र तुलनात्मक रूपमा अन्य पात्रहरूभन्दा कमजोर छन्। जस्तो विश्वनाथ बाबुले एक राजनीतिज्ञ र नेताको इमेज स्पष्ट बोक्छन् ती दुई पात्रहरूमा त्यो गहनता पाइँदैन। यो अवश्य हो कि ती पात्रहरूले मानिसहरूलाई हँसाएका छन् तर उनीहरू केवल हसाउनकै लागि मात्र हैन देशको प्रशासन र धर्मको प्रतिनिधि हुन् भन्ने पक्षलाई पनि बिर्सन हुँदैन। यस्तै पण्डित चरित्र यो नाटकको मात्र नभई एकल नाटक ‘बोक्सीको घर’ को पात्र पनि हो। उसको जिम्मेवारी त्यसैले पनि अलिक गम्भीर थियो। नाटक हेरेर फर्किंदा शिक्षक र विश्वनाथ बाबुप्रति जुन वितृष्णा आउँछ ती दुई चरित्रमा आउन सकेन। यसले नाटकको त्यो पाटोको संबोधन अलिक कमजोर पारेको छ।

श्याम साहको कथाले उठाएको राजनैतिक परिवर्तनको सन्दर्भचाहिँ नाटकमा कमै आउँछ। कुनै राजनैतिक परिवर्तनले सुन्दरबजारलाई असर गरेन भन्ने देखाएको हो भने ठिकै हो तर चुनावको कुरा गरिरहँदा कुनै संवादमा भए पनि राजनैतिक परिवर्तनहरूको छनक दिन पाएको भए नाटक कुनै समयमा गाँसिन सक्थ्यो।
वास्तविक कथाको अन्त्यमा लाटीको छोरो गायव भयो भन्ने प्रसङ्ग कथामा छ। तर नाटकमा छैन। त्यसलाई देखाएको भए कस्तो हुन्थ्यो म भन्न सक्दिन। हुनसक्छ, अन्तिम दृश्यमा विषनाथ बाबु र लाटीको छोरोको दृश्यमा एकपटक दुवैलाई सँगै देखाएर प्रकाश परिवर्तन हुँदा विषनाथलाई मात्रै एक्लै देखाउन सकिन्थ्यो। त्यसले कथालाई ‘ओपन इन्डेड’ छोड्ने थियो।सुरज सुवेदीले लेखेको यो ब्लग सेतोपाटीमा २०७४ असोजमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार