बेरुजुका कागज मिलाउन देशभर गोष्ठी

  पत्रपत्रिका खबर  220 पटक हेरिएको

काठमाडाैं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजु २० अर्ब ६२ करोड रुपैयाँ छ। अनियमित तवरबाट गरिएका यस्ता बेरुजु खर्च असुल गर्न महालेखापरीक्षकको कार्यालयले बारम्बार ताकेता गर्‍यो। तर बेरुजु फर्स्योट गर्ने नाममा मन्त्रालयले फेरि अर्काे अनावश्यक खर्च गर्दै छ– बेरुजुका कागजात जुटाउने गोष्ठीमा। मन्त्रालयको बेरुजुमध्ये १६ अर्ब ५३ करोड साबिकका जिल्ला विकास समिति र स्थानीय पूर्वाधार कार्यालयको हो। ७७ जिससमध्ये ७५ को बेरुजु छ। ‘बेरुजु फर्स्योट’ शीर्षकको गोष्ठीमा कम्तीमा २० लाख रुपैयाँ खर्च गरिन लागेको छ। धनगढी, नेपालगन्ज र सुर्खेतमा गोष्ठी भइसकेको मन्त्रालयका लेखा प्रमुख लक्ष्मी निरौलाले जानकारी दिए। उनका अनुसार ७ गोष्ठीका लागि २० लाख खर्च गरिँदै छ।

पोखरामा जेठ २३–२४, विराटनगरमा जेठ ३०–३१, बर्दिबासमा जेठ ३२–१ असार र धुलिखेलमा असार १२–१३ गोष्ठी हुँदै छ। मन्त्रालयअन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) को खर्च बेरुजु देखिएपछि फर्स्योट गर्न सकस भएको हो। गोष्ठीमा जिल्ला समन्वय अधिकारी, प्रदेश जिल्ला समन्वय समितिका लेखा अधिकारी र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्।

‘बेरुजु ठूलो भएकाले कसरी फर्स्योट गर्ने उपाय निकाल्न र प्रमाण जुटाउन गोष्ठी आयोजना गरिएको हो,’ मन्त्रालयका प्रवक्ता भूपाल बरालले भने, ‘कागजात संकलनदेखि समस्या पहिचानसम्मका काम यी गोष्ठीले गर्छन्। पछि मन्त्रालयले फर्स्योटलाई तीव्रता दिन्छ। गत वर्ष पनि भएको थियो। यो नियमित कार्यक्रम हो।’ फजुल खर्च गर्नकै लागि गोष्ठी नभएको उनको दाबी रहेको खबर आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार