३४ बर्षपछि फेरीएको कोहलपुर

  पत्रपत्रिका खबर  394 पटक हेरिएको

पञ्चायत ढल्यो। बहुदलीय व्यवस्था आयो। गणतन्त्र घोषणा गरियो। देश संघीयतामा गयो। महेन्द्र राजमार्गको नाम पूर्व-पश्चिम राजमार्ग जनजिब्रोमा झुण्डियो। तर, यही राजमार्गको एउटा चोक जहाँबाट पश्चिममा सुदूरपश्चिम र उत्तरमा कर्णाली प्रदेशको प्रवेशद्वार, पूर्व र दक्षिणमा प्रदेश ५ को जिल्ला र क्षेत्र जोड्छ।हो, बाँकेको कोहलपुर चौराहाको रुप फेरिन झन्डै साढे तीन दशक लागेको छ।

२०४२ सालमा कोहलपुर चौराहामा पञ्चायत सम्झाउने स्तम्भ बनाइयो र नाम पनि लेखियो ‘पञ्चायत रजत जयन्ती स्मारक’। ०६२/०६३ को आन्दोलनमा स्मारक भत्काएर ठूटो मात्र बच्यो। साबिक कोहलपुर गाविसहुँदै अहिले कोहलपुर नगरपालिकाको पहिलो नगरप्रमुख लुटबहादुर रावत कुरुप चौराहालाई सुन्दर र आकर्षक पार्क बनाइएको बताउँछन्।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले नगरपालिकासँग सहकार्यमा ५० लाखको लागतमा पार्क निर्माण गरी सोमबार संघीय सरकारका सहरी विकासमन्त्री इस्तियाक राईबाट उद्घाटन भएको छ। उद्घाटन समारोहमा मन्त्री राईले देशको समृद्धिका लागि सरकार र निजी क्षेत्र एक जुट भएर अघि बढ्नु पर्नेमा जोड् दिए।

१७ हजार ५ सय वर्ग फिटमा फैलिएको कोहलपुर चौराहा पार्कमा लाइटिङसहित पानीको फोहरा र विश्रामस्थल बनेका छन् । पार्कको बीचमा अग्लो स्तम्भको माथि पित्तलको बाघको प्रतिमा राखिएको छ। जुन बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुन्जको प्रतीक हो। बाघको प्रतीमा भने सानो हुँदा बिरालो जस्तो देखिएको टिप्पणी हुन थालेको छ। पार्कभित्र दुबो र फूलहरु रोपेर हरियाली र आकर्षक बनाइएको छ। साँझपख बत्ती बाल्दा चौराहा पार्क निकै आकर्षक बनेको छ। पार्कको रेखदेखका लागि सिद्धार्थ ग्रुपले नै मालीको व्यवस्थापनसमेत गरेको सिद्धार्थ विजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपाने बताएको खबर अन्तपूर्ण पोष्टमा छापेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार