
गरिब भएपनि , भिख माग्नुपरेको छैन ।
एकदिन कमाउछु, म अझै मरेको छैन ।।
थाहा छ मलाई कोही महलमा बस्छन् ।
म पनि त सडकमा बास गरेको छैन ।।
टालेको लगाउछु, सिस्नो खोले खान्छु ।
तर मान्छेको नजर बाट झरेको छैन ।।
पसिनाको कमाईले सधै सन्तुष्टि दियो ।
जता सुख छ, म उतै उतै सरेको छैन ।।
मान्छे कहिलेकाही काम लाग्छ भनेर ।
दुश्मनलाई पनि कर्के आँखा तरेको छैन।।
– चाहाना भाट (बाजुरा)