चितवनका लालबहादुर

  मूलधार पोष्ट  199 पटक हेरिएको

राजकुमार श्रेष्ठ-“इमानदारीपूर्वक काम गरेर खाने मानिस नारायणगढमा थोरै छन् । बेइमानी गरेर नै मानिसले अकुत सम्पत्ति थुपार्ने हो ।” यो भनाइ २६ वर्षदेखि नारायणगढमा फलफूल तथा तरकारीको खुद्रा पसल गर्दै आउनुभएका तरकारी बाजे भनेर चिनिने लालबहादुर श्रेष्ठको हो । दुःख पीर पर्दा सहरमा सहयोगी मान्छे पाउन गा¥हो हुन्छ । सहरमा प्रायः मानिसहरू स्वार्थी हुन्छन् । नारायणगढ चारैैतिरका मानिसहरूको बसोबास भएको सहर हो । यहाँ धेरै थरीका मानिसहरूको बसोबास रहेको उहाँको बुझाइ छ ।बिहानै सब्जीमण्डी जाने होलसेलमा फलफूल तरकारी किनेर ल्याउने र दिनभरि खुद्रा व्यापार गर्ने लालबहादुरको दैनिकी हो । नारायणगढस्थित पोखरा बसपार्कवासीलाई यसरी सेवा दिंदै आउनुभएको २६ वर्ष बितेको उहाँलाई पत्तै भएन । सहर झरेको दुई चार वर्षमै मान्छे घर घडेरी जोड्छन् । लालबहादुरलाई भने लोभलालच भएन । घरपरिवारलाई सुख सन्तुष्टी बनाउन सक्नु र ग्राहक, छरछिमेकहरूसँग राम्रो सम्बन्ध राख्न सक्नुमा नै उहाँलाई खुसी छ । अहिले पनि उहाँ घर भाडामै बस्दै आउनुभएको छ ।

५७ वर्ष उमेरका लालबहादुर श्रेष्ठको घर धादिङ जिल्लाको तत्कालीन कटुञ्जे गाविस हो । सानै हुँदा आमा बित्नुभएकोले उहाँले आमाको माया पाउनुभएन । घरमा बुबा, दाइहरू हुनुहुन्थ्यो । परिवारमा आफू कान्छो भए पनि उहाँले घरभित्रको भान्सादेखि लिएर घाँस, दाउरासम्म गर्नुपर्दथ्यो । घरपरिवारकै कारण दुई कक्षा पढ्दा पढ्दै उहाँले पढाइ छाड्नु प¥यो । गाउँघरको दुःख, कष्ट छल्नको लागि लालबहादुरले ११ वर्षको उमेरमा घर परिवार छाड्नुभयो । यसरी पहिलोपटक घर छाड्नुभएका लालबहादुर यात्राको क्रममा चितवन पुग्नुभयो । चितवनमा पाँच दिन तोरी उखेल्ने काम गरी केही पैसा कमाएर उहाँ मकवानपुरको हेटौंडा जानुभयो । हेटौंडामा चार पाँच दिन कुल्ली काम गर्नुभयो । केही खर्च जोहो गरी लालबहादुर वीरगञ्ज पुग्नुभयो । वीरगञ्जमा गुच्चा खेलेर साथी बन्दा साथीको घरको अभिभावकसँग भेट हुन पुग्यो । एक दिन साथीको घरमा सँगै खाना खाँदा साथीले ‘आमा दाल’ भन्दा आमाको याद आएर आफ्नो आँखाबाट बर्रर आँसु खस्दाको पल उहाँको मनमा अझै पनि ताजै रहिरहेको छ । त्यस घटनाले साथीको बुबा आमाले उहाँलाई छोराझैँ बनाइराख्नुभयो । उहाँले त्यस घरमा आमा बुबाको सम्बन्ध बनाएर झण्डै आठ वर्ष बिताउनुभयो । त्यहाँ पनि आफ्नो भविष्य देख्नु नभएपछि उहाँ भारत हानिनुभयो । आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सधैँ उहाँलाई लाग्दथ्यो ।

अरुको दबाबमा कति पनि रहन नरुचाउने लालबहादरलाई स्वतन्त्र भई जिउनु नै जिन्दगी हो भन्ने लाग्दथ्यो । बिहारको पटनामा दुई वर्ष जति लालबहादुरले लौट्री (चिट्ठा) बेच्ने काम गर्नुभयो । रहनसहन बुझ्दै जाँदा उहाँ पटनामै एक कलेजमा क्यान्टिन चलाउन पुग्नुभयो । चिया नास्ताको क्यान्टिन झण्डै १५ वर्ष चलाउनुभयो । क्यान्टिन चलाउँदाकै समयमा जनकपुरको केटीसँग उहाँको वैवाहिक सम्बन्ध गासिन पुग्यो । नेपालमा भारतका नागरिकहरूलाई नेपालीले हेप्ने चेप्ने गर्दैन तर भारतीयले भने पटनामा नेपालीहरूलाई हेपेको चेपेको देख्दा उहाँलाई दुःख लाग्दथ्यो । अहिले पनि यस्तो व्यवहार रहिरहेको उहाँको बुझाइ छ । गरिब र अन्यायमा परेको जो कोहीलाई सहयोग गर्ने उहाँको राम्रो बानी रहेको छ ।
त्यतिबेला भारतमा हिन्दू र मुस्लिमको धार्मिक द्वन्द्व चलेको थियो ।

नेपालबाट दाइले भारतमा बस्न ठीक छैन भनी उहाँलाई बोलाउनुभयो । दाइको सल्लाहानुसार काखको जेठी छोरी, श्रीमती लिएर लालबहादुर काठमाडौँ फर्कनुभयो । काठमाडौँमा उहाँको दाइ सानो तिनो व्यवसाय गर्र्नुहुन्थ्यो । दाइसँग लालबहादुर तीन महिना पनि टिक्न सक्नुभएन । ०४८ सालतिर फेरि उहाँ आफ्नो परिवार साथमा लिएर चितवन झर्नुभयो । अर्काको अधीनमा बस्न नरुचाउने उहाँ सानो तिनो व्यवसाय भए पनि आफै गर्न मन पराउनुहुन्थ्यो । नारायणगढमा उहाँले दुई वर्ष होटल चलाउनुभयो । स–साना छोराछोरी हुर्काउन र होटल चलाउन गा¥हो भएपछि उहाँ फलफूल तथा तरकारी पसल चलाउनतिर लाग्नुभयो । खाली जग्गामा आफैले टहरा बनाएर मासिक पाँच सय भाडा तिरेर पसल गर्न थाल्नुभयो । नारायणगढमा दुःख सुख गर्दै परिवार चलाउन सक्नु नै उहाँको लागि ठूलो कुरा थियोे । छोराछोरीहरू हुर्कंदै बढ्दै जाँदा उहाँमाथि थप आर्थिक भार पथ्र्यो । जेनतेन गरेर भए पनि छोराछोरीलाई शिक्षा दीक्षा दिनु र परिवारमा खुुसी राख्न सक्नुमा उहाँ गर्व गर्नुहुन्छ ।

दिन बित्दै गए । लालबहादुरलाई पनि आनन्द र सुखका दिनहरू आएझैं लाग्न थाल्यो । छोराछोरीहरू हुर्कदै थिए । जेठो छोरा वैदेशिक रोजगारीमा जाने सल्लाहानुसार उहाँले मलेसिया पठाउनुभयो । केही पैसा जोहो गरेर किनेको भरतपुरकै गणेशस्थानको घडेरी आफन्तसँग धितो राखीे उहाँले छोरालाई विदेश पठाउनुभएको थियो । तर, छोरा विदेश गएपछि सम्पर्कमा आएनन् । छोरा विदेश पठाएको केही वर्षपछि ऋण तिर्न नसकेर उहाँले दुःख गरेर जोडेको सानो घडेरी पनि बेच्नुप¥यो । श्रीमतीको निधन हुँदा घरबाटै पैसा पठाएर लालबहादुरले छोरालाई स्वदेशमा फिर्ता ल्याउनुभयो । जेठो छोरो नसुध्रिदा उहाँलाई पीर परेको छ । जेठी छोरी पसलमा सहयोग गर्थिन् । उहाँको श्रीमती भने १५ वर्षदेखि बिमारी थिइन् । मुटु र प्रेसरको रोगीका कारण दैनिक औषधि खाइरहनुपर्ने हुन्थ्यो । लालबहादुरले श्रीमतीको स्वास्थ्यको हेरचाह गर्दै आउनुभएको थियो । बिरामी श्रीमती कतिखेर के हुन्थ्यो भन्नै सकिन्नथ्यो ।

अकस्मात् ०७१ मा हृदयघातका कारण श्रीमतीको मृत्यु भयो । उहाँ श्रीमतीको शोकमा पर्नुभयो । जिन्दगीको दुःख सुखको साथी नहुँदा उहाँलाई अहिले पनि नरमाइलो लाग्नु अस्वाभाविक होइन । आफ्नो घर नहुँदाको व्यथा श्रीमतीको काजक्रिया गर्दा झन् बढेको उहाँ सम्झनुहुन्छ । कहिलेकाहीँ जिन्दगी यस्तै रहेछ भन्ने उहाँको मनमा पर्दथ्यो । तर, उहाँ जिन्दगीदेखि कहिल्यै पनि निरास हुनुुभएन र आफ्नो बाटो छोड्नुभएन । दुई छोरी र दुई छोरा भएका लालबहादुर आजभोलि खुसी देखिनुहुन्छ । दुई छोरी र कान्छा छोराको बिहे उहाँले राम्रैसँग गर्नुभयो । आजभोलि उहाँलाई कान्छी बुहारीले पसलमा सघाउँदै आएकी छिन् । नारायणगढमा कालो मन भएका धैरै मान्छेहरू छन् । पैसा कमाउनकै लागि मिसावट, ठग, देह व्यापारसम्म गर्नेहरू नारायणगढ सहरमा छन् । तर, उहाँले पैसाको लागि आफ्नो इमानलाई कहिल्यै पनि गिराउनुभएन । नारायणगढमा उहाँ सबैको चिरपरिचित हुनुहुन्छ । यसमै उहाँ खुसी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार