अध्यक्ष प्रचण्डलाई सिध्याउन पाए हुन्थ्यो !

  बुद्ध लोप्चन  729 पटक हेरिएको

बुद्ध लोप्चन-प्राइम टाइम्स टेलिभिजनमा गणतन्त्र दिवसको दिन नेकपाका अध्यक्ष कमरेड प्रचण्डले दिएको १ घण्टाभन्दा लामो अन्तर्वार्ताले अहिले तरंग पैदा भइरहेको छ । अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले व्यक्त गरेको विचारको महत्वलाई नबुझीकन बहसमा उत्रिनेहरुको कमी छैन । केही सञ्चारमाध्यमहरुमा अध्यक्ष प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर नेकपाकै जिम्मेवार कमरेडहरुले गैरजिम्मेवार तर्क राखेर आलेख प्रकाशित गरिएको हामीले देख्यौँ÷हामीले पढ्यौँ । यो आलेख अध्यक्ष कमरेड प्रचण्डले पार्टी एकताको क्रममा उठाएको जोखिम, अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले भन्न खोजेको विचारहरु र अध्यक्ष कमरेडलाई पार्टीभित्रैबाट कमजोर बनाउन खेलिरहेको षड्यन्त्रमा केन्द्रित छ ।

खासगरी तत्कालीन एमालेका कतिपय नेता कार्यकर्ता प्रचण्डलाई ‘अस्थिर’ मान्छन् । अझ केही नेताले त प्रचण्डलाई अवसरवादको रुपमा देखेका छन्, त्यसो त यो विषय कतिपयले खुलेरै पनि बोलेका छन् । प्रचण्डले यो आरोपको विभिन्न सार्वजनिक समारोहदेखि सदनसम्मै जवाफ फर्काइसकेका छन् । यसमा प्रचण्डको एउटै जवाफ छ, ‘मेरो अस्थिरताले एमालेकै साथीहरुलाई नै फाइदा भयो, यसलाई अस्थिरता भने पनि भन्नुस्, क्या गज्जब भने पनि भन्नुस् ।’

प्रचण्ड अस्थिर या गज्जब ? यसको इतिहास धेरै टाढाको छैन । तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालदेखि हालका प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक सत्ताको बागडोर सम्हालेसम्मको इतिहास पल्टाएर हेर्दा प्रष्ट भइहाल्छ । पूर्व एमालेजनकै भाषामा प्रचण्डको अस्थिरताले उनीहरुलाई फाइदा भयो या घाटा ? यति इतिहास पल्टाएर हेरेपछि यसको हिसाबकिताब गर्न गाह्रो छैन ।

पछिल्लो अन्तर्वार्तापछि प्रचण्डले फेरि सत्ताको बागडोर सम्हाल्न हतारो गरेको चर्चा पनि हुन थालेको छ । त्यति मात्रै होइन, तत्कालीन एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाएका प्रचण्डले त्यो गुणको पैँचो खोजेको निरर्थक हल्ला र जबरजस्त प्रचारबाजी अहिले नेकपाकै जिम्मेवार कमरेडहरुबाट हुन थालेको छ । म उहाँहरुलाई सोध्न चाहन्छु, प्रचण्डले प्रधानमन्त्री बन्नकै लागि के एमाले–माओवादीबीच एकता गरिरहनुपथ्र्यो ? प्रचण्डले एमाले–माओवादीबीच एकता गर्नुको तात्पर्य के उनी प्रधानमन्त्री बन्नु मात्रै हो ? यदि होइन भने यिनै विषयमा मात्रै केन्द्रित रहेर किन स्याइहुइँया मच्चाइरहेको छ ?

खासगरी यी निरर्थक बहस चलाउनेहरुलाई म सम्झाउन चाहन्छु, जतिबेला एमाले र माओवादीबीच एकताको सहमति भयो, त्यतिबेला माओवादी र एमालेभन्दा कांग्रेस–माओवादी व्यावहारिक रुपले नजिक थियो । मुलुकमा एमाले र माओवादीबीचको होइन, कांगे्रस र माओवादी गठबन्धनको सरकार थियो । चुनावी तालमेलकै कुरा गर्ने हो भने नेपाली कांग्रेस माओवादी केन्द्रसँग ५०–५० प्रतिशतको आधारमा तालमेल गर्न तयार थियो, यो कुरा कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमै बोलिसकेका छन् । प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री बन्ने अफर पनि कांग्रेसले नगरेको होइन । तर, प्रचण्डले यी सबै कुरालाई छाडेर पार्टीभित्रै अन्तर्विरोध हुँदाहुँदै एमालेसँग एकताको प्रस्ताव गरे ।

मान्ने या नमान्ने व्यक्तिगत सवाल हो, त्यतिबेला र यतिबेला प्रचण्ड नेपाली राजनीतिका ‘कि पर्सन्’ हुन् । केवल उनको हातमा भएको त्यो ‘कि’ उनले व्यक्तिगत फाइदाका लागि प्रयोग गरेका छैनन् । मुलुकको समृद्धि र परिवर्तित एजेण्डा संस्थागत गर्नबाहेक उनले त्यो ‘कि’ प्रयोग गरेको हामीले देखेका छैनौँ । यो मैले लगाएको चश्माले हेरे पनि तपाई जो कोहीले लगाएको चश्माले हेरे पनि देख्ने र देखेको यही नै हो । तर, अहिले फेरि नेकपाकै खासगरी पूर्व एमालेका साथीहरुले प्रचण्डले प्रधानमन्त्री बन्ने खेलमा लागेर मुलुकलाई फेरि अस्थिरतातिर लैजान खोज्यो, या अध्यारोँतिर डो¥याउन खोज्यो भन्नु जायज छ ? प्रश्न निरन्तर उठिरहन्छ ।

अब अन्तर्वार्ताको कुरा गरौँ । अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले मुख्य रुपमा एउटा कुरा उठाउन खोजेका छन् कि दुईअध्यक्षमध्ये एकजनालाई पार्टीमा कार्यकारी र एकजनालाई सरकारमा कार्यकारी बनाउनुप¥यो । दुवै अध्यक्ष दुवैतिर सक्रिय हुँदा पार्टी र सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको अध्यक्षको ठम्याई छ । त्यति मात्रै होइन, जनताको भावना र चाहना अनुरुप सरकार मुभमेन्ट हुन नसके सरकार परिवर्तन गर्नुपर्ने समेत अधयक्ष करमेडको तर्क छ । तर, सरकारले जनताको चाहना र मुलुकको आवश्यकता अनुरुप आफूलाई मुभमेन्ट गरेको खण्डमा आफू अध्यक्ष मात्रै बनेर बस्ने प्रष्टसँग बताएका छन्

राम्रा कामहरुको बीचमा पनि अहिले सरकारको कयौँ गल्तीहरु बाहिर आइरहेको छ । जनअपेक्षा बमोजिम सरकार अगाडि बढ्न नसकेको यथार्थता हामीले होइन, जनता आफैँले बोलिहरेका छन् । यस्तो बेलामा सरकारलाई प्रभावकारी बनाउनुपर्छ भन्ने अध्यक्ष प्रचण्डको मतलाई गलत अथ्र्याउन मिल्छ ? सरकारको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएमा प्रधानमन्त्री बन्ने लोभ छैन भनेकै छन्, अनि यसलाई अतिरञ्जित गर्न मिल्छ ? ठोस रुपमा जिम्मेवारी बाँडफाड नहुँदा एकताको काम समेत अल्झियो अब दुइमध्ये एक अध्यक्षलाई पार्टीमा र अर्कालाई सरकारमा केन्द्रित गराउनुपर्छ भन्ने अभिव्यक्ति के पार्टी एकताको विरुद्धमा छ ? कि प्रचण्डले प्रधानमन्त्री पनि मैँ, अध्यक्ष पनि मैँ बन्छु भनेका छन् ? यस्ता निरर्थक हल्ला जिम्मेवार कमरेडहरुले चलाउनु जायज छँदै छैन ।

कुरा यति हो, नेकपामा रहेका पूर्व एमालेका कैयन् कमरेडहरुलाई अझै पनि प्रचण्डलाई सिध्याउन पाए हुन्थ्यो भन्ने लागेको छ भन्ने बुझन् गाह्रो छैन । कहिले पूर्वतत : विचारकै पक्षमा त कहिले जनयुद्धलाई अपमान गर्नेजस्ता कामहरु तिनै साथीहरुमार्फत् भइरहेको छ, जो यो एकता प्रक्रिया असफल होस् भन्ने पक्षमा छन् । तर, यति कुरा याद राखौँ, न अब यो एकता भत्किन्छ, न त प्रचण्ड नै सिद्धिन्छ । जिम्मेवार व्यक्ति भएपछि प्रचण्ड र केपी ओलीलाई सिध्याउने लाइनमा नहिडौँ । विभिन्न सञ्चारमाध्यममार्फत् अनेकन निरर्थक प्रचारबाजी नगरौँ । प्रचण्ड या ओलीलाई सिध्याउन खोजेर तपाई हामी कहीँ पुगिन्न, चेतना भया । यो  लेख पत्रकार बुद्ध लोप्चनले लेखेको उज्यालो नेटवर्बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार