आरुबोटे हत्याकाण्ड : यस्तो छ स्थानियको भनाइ

  पत्रपत्रिका खबर  293 पटक हेरिएको

पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा चार परिवारका नौ जनाको कारुणीक संहारपछि आरुबोटेबासी शोकसँगै र त्रासमा बस्न बाध्य छन् । हत्याकाण्डपछि स्थानीयको दिनमा चैन हराएको छ । रातमा निद हराम भएको छ । चारमध्ये दुई परिवारको वंश नै नास हुने गरी भएको विभत्स हत्याकाण्ड प्रहरीको कमजोरीका कारण भएको स्थानीयको आरोप छ । घटना भएको घरमध्ये मारिएका धनराज शेर्माको घरमा गत वैशाख ३० गते नुनमा सिसाको धुलो मिसाइएको पाइएको थियो । शेर्माको घरमा तीन महिने ढाका बुनाई तालिम लिइरहेका महिलाहरु खाजा खाएपछि बिरामी परेपछि नुनमा हेर्दा सिसा भेटिएको थियो । उक्त घटनामा आठ जना बिरामी परेका थिए । दुई जना सिकिस्त नै बनेका थिए । उनीहरु सदरमुकामस्थित जिल्ला अस्पताल र समर्पित अस्पतालमा उपचारपछि निको भएका थिए ।

त्यतिबेलै परिवारको सामूहिक हत्या गर्ने उदेश्यले नुनमा सिसा मिसाइएको स्थानीयको आशंका छ । प्रहरीसम्म पुगेको सिसा काण्डलाई प्रहरीले गम्भिरतापूर्वक अनुसन्धान नगरेको स्थानीयको आरोप छ । त्यतिबेलै प्रहरीले मसिनो ढंगले अनुसन्धान गरेर दोषिलाई कारबाहीको दायरामा ल्याइएको भए यत्रो घटना नहुनसक्ने स्थानीय मिक्सन खड्काले बताए । घटनामा मारिएकी धनराजकी श्रीमति जस्मिताले त्यतिबेला अहिले प्रहरीले हत्याको आशंका गरेको ज्वाई मानबहादुर माखिमलाई नै शंका गरेको स्थानीय बताउछन् ।

नुन काण्डलाई मसिनो ढंगले छानबिन गर्नुपर्नेमा जनप्रतिनिधिहरुको रोहबरमा मिलाइएको स्थानीयले बताए । प्रहरीले दोषी शंका गरेको माखिम पनि मृत भेटिएपछि घटना रहस्यमयी बनेको छ । सिसा काण्डमा नै शंका गरिएका उनलाई पक्राउ गरेर अनुसन्धानको दायमारा ल्याउन नसक्नु प्रहरीको कमजोरी भएको स्थानीय बताउछन् । प्रहरीले दोषी पत्ता लागिसकेको दाबी गरे पनि खुलाउन सकेको छैन ।

हत्याकाण्डपछि असुरक्षा महसुस गरिरहेका स्थानीयले भने घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न र आरुबोटेमा तत्काल अस्थाई प्रहरी पोष्टको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विद्यार्थी मारिएपछि सामुदायिक बिद्यालयमा जिल्लाकै तेस्रो धेरै बिद्यार्थी संख्या रहेको घटनास्थल छेउको आरुबोटे माविको पठनपाठन समेत प्रभावित बनेको शिक्षक किरण पौडेलले बताए । पाँचथर प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले स्थानीयको शान्ति–सुरक्षा प्रत्याभूत गराउन आरुबोटेमा प्रहरी परिचालन गरिएको बताए ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमले पनि प्रहरी–प्रशासनसँगको सहकार्यमा स्थानीयलाई सुरक्षित महसुस गाराउन स्थानीय सरकार लागिपरेको बताए । हाल सामूहिक हत्या भएको दुबै घरलाई प्रहरीले सिल गरेर पहरा दिएको छ । हत्याकाण्डबारे थप अनुसन्धनमा प्रहरी निरन्तर लागिपरेको प्रहरी नायव उपरिक्षक कुँवरले बताएको खबर राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार