आर्यन हत्याकाण्ड : आमाबुवा भन्छन यहाँ बस्न पनि डरलाग्छ

  पत्रपत्रिका खबर  228 पटक हेरिएको

आब के हमरा दादी कहिके बजतै, हमर आर्यन हमरा छोडिके चलिगेल (अब कसले मलाई हजुरआमा भनेर बोलाउँछ, मेरो आर्यन मलाई छोडेर गइसक्यो। बिहीबार दिउँसो धनुषाको मिथिला नगरपालिका- ६ मा पुग्दा लालमुनी साह आफ्ना नातिबारे विलाप गरिरहेकी थिइन्। लालमुनी अहिले पनि अढाई वर्षका नातिले छोडेर गइसके भन्ने पत्याउन तयार छैनन्।‘बौवा हमर कहियो नही कतहुँ जाई लागि कनैत छल खाली कहैत छल दादी तु जो हम फुल गाछलग खेल (बाबु मेरो कहिल्यै कहीँ जानका लागि रूदैनथ्यो, जहिल्यै नि तोते र आधी बोलीले भन्थ्यो- हजुरआमा तपाई जा, बाबु यहीँ खेल,’ लालमुनी भक्कानिइन्।

एकछिनमा उनको गह आँशुले भरियो। ‘अब म घर आउँदा कसका लागि फोपी ( खानेकुरा) ल्याउँला। घर आउनेबित्तिकै मेरो काखमा को आउला, कसले घरभरि कोलाहल मचाउला? कसरी म बिर्सूं मेरो बाबुलाई।’गत वैशाख २३ गते हराएका आर्यनको शव वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा फेला परेको थियो। झाँक्रीसमेत रहेका शत्रुधन महतोले सिद्धि प्राप्ति गर्ने नाउँमा आर्यनको हत्या गरेका थिए। बलि दिएपछि आफू शक्तिशाली हुने अन्धविश्वासमा हत्या गरिएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले बताए।

वैशाख २३ गते साँझ आर्यनकी आमा रेनुदेवी घाँस काट्न गएको मौकाछोपी झाँक्री महतोले बालकलाई ललाइफकाइ आफ्नै घरको दैलोबाट अपहरण गरेका थिए। सोही राति झाँक्री महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि प्राप्ति हुने अन्धविश्वासमा आफ्नै आंगनमा धारिलो हतियार प्रहार गरी देवी देउताको नाममा बालकको घाँटी रेटेर हत्या गरेका थिए।

बलिपश्चात बालकलाई कृष्णानन्दको झाडीमा बालकको शवलाई फालेका थिए। बिरामी हुँदासमेत झाक्री महतोले आर्यनलाई झारफुक गर्थे। उनीहरूका घर सय मिटरजति दूरीमा छन्। आर्यन संसारबाट बिदा भइसके भन्ने कुरा आमा रेणुदेवी साहले समेत विश्वास गर्न सकेकी छैन्। परिवार र छोराछोरीको खुसीका लागि विदेशिएका उनी छोरा आर्यनको हत्या भएपछि आफ्नो पैसा तिरेर र कम्पनीसँग बिदाको हारगुहार गरेर दुई महिनाको बिदामा आएका छन्।

लालमुनी, शम्भु र रेणुसँग एकातिर प्यारो सन्तान गुमाउनुको पीड़ा छ अर्कातिर उनीहरूलाई यहाँ बस्न पनि डर लाग्न थालेको छ। लालमुनीले भनिन्- यहाँ हामी हलुवाई जातिका तीन घरमात्र छन्, कोइरीहरूको बाहुल्यता छ। हाम्रो कसैसँग खराब सम्बन्ध छैन तर ज-जसलाई हामीले शंका गरेका थियौं। प्रहरीले उनीहरुलाई पक्रेको थियो। अहिले उनीहरू छुटिसके। हामीलाई डर लागेको छ- उनीहरूले हामीसँग बदला लिए भने के गर्ने होला?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार