फेरी नेपालमा भूकम्पको धक्का

  मूलधारपोष्ट  458 पटक हेरिएको

मुगु-बिहिबार बिहान मुगु आसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। मुगुको जिमा केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। ०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि देशका विभिन्न ठाउँमा निरन्तर भूकम्पको धक्का महसुस गरिँदै आएको छ।

महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्राडा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि पराकम्पन आइरहेको हो। उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ। भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए। ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए। जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको संकेत परकम्पनले दिने उनले बताए।

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए। जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ। विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उनले त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको बताए। विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उनले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए। पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ। भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार