क्रिकेट रङ्गशालाको बार भत्काउने मुख्य योजनाकार प्रकाउ

  रासस  188 पटक हेरिएको

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले क्रिकेट रङ्गशाला निर्माणस्थलमा लगाइएको अस्थायी बार भत्काउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन अवस्थामा रहेको रङ्गशालाको अस्थायी बार भत्काउने योजनाकार भन्दै प्रहरीले स्थानीयवासी प्रकाश कँडेललाई पक्राउ गरेको हो । कँडेललाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार कँडेलको नेतृत्वमा आएको टोलीले बुधबार भरतपुर महानगरपालिका–१५ मा निर्माण हुँदै गरेको रङ्गशालाको अस्थायी बार भत्काएका थियो । सोही आरोपमा प्रहरीले बुधबार १६ जना र डोजरसमेत नियन्त्रणमा लिएको थियो । रङ्गशालाको पश्चिमतर्फ घर जग्गा भएका स्थानीयवासीले बार भत्काएका थिए ।

हाल सो ठाउँमा सात मिटर फराकिलो बाटो छ । बाटो विस्तारका लागि थप जग्गा क्रिकेट रङ्गशालाका तर्फबाट छोड्नुपर्ने माग गर्दै आएका छन् । प्रहरीका अनुसार बाटो विस्तारका विषयमा विवाद गर्दै आएका उनीहरुले डोजर लगाएर बार भत्काएका हुन् । निर्माणको काम भइरहेको समयमा स्थानीयवासीले अस्थायी बार भत्काएपछि निर्माणको वातावरण नबनेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको कामलाई रोकेको छ ।

फाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै स्थानीय नेताको नेतृत्वमा आएको समूहले अस्थायी संरचनामा डोजर लगाएर भत्काइदिएपछि समस्या समाधान नभएसम्म काम गर्न नसकिने जनाएको हो । फाउण्डेशन अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले विज्ञप्ति जारी गरेर काम गर्न नसक्ने जानकारी दिएका छन् । रासस ।

दोषीलाई कडा कारबाही गर्न माग ।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही व्यक्तिले बार भत्काउने काम गरेकोप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् ।
गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार लगायतका संरचना केही व्यक्तिले भत्काइदिएका छन् । आज विहान उनीहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन् ।

स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो । भत्काउने कार्यक्रमा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । शितलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनिहरुको रहेको प्रहरीले जनाएको छ । बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घट्ना दुखद भएको बताएकी छन् । उनले छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार