कहाँ कहाँ छ विप्लव बन्दको प्रभाव ?

  पत्रपत्रिका खबर  769 पटक हेरिएको

सुर्खेत-नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन् ।

हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर बसका स्टाफ र सबै यात्रुहरुलाई ओरालेर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस आगजनी भएको ठाउँ नजिकै शंकास्पद वस्तु पनि फेला परेको थियो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् । सोमबार बिहान २ बजेतिर मध्यबिन्दु गरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट लोड गरेको ट्रकमा विप्लव समूहका कार्यकर्ताले पेट्रोल बम हानेको डन्डा प्रहरीले जनाएको छ ।

पेट्रोल बम प्रहारबाट ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ मिटर तल खसेर आगो लागेको थियो । घटनामा ट्रक चालक तनहुँको ब्यास नगरपालिका ४ बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहार जलेको छ । उनको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । सहचालकको अवस्था भने सामान्य छ । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी नायव निरीक्षक जनक बुढा नेतृत्वको टोलीले बिहान करिब ३ बजेतिर ट्रकमा लागेको आगो निभाएको थियो । घटनास्थल डण्डा प्रहरी चौकीबाट करिब १ किलोमिटर पूर्व पर्दछ ।

यसैगरी कावासोती नगरपालिका–१६ पत्थरखोला पुल नजिकै गुडिरहेको बा ३ च ९३ नम्बरको जिपमा पनि पेट्रोल बम प्रहार भएको छ । सोमबार बिहान करिब साढे ३ बजेतिर खाली जिपमा विप्लव समूहका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । पेट्रोल बम प्रहारबाट जिपमा राखिएको त्रिपाल पूर्णरुपमा जलेको छ । यसैगरी नवलपुरकै बुलिङटार गाउँपालिका अध्यक्षको घर नजिक सिलिण्डर विष्फोट गराउने प्रयास असफल भएको छ । गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीको घरभन्दा करिब ३०० मिटर पूर्व श्रीधर गिरीको खेतमा सिलिण्डर विष्फोट गराउने प्रयास गरिएको थियो ।

खेतमा मोटरसाइकलको टायर र दाउरा बालेर सिलिण्डर बिष्फोट गराउन खोजिएको तर सिलिण्डरको क्यापबाट ग्यास लिक भएर नपड्किएको प्रहरीले जनाएको छ । सिलिण्डर पड्काउने प्रयास कसले गरेको भन्ने खुलेको छैन । तर, यसमा पनि विप्लव समूहकै संलग्नता रहेको प्रहरीको अनुमान छ । बन्दका कारण पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् । नवलपुरका मुख्य बजार क्षेत्र पनि सुनसान छन् । अनलाइन खबरमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार