डोगडीमा छाउँ कुप्रथा कायमै

स्थानीय सरकार मुखदर्शक

  मूलधारपोष्ट  185 पटक हेरिएको

रमित बि.क., बाजुरा -परम्परागत सोचमा परिवर्तन आउन नसक्दा बाजुराको डोगडीमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको पाईएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउँगोठमा राख्ने चलनले अझै पनि निरन्तता पाएको प्रशस्त उदारण भेटीने गरेका छन् । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘कु’ प्रथालाई महिलाले नै छाड्न सकेका छैनन् ।

महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने,देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्ने जस्ता परम्परागत रुढीबादी र अन्धविश्वासबाट महिला पिडित हुने गरेका छन् ।  साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका ५ का महिलाहरु महिनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गरेका छन् ।

छाउँपडी भएका बेला घरभित्र पस्न नदिने,घरभित्रको काम गर्न नदिने,दूध दही मही जस्ता पोषणयुक्त खानेकुरा खान नदिने गरेको स्थानीय महिला भुजी सुनारले बताउनुभएको छ । गाउँपालिका केन्द्र नजिकै छाउ कु्रथाले प्रश्रय पाईरहेपनि गाउँपालिका बेखबर जस्तै बनेको छ । स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय महिलाहरुको आरोप रहेको छ । परम्परागत सामाजिक मूल्य र मान्यता,रुढीबादी सोच,धार्मिक अन्धविश्वास, जनचेतनाको कमी, लैङ्गिक विभेद्, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण छाउपडी प्रथाले निरन्तरता पाउँदै आएको स्थानीय सिता सुनारले बताउनुभएको छ ।

रातीको समयमा ओछ्याउने बिछ्याउने कपडाको अभावमा जाग्राम बसेर रात काट्नुपर्ने अर्को बाध्यता रहेको स्थानीय लक्ष्मी रावतले बताउनुभएको छ । ऐनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद,तीन हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।  घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ ले पनि कुनै पनि व्यक्तिलाई घरेलु सम्बन्ध भएका कुनै पनि व्यक्तिले शारीरिक,मानसिक,आर्थिक र यौनजन्य हिंसा गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था गरेपनि त्यस अन्र्तगत हालसम्म कार्बाही भने कसैलाई पनि हुन सकेको छैन् ।

यता गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले आफुहरुले गाउँपालिकाबाट बिभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेकोले छाउगोठ नभएको दाबी गर्नुभएको छ । यदि छाउँपडी कुप्रथालाई प्रश्रय दिएको पाईएमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न आग्रह गर्नुभएको छ । उहाँले जो पिडित महिलाहरु छन् उनीहरुले गाउँपालिकामा उजुरी दिन अनुरोध गदैँ गाउँपालिकाले त्यस्ता गतिविधि अन्त्य गर्ने बिभिन्न सचेँतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार