मतदातालार्इ यसरी सम्झिन् बिना मगरले (पत्र सहित)

  निर्वाचन विषेश  362 पटक हेरिएको

धन्यवाद ज्ञापन
आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरू
मंसिर १० र २१ गते गरी २ चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट वाम गठबन्धनलाई विजयी गराएर देशलाई समृद्ध बनाउने महाअभियान सफल हुनेतर्फ उन्मुख भएको छ । देशलाई यो ऐतिहासिक घडीसम्म पु¥याउन बलिदानी गर्ने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते तथा सहिद बेपत्ता परिवारलाई सम्झिन चाहन्छु । अधिकांश निर्वाचन क्षेत्रमा वाम गठबन्धनको पक्षमा मतपरिणाम आएका बेला कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट समेत तपाईहरूले विश्वास गरेर मलाई अत्यधिक मतले विजयी गराउनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । मानसिक रुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला तपाई आमाबुबा, दाजुभाई, दिदीबहिनी लगायतबाट मैले पाएको साथ जीवनभर बिर्सिने छैन ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा रहेका कूल ८८ हजार ५९ मतदातामध्ये ६३ हजारभन्दा बढी मत खसेकोमा मलाई प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त भएको छ । यो विशाल मतान्तरबाट मप्रति तपाईहरूले गरेको अपेक्षा र भरोसा प्रतिबिम्बित भएको छ । हालसम्म विकासको अनुभूति गर्न नपाएको दुर्गम क्षेत्रको सेवा गर्ने मेरो संकल्प र विकास भएको देख्ने तपाईहरूको चाहना मेल खाएकै कारण मैले यतिधेरै मत पाएकी हुँ । यतिधेरै मतदाताको विश्वास र साथ मेरा लागि एकातिर अवसर हो भने अर्काेतिर चुनौति पनि । तर, म आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर खटिने प्रतिवद्धता जाहेर गर्दछु ।

निर्वाचन प्रचारका क्रममा हामीले सार्वजनिक गरेका प्रतिवद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्नुपर्नेमा म लगायत वाम गठबन्धनका उम्मेदवार एकमत छौं । स्थानीय, प्रदेश र केन्द्र सरकारमा वाम गठबन्धनकै नेतृत्व हुने भएकाले विकास गर्न सहज हुनेछ । ३ वटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा म दृढ छु । संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय मेरा लागि प्रमुख हुने छन् । तपाईहरूसँग निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने प्रतिवद्धता समेत पुनः जाहेर गर्न चाहन्छु ।

निर्वाचनको प्रक्रिया अनुसार मैले बहुमतका आधारमा जितेपनि मलाई मतदान नगर्नुहुने मतदाताप्रति समेत मेरो दायित्व र जिम्मेवारी रहन्छ । तसर्थ, म बहुमतबाट निर्वाचित भएपनि सर्वमतको सम्मान गर्नेछु । तपाईहरूको मतदानबाट मैले पाएको विशाल जनमतलाई आगामी ५ वर्ष जनपक्षीय कामबाट सम्मान गर्नेछु । मतदाताले मलाई विश्वास गरेर जिताएका छन्, अब काम गरेर देखाउने पालो मेरो हो भन्ने कुरा मैले बुझेकी छु । मलाई निर्वाचित गराउन मतदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिने वाम गठबन्धनका नेता कार्यकर्ता, चुनावमा समर्थन र मतदान गरेर सघाउने अन्य विभिन्न पार्टीका समर्थक, प्रतिस्पर्धालाई सौहार्द बनाउने प्रतिस्पर्धी उम्मेदवारहरू, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन खटिएका निर्वाचन आयोगका कर्मचारी र शान्ति व्यवस्था कायम राख्न खटिएका सुरक्षाकर्मी तथा सञ्चारकर्मी महानुभावहरूप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

बिना मगर
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १

यस्तो छ धन्यवाद ज्ञापनपत्र जस्ताको तस्तै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार