बिना मगर : संघर्ष हुँदै संसदसम्म पुग्ने कञ्चनपुरकी एक्ली पहिलो छोरी

  जी. भट्ट  457 पटक हेरिएको

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बिना मगरलाई जन्मजात वामपन्थी बन्ने वातावरण मिल्यो । राज्यसत्ताको दमन, सामाजिक विभेद र शोषणलाइ नजिकबाट देखेकी बिना मगर १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै सांसदमा निर्वाचित हुने कञ्चनपुरकी पहिलो छोरी बन्न पुगेकी छन् । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी हुँदै बिना मगरले केन्द्रीय संसदमा पुग्ने पहिलो कञ्चनपुरकी छोरीको रेकर्ड बनाएकी छन् ।

नेपालको पछिल्लो राजनीतिक र सामाजिक परिवर्तनमा सहभागी भएर राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल भएको नाम हो बिना मगर । १० वर्षे जनयुद्धमा सहभागी हुँदा २७ महिने नारकीय हिरासत जीवन बिताएको तथा मृत्युको मुखबाट बचेर बिना मगर अहिले जन्मभूमिको सेवामा समर्पित भइरहेकी छन् । राष्ट्रिय राजनीतिमा स्थापित हुँदाहुँदै पनि जन्मभूमि कञ्चनपुरलाई दुःख, समस्या र पीडाबाट मुक्त गर्दै यस क्षेत्रको विकासको प्रत्यक्ष अनुभूति गराउन बिना मगर लगातार सक्रिय छिन् ।

२०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिएकी बिना मगरले पुनर्वासको अरनिको वस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन सुरु गरिन् । उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरिन् । समाज बुझ्ने चेतनाको विकास हुँदै जाँदा बिना मगरमा विद्रोह उत्पन्न हुँदै गयो । जन्मभूमिको पछौटेपन, गरीबी, असमानता, विभेद र राज्यको विभेदकारी नीतिले बिना मगरमा विद्रोही सोच जन्मायो ।

राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर बिना मगर २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा (माओवादी) को आन्दोलनमा सक्रिय भइन् । जनयुद्धको सुरूवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन सुरु गरिन् । सुरुमा बिना मगरको सहभागिता जनकलाकारका रुपमा सांस्कृतिक कार्यक्रममा देखिएको थियो । आन्दोलनमा सहभागिता जनाउँदै गर्दा २०५६ सालमा बिना मगरले महिलाहरूको हक अधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षको भूमिकामा योगदान गरिन् ।

राजनीति यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना मगर काठमाडौं प्रस्थान गरिन् । काठमाडौंमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आवद्ध भएर भित्रि रूपमा नेकपा माओवादी पार्टीको पूर्णकालीन सदस्यको रूपमा उनले काम गरिन् । क्याम्पस जीवनमा जुझारू नेतृको रूपमा स्थापित हुँदै बिना मगर राजधानीमा पनि लोकप्रिय हुँदै गइन् । तत्कालीन रत्नराज्य क्याम्पसको स्ववियू सदस्य पदमा पाएको अत्यधिक मतले बिना मगर विद्यार्थीमाझ लोकप्रिय रहेको प्रमाणित भयो । विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाको लागि संघर्ष गरिरहँदा उनलाई २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो ।

देशमा घनिभूत ढंगले माओवादी आन्दोलन अगाडि बढिरहेको र तत्कालीन सत्ताले संकटकाल घोषणा गरेको बेला समेत बिना मगर राज्यसत्ताको केन्द्र काठमाडौंमा माओवादी आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेकी थिइन् । राज्यको ब्यापक धरपकड र दमनबीच बिना मगर २०६० सालमा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परिन् । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उनले २७ महिना बेपत्ताको अवस्थामा रहनुप¥यो ।

जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा बिना मगरले २७ महिनासम्म पाशविक यातना भोग्नुप¥यो । सेनाको हिरासतमा रहँदा करेन्ट लगाउने, पानीमा डुवाउने, पाइपले पिट्ने लगायतका अमानवीय यातना दिइएको थियो । सेनाको ब्यारेकमा २७ महिनासम्म कहिल्यै पेट भरिने गरी खान दिइन्नथ्यो । शरीरभरि यातनाका घाउहरू पाकेका थिए । फोहोरले शरीरभरि जुम्रा परेको थियो । ६ महिनासम्म त नुहाउन पनि दिइएको थिएन । नियमित समयमा दिसापिसाबसम्म गर्न पाइँदैनथ्यो । कठ्ङ्ग्रिँदो चिसो रातमा पनि एकसरो लगाएको कपडामा चिसो भुइँमा सुत्नु पर्दथ्यो ।

तत्कालीन शाही सेनाको हिरासतमा रहँदा २७ महिनासम्म नै चौबिसैं घण्टा आँखामा कालोपट्टि बाँधी हात पछाडिपट्टि बाधेर राखिएको थियो । बिना मगरसँग हिरासतमा रहेका धेरै सहयोद्धाहरू अझैं पनि बेपत्ता नै रहेको र उनी सेनाको प्राविधिक कारणले मात्र बाँच्न सफल भएकी हुन् । धेरै सहयोद्धासँगै बेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि बिना मगर संयोगवश ब्यारेकमै छुटेकी थिइन् । जसको प्रतिफल बिना मगर आज हामीमाझ जीवित छिन् ।

पुनः दोस्रो पटक पनि भैरवनाथ गणबाट बेपत्ता पार्ने मनसायले बिना मगर लगायतका बन्दीहरूलाई शिवपुरी ब्यारेकमा सारिएको थियो । तर, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाको खोज र दबाबका कारण बेपत्ता पार्ने योजनालाई सेनाले स्थगित गरेर स्थान परिवर्तन गरी गोरखा ब्यारेक लगेको थियो । पछि मानवअधिकारवादी र परिवारको खोजबाट बिना मगर गोरखा ब्यारेकमा रहेको थाहा भयो । उतिबेला मुलुकमा २०६२÷६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतमा दर्ता गरिएको थियो । त्यसपछि अदालतले गैरन्यायीक हिरासतबाट बिना मगरलाई रिहा गर्न आदेश दिएको थियो । सम्मानित सर्वोच्च अदालतको रिहाइको आदेशलाई वेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको संघर्ष र सहयोगले निस्तेज पारेर बिना मगर रिहाइ भएकी हुन् । आफूसँगै हिरासतमा रहेर हत्या गरिएका र बेपत्ता बनाइएका सहयोद्धाको सपना पूरा गर्ने संकल्प बिना मगरको छ ।

देश बृहत् शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पार्टीले बिना मगरको कार्यक्षेत्र काठमाडौं नै तोक्यो । उनले २०६४ सालमा पुनः अखिल क्रान्तिकारी काठमाडौंको जिल्ला अध्यक्षको जिम्मेवारी पाइन् । प्राप्त जिम्मेवारीलाई कुशल ढंगले पूरा गरेका र प्रतिकूल परिस्थितिलाई अनुकूलतामा ढाल्न सक्ने क्षमता भएका कारण अखिल क्रान्तिकारीले २०६४ सालको स्ववियू निर्वाचनमा बिना मगरलाई सरस्वति क्याम्पस लैनचौर काठमाडौंमा सभापतिको उम्मेदवार बनायो । अनेक प्रतिकूलताबीच नेविसंघ र अखिलको संयुक्त प्यानललाई भारी मतका साथ पराजित गरेर बिना मगर स्ववियू सभापतिमा विजयी भइन् । राजनैतिक यात्राको निरन्तरतामै विद्यार्थी आन्दोलनबाट बिदा भइ पार्टी आन्दोलनमा प्रवेश गरेपछि बिना मगरले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाइन् ।

पार्टी राजनीतिमा प्रवेश गरेपछि बिना मगरले आफ्नो जन्मभूमि कञ्चनपुरबाटै पार्टी राजनीति गर्ने निर्णय गरिन् । बाल्यकालमा जन्मभूमिमा देखेको अभाव र समस्याले बिना मगरलाई कञ्चनपुरको दक्षिणी क्षेत्रको विकास गर्ने सोच बनेको हो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार भएकी बिना मगर झिनो मतान्तरले पराजित भइन् । मतदाता र स्थानीय जनसमुदायले देखाएको विश्वास र समर्थनले बिना मगरलाई पराजित भएर पनि कञ्चनपुरका जनताको सेवामा निरन्तर समर्पित गराइरह्यो । जसले गर्दा बिना मगरले पराजित भएर पनि व्यक्तिगत र पार्टीगत पहलमा १ नम्बर निर्वाचन क्षेत्रमा विकासका थुप्रै काम गरिन् । दृढ संकल्प र निरन्तर सक्रियताले मंसिर २१ गते सम्पन्न निर्वाचनबाट बिना मगरलाई सानदार जीत मिलेको छ ।

निर्वाचन प्रचारकै क्रममा रहेका बेला मंसिर ३ गते पति प्रकाश दाहालको मृत्युले पतिशोकमा परेकी बिना मगर विक्षिप्त भएकी थिइन् । तर, आफूलाई सम्हाल्दै बिना मगर १ हप्तापछि पुनः चुनावी प्रचारप्रसारमा सहभागी भइन् । बिना मगरले पतिशोकका बेला धित मरुञ्जेल रुन पनि नपाइ चुनाव प्रचारमा होमिनु प¥यो ।

जन्मभूमिको सेवा गर्ने दृढ संकल्पले बिना मगरलाई चुनावी प्रचारमा होमिन सहयोग गर्यो । बिना मगरलाई प्राप्त भएको मतले उनीप्रति अधिकांश मतदाताले भरोसा र अपेक्षा गरेको प्रमाणित छ । त्यो अपेक्षालाई पूरा गर्नुपर्ने र कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रमा तीब्र विकास गर्नुपर्ने चुुनौति बिना मगरका सामुन्ने रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार