दोस्रो चरणको निर्वाचन अपडेट :##Election Update

  मूलधार सम्वादाता  386 पटक हेरिएको

चितवन

चितवनमा बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रका १६१ मतदानस्थलका ४०८ मतदान केन्द्रमा मतदान शुरु भएको हो ।

निर्वाचन सम्पन्न गर्नका लागि तीन हजार २६४ जना कर्मचारी, एक हजार ६२७ स्वमंसेवक परिचालन गरिएको छ । पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा १२ जना कर्मचारी र स्वमंसेवक परिचालन गरिएको छ भने ५०० भन्दा कम मतदाता रहेको केन्द्रमा ११ जना कर्मचारी र स्वमंसेवक खटाइएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका परेको छ । यस्तै क्षेत्र नं २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा समेटिएको छ ।

जिल्लामा मतदाता संख्या तीन लाख ५४ हजार ३६ रहेको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार एक लाख ८४ हजार ६८ जना महिला र एक लाख ६९ हजार ९६७ जना पुरुष मतदाता रहेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख १९ हजार ९९८ मतदाता छन् । यस्तै क्षेत्र नम्बर २ मा एक लाख आठ हजार २१९, क्षेत्र नम्बर ३ मा एक लाख २५ हजार ८१८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।रासस

भक्तपुर

भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा शुरु भएको छ ।

भक्तपुरका ७८ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान शुरु भएको छ । जिल्लामा कुल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेका छन् ।

सुरक्षाका लागि भक्तपुरमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदाताले उत्साहित भएर मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे मतदान गर्नुहुने भएको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने १० बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट १० बजे मतदान गर्नुहुने भएको छ । पूर्वमन्त्री महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रासस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार