प्रधानमन्त्री अोली समक्ष देउवाको यस्तो गुहार

  पत्रपत्रिकाट  405 पटक हेरिएको

चर्चित अनसनकारी डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा धेरै समय उधुम मच्चाए, प्रधान न्यायाधीशलाई पनि अनसनबाटै बजाए । अख्तियार प्रमुखलाई पनि छाडेनन् । तर, उनको पछिल्लो अनसनका बेला चर्चित बनेको वाइडवडी विमान खरीद प्रकरणमा भने चूँसम्म गरेनन् । डा.केसीको अनसनको तमासा सकिइसकेको छ ।

अब प्रमुख प्रतिपक्षी कांग्रेसको आन्दोलनको तमासा सुरु हुने भएको छ । रमाइलो त यो छ कि कांग्रेसको आन्दोलनमा पनि बहुचर्चित २५ अर्बको वाइडवडी विमान खरीद प्रकरणलाई मुद्दा नबनाइने भएको छ । कांग्रसले २०७५ माघ २१ गतेबाट नेकपाको केपी ओली सरकारविरुद्ध देशब्यापी आन्दोलन सुरु गरेको छ ।उच्च स्रोतका अनुसार, वाइडवडी खरीद काण्डबारे प्रधानमन्त्री केपी ओलीसंग कुरा गर्न कांग्रेस सभापति शेरबहादुर देउवा आफै प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । उनले यो विषयमा आधाघन्टा कुरा गरेको बुझिन्छ । देउवाले के कुरा गरे भन्ने खुलेको छैन तर ओलीले तपाईंकै पालामा खरीद प्रकृया सुरु भएको हो, यसको जवाफ तपाईंले नै दिनुपर्छ भनेको स्रोत बताउछ ।

वाइडवडी विमान खरीद काण्डलाई नेपालको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड मानिएको छ । २५ अर्ब रुपैयाँको दुई थान वाइडबडी विमान खरीद सम्बन्धमा कांग्रेसकै सांसद राजन केसीको संयोजकत्वमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन उपसमिति बनाएको थियो । उपसमितिले विमान खरीद प्रकरणमा भ्रष्टाचार भएको भन्दै दोषीलाई कारबाही गर्न किटानीसाथ सिफारिस समेत गरेको थियो । तर, यो प्रकरणमा कांग्रेस रहस्यमयरुपमा पछाडि हटेको छ ।

जानकार स्रोतहरुका अनुसार, कांग्रेसले आन्दोलनमा वाइडवडीको कुरा नउछाल्न सर्कुलर नै जारी गरेको छ । उता, वाइडवडी काण्डलाई त्यागेको आरोप लागेपछि कांग्रेसले उदेकलाग्दो तरिकाले लाज ढाक्ने प्रयास गरेको छ । २०७५ पुस २६ गतबाट सुरु भएको महासमिति बैठकमा पारित राजनीतिक प्रतिवेदन कांग्रेसले अहिलेसम्म सार्वजनिक गरेको छैन । केन्द्रीय समितिले परिमार्जन गरेर मात्र सो प्रतिवेदन सार्वजनिक गर्ने भनिएको थियो । त्यो प्रतिवेदनमा कांग्रेसले वाइडवडी जहाज खरीद छानबिन प्रकरणलाई थपेको बुझिन्छ ।

दुई थान वाइडबडी खरीद प्रकरण मात्र नभएर सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको बेलाका कुनै पनि भ्रष्टाचारका मुद्दा कांग्रेसले आन्दोलनमा नउठाउने भएको छ । कांग्रेसले सबैभन्दा ठूलो वाइडवडी खरीद काण्डलाई प्राथमिकता नदिने निर्णय गरेकोमा रामचन्द्र पौडेल पक्षधरहरु भने खुसी छैन । उनीहरुका अनुसार, विमान खरीद प्रकरणमा देउवा पत्नी आरजू राणाहरुले मनग्ये फाइदा हात पारेका छन् । देउवाका साला भूषण राण नै विमान खरीद प्रकरणका असली सूत्रधार हुन् भन्ने पनि खुलिसकेको छ ।

डा. गोविन्द केसीलाई इस्यू बनाएर कम्युनिष्ट सरकारविरुद्ध जुरुक्कै आन्दोलन उठाउन सकिन्छ भन्ने कांग्रेस नेताहरुको निष्कर्ष फेल खाएको छ । बरु, अहिले गोविन्द केसी नै देउवाका विरोधी बनेको बुझिन्छ । संसदबाट राष्ट्रिय चिकित्सा विधेयक पारित हुने वित्तिकै केसीलाई भेट्न देउवा पुगेका थिए । देउवाले साथ देलान् भन्ने ठानेका केसीले नचिताएको वाक्य सुन्नुप¥यो । देउवाले ठाडै भनिदिए, अब अनसन तोड्नुस् । देउवाले खुसुक्क मात्र भनेका होलान्, औपचारिकता पु¥याउन मात्र भनेका होलान् भन्ने केसी तथा उनका समर्थकहरुलाई लागेको थियो । तर, भोलिपल्ट पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पोखरा पुगेर केसीले अनशन त्याग्नुपर्छ भनिदिए ।

काँध थापिरहेको कांग्रेसले साथ छाडेपछि मृत्यूसंग जुधिरेहका डा. केसी अनसन त्याग्न बाध्य भए । केसीलाई काँध नथाप्ने प्रयास देउवाको टिमले सुरुदेखि नै गरेको थियो । केसीको अनसन चर्किंदा गगन थापा र रामचन्द्र पौडेलहरुलाई फाइदा हुन्छ । उता विवेकशील साझा र साझा पार्टीले पनि फाइदा पाउँछ तर कांग्रेसलाई केही फाइदा हुँदैन भन्ने उनीहरुको निष्कर्ष थियो । नभन्दै केसीको नाममा आन्दोलन पनि उठेन र कांग्रेसले खासै ठूलो फाइदा पनि पाएन । बरु, कांग्रेसले थाल्न खोजेको आन्दोलन नै ओझेलमा प¥यो ।

आन्दोलन, चर्काएर/उठाएर कम्युनिष्ट सरकार तथा केपी ओलीलाई हल्लाउन सकिन्न भन्ने देउवाले राम्रोसंग बुझेका छन् । आन्दोलन चर्काएर पार्टीभित्र आफू चाहिं बलियो बन्ने सपना देउवाले देखिरहेका छन् । तर, आन्दोलन गर्दा देउवालाई फाइदा नहुने गरी गर्न रामचन्द्र पौडेल पक्षधरहरु पनि सचेत भएको बुझिन्छ । साँघु साप्ताहिक, २०७५ माघ २१ गते प्रकाशित समाचार हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार