देउवालाई हराऊन बाम गठबन्धनको यस्तो तयारी

  मूलधार सम्वादाता  330 पटक हेरिएको

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रदेश-७ मा कसले सरकार बनाउला भन्ने बहस चुलिएको छ । वाम र लोकतान्त्रिक गठबन्धन दुवैले आ-आफूले सरकार बनाउने दाबी गरेका छन् ।
पछिल्लो समय यस प्रदेशमा माओवादी नेता लेखराज भट्ट र कांग्रेस नेता रमेश लेखक क्रमशः वाम र लोकतान्त्रिक गठबन्धनका खास रणनीतिकार मानिन्छन् । दुवै नेताले अनलाइनखबरसँगको कुराकानीमा आ-आफ्नै दाबी प्रस्तुत गरे ।

भट्टको दाबी छ, प्रतिनिधिसभाका १६ मध्ये १० देखि १२ वटा सिट जित्ने । यस्तै, प्रदेशसभातर्फका ३२ मध्ये २१ देखि २५ सिटमा विजय हासिल हुने उनी दाबी गर्छन् ।

उनको बुझाइमा स्थानीय तह निर्वाचनमा बाजुरामा सबै सिट जितेको एमालेको मतमा माओवादीको मत पनि जोडिएको छ । ‘०७० सालको दोस्रो संविधानसभा निर्वाचनको मत जोड्दा पनि त्यस्तै देखिन्छ,’ उनी भन्छन्, ‘त्यसमा ०६४ सालको पनि मत विश्लेषण गर्नुपर्छ, जसबाट एउटा आँकडा आउँछ ।’

बझाङमा वाम गठबन्धनमा विवाद छ । र, आन्तरिकरुपमा नमिलेका कुराले केही थपघट हुन सक्ने भट्ट बताउँछन् । उनका अनुसार बैतडीमा पनि माइनस-प्लसको अवस्था छ ।

‘दार्चुलामा वाम गठबन्धनको बढ्ने देखिन्छ । अछाममा पनि घटबढकै अवस्था छ,’ उनी भन्छन्, ‘डोटीमा प्रतिस्पर्धा छ र दुवैको मत विश्लेषण गर्दा वाम गठबन्धन अगाडि छ । तथापि, भन्न नसकिने स्थिति छ ।’

भट्टको विश्लेषणमा वाम गठबन्धनका कारण डडेलधुरामा शेरबहादुर देउवाले चुनाव हार्ने अवस्था छ । भन्छन्, ‘जनलहरका हिसाबले प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा वाम गठबन्धनको लहर देखिन्छ, त्यस हिसाबले देउवाजी चुनाव हार्दैछन्, डडेलधुरामा ।’

उनी थप्छन्, ‘कञ्चनपुरमा केही थपघट हुन सक्छ । त्यहाँ विना मगरले जित्ने निश्चित छ । अरु दुई सिटमा प्रतिस्पर्धा देखिन्छ ।’

कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये केही ठाउँमा प्रतिस्पर्धा र केहीमा वाम गठबन्धनको जित सुनिश्चित रहेको भट्टको दाबी छ ।

‘त्यसैले प्रदेश ७ मा सरकार वाम गठबन्धनले बनाउँछ । त्यसमा कुनै शंका छैन । अझ, बहुमतकै सरकार बन्छ,’ भट्ट भन्छन् ।

कांग्रेस नेता लेखक भने यस प्रदेशमा कांग्रेस सरकार निश्चित भइसकेको दाबी गर्छन् । कञ्चनपुरका तीनवटै सिट कांग्रेसले जित्ने र कैलालीका अधिकांश सिटमा कांग्रेसले नै जित निकाल्ने दाबी पनि उनको छ ।

‘समग्रतामा भन्नुपर्दा प्रदेशमा कांग्रेसको सरकार बन्छ,’ लेखक यसरी आफ्नो तर्क पेश गर्छन्, ‘सबैभन्दा बढी सिट कैलाली र कञ्चनपुरमा छन्, दुवै जिल्लामा अधिकांश सिट हामी जित्छौं । त्यसो हुनासाथ हामी बहुमतमा जान्छौं ।’

प्रतिनिधिसभाका १६ मध्ये आठ वटा सिट कैलाली र कञ्चनपुरमा छन् । दुवै जिल्लामा कांग्रेस मजबुत रहेको लेखकको दाबी छ । पहाडमा पनि कुनै ठाउँमा कांग्रेसले जित्दा बहुमत हासिल हुने उनको तर्क छ ।

प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ३०/३५ सिटमा कांग्रेसले जित्ने तथा प्रतिनिधिसभाका बहुमत सिट हासिल गर्ने लेखकको दाबी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार