ट्क्याटरबाट खसेर एक मजदुरको मृत्यु

  मूलधार पोष्ट  358 पटक हेरिएको

डडेल्धुराको अमरगढी नगरपालिका–३ मा काठलोड गरेको ट्क्याटरबाट खसेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–४ बस्ने ३४ वर्षीय घनश्याम जोशी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बिहीबार दिउँसो ब्रह्मकेदार सामुदायिक वनबाट सल्लाको काठ लोड गरेर ल्याउने क्रममा से १ च ८८५४ नम्बरको ट्याक्टरको डालाबाट खसेर जोशीको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्मसिंह विष्टले जानकारी दिएका छन् । मृतक जोशीको शव पोष्टमार्टमको लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा राखिएको प्रहरीले बताएको छ ।

त्यस्तै डडेल्धुराको अर्को समाचारमा फागुन महिनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघकै पहिलो सातामा फुल्न थालेको छ । जलवायु परिर्वतनका कारणले पुसको अन्तिम सातादेखि नै लालीगुराँस फुलेर जंगलमा मनमोहक दृष्य देखिन थालेको छ ।

लालीगुराँस छिट्टै फुल्न थालेपछि स्थानीयवासी हेर्नका लागि जैगल नै पुग्ने गरेका छन् । लालीगुराँस फूल फुल्नका लागि चाहिने तापक्रम फागुन र चैत महिनामा पुग्ने भए पनि जलवायु परिवर्तनका कारण माघ महिनामै यो फूल फुल्न थालेको जानकार बताउँछन् ।

डडेल्धुरा जिल्लाका अधिकांश वन जंगलमा लालीगुराँस फूल ढकमक्क गरी फुलेका छन् । लालीगुराँस फूलसँग रमाउनका लागि मानिस जंगलमा जान थालेका छन् । लालीगुराँस फूल फागुन चैत महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता देखि बढ्दै गएको गर्मीसँगै लालीगुराँस फुल्न थालेको गन्यापधुरा गाउँपालिका–१ का स्थानीय लक्ष्मण सार्कीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार