कुटपिट र धम्कीले ११२ परिवार मतदाता परिचयपत्र फिर्ता गर्दै

  लक्ष्मीराज पाध्याय  389 पटक हेरिएको

बाजुरा-  बाजुराको बुढीनन्दा नगरपालिका ७ अर्थात साविकको पाण्डुसैन १ सेरकाटियाका एक सय १२ परिवारले मतदाता परिचयपत्र फिर्ता बुझाउने भएका छन् ।

आफुहरुले कहिल्यै पनि मतदान गर्न नपाएको झोकमा उनीहरुले आफुले पाएको मतदाता परिचयपत्र जिल्ला निर्वाचन कार्यालयमा फिर्ता बुझाउन लागेका हुन् । शनिबार नै परिचयपत्र फिर्ता गर्ने निर्णय गरिसकेका उनीहरुले आईतबार(आज) सार्वजनिक विदा भएका कारण सोमबार फिर्ता गर्न लागेका हुन् ।

बाजुरामा केही दिन अघि मात्रै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस कार्याकर्ताकै धम्कीका कारण भोट हाल्न नपाएको पत्रकार सम्मेलन गरी उनीहरुले गुनासो पोखेका छन् । चुनावको अघिल्लो दिन कांग्रेस कार्यकर्ताहरु अन्य राजनीतिक दलमा आस्था राख्दै आएका सर्वसाधारणको घरमा गएर बिभिन्न खाले धम्की दिएकै कारण भोट हाल्न नगएको स्थानीय धनसरा जोशीले गुनासो पोख्नुभयो ।

सेरकाटिकायाका स्थानीयले मार्तडीमा गरेको पत्रकार सम्मेलनमा यस अघि पनि वि.स. २०७० मा पनि नेपाली कांग्रेसका कार्यकर्ताले गाउँमा पुगेर धम्की दिएकै कारण भोट नहालेको गुनासो स्थानीय कृष्ण गिरीले गर्नुभयो ।

नौलाकोट आधारभुत बिद्यालय मतदान केन्द्र रहेको क्षेत्रमा नेपाली कांग्रेसका नेता तथा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकायाको नेतित्वमा सो गाउँमा सर्वसाधारणलाई तर्साउने कार्य भएपछि गाउँ नै मतदान गर्नबाट बन्चित भएको स्थानीय काला गिरीले बताएका छन ।

गाउँमा पसेर घरमाथिका जस्ता पाता र डीसहोममा क्षती पु¥याउनुका साथै केहीलाई कुटपिट समेत गरेको उनीहरुले बताएका छन् । कुटपिटबाट घाईते भएका पदमराज गिरी, जानुका गिरी, लक्ष्मी गिरी, धनी लुवार र नानि बिकको प्राथमिक स्वास्थ केन्द्र कोल्टीमा उपचार भईरहेको छ । सो मतदान केन्द्रमा ११ सय १८ मतदाता रहेकोमा ७ सय ८६ मत मात्र खसेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार