चट्याङ लागेर युवतीको मृत्यु

  मूलधार पोष्ट  262 पटक हेरिएको

शुक्रबार राति चट्याङ लागेर तनहुँमा एक युवतीको ज्यान गएको छ । ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा माइत गएकी २० वर्षीय मिनामाया थापाको चट्टयाङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्टयाङ पर्दा घाइते भएकी मिनामायालाई उपचारका क्रममा दमौली अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक थापाको शव दमौली अस्पतालको शवगृहमा राखिएको छ । त्यस्तै माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो ।

शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौधरीलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ रेफर गरिएको थियो ।

उपचारकालागि लैजाँदै गर्दा दिउँसो करिब साढे दुई बजे बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजनामा निर्माण कम्पनी धौलागिरी कन्स्ट्रक्सन, खड्का कृष्ण जेभीमा चौधरीसहित करिब सयजना कामदार कार्यरत छन् । कञ्चनपुरका मात्रै झण्डै ३० जना कामदार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार