ब्रेकिङ : जन्ती बोकेको बसमा करेन्ट लागेर ९ को मृत्यु

  रासस  523 पटक हेरिएको

जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ । रासस

त्यस्तै तेह्रथुमको लालीगुराँस नगरपालिका–२, वसन्तपुर बजारमा बिहीबार साँझ भएको आगलागीमा रु एक करोड २१ लाखको धनमाल जलेर नष्ट भएको छ ।आगलागीबाट लालबहादुर याख्खाको ढुङ्गामाटोको गाह्रो र जस्ताको छानो भएको तीन तले घर र अन्य धनमाल पूर्णरुपमा क्षति हुँदा रु ४० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताउनुभयो । याख्खाको घर भाडामा लिई पसल गर्दै आएका छेतेन शाहको कैलाश किराना पसल पूर्ण नष्ट हुँदा रु ३१ लाखको क्षति भएको छ । आगो नियन्त्रणका क्रममा छिमेकी मीनकुमारी गुरुङको दुई तले कच्ची घर भत्किँदा रु २५ लाख र रेनुका खड्काको घर भत्किँदा रु २० लाखको क्षति भएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

नेतकुमार याख्खाको सौन्दर्य सामग्री पसलमा रु पाँच लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घाइते भएका गोपाल गुरुङको हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका थिए । स्थानीय पहल, दमकल र डोजरको सहायताले आगलागीबाट ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् ।
पीडित परिवारलाई लालीगुराँस नगरपालिकाले रु आठ लाख ७५ हजार राहत वितरण गरेको नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले जानकारी दिनुभयो । नगरपालिकाले घर पूर्ण क्षति भएका लालबहादुर याख्खालाई चार, घर क्षति भएका मीनकुमारी गुरुङलाई दुई र रेनुका खड्कालाई एक लाख ५० हजार तथा पसलमा क्षति पुगेका नेतकुमार याख्खालाई रु एक लाख राहत वितरण गरेको छ ।

घाइते गोपाल गुरुङलाई उपचारका लागि रु २५ हजार राहत वितरण गरिएको छ । पीडितलाई आज साँझ एक कार्यक्रम बीच नगरप्रमुख अर्जुन माबोहाङ र उपप्रमुख तिला पोखरेलले राहत वितरण गर्नुभयो । नगरपालिकाकै अगुवाइमा वसन्तपुर बजारसहित नगरपालिका क्षेत्र र छिमेकी बजारमा राहत सङ्कलन गर्ने कार्यक्रमतय भएको प्रवक्ता खड्काले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार