अब धनगढीबाटै श्रम स्वीकृति

  मूलधार पोष्ट  194 पटक हेरिएको

शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीबाटै श्रम स्वीकृति दिन थालिएको हो । शुक्रबार बिहान सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले धनगढीस्थित कार्यालयबाट पुनः मलेसिया जान लागेका गोर्खबहादुर खवासलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै सेवा सुरू गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४को पोखरा र प्रदेश ६को सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेको छ । हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार