हुन लागेको बिवाह नै रोकीदाको पीडा यस्तो छ बम दिदिबहीनीलार्इ

 308 पटक हेरिएको

भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ५ महिना पुग्यो। निर्मलाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरी, छानबिन समिति, मानव अधिकारकर्मी कसैले पछि हत्याको गतिलो प्रमाण फेला पार्न सकेका छैनन् । केही अधिकारकर्मीले कञ्चनपुरकै निर्मलाको मिल्ने साथी रोशनी र उनकी दिदी बबिता बम दोषी रहेको भन्दै एकहोरो प्रहार गरिरहे । उनीहरुमाथि सुक्ष्म अनुसन्धान थालेको प्रहरीले कुनै प्रमाण भेटाउन सकेन । अहिले त केही अधिकारकर्मीले बम दिदीबहिनीहरुमाथि लगाएका आरोप झुटा सावित भएका छन् ।

महेन्द्रनगरस्थित डान्सबारमा काम गर्ने भनिएकी बबितालाई उनले कुनै काम नगरेको भेटिएको छ । घरमा ठूला–ठूला मानिसको आवतजावत हुने गरेका आरोप समेत झुटा सावित भइसकेको छ । केही समयअघि बम दिदीबहिनीहरु दोषी हुन सक्ने बताउँदै आएकी सावित्री सुवेदी घटनास्थल पुगिसकेपछि यर्थाथ बोकेर काठमाडौं आएकी छन् । उनकै सहयोगमा बम दिदीबहिनी अहिले काठमाडौंमा छन् । उनीहरु भनिरहेका छन्– ‘हामी माथि भएको सामाजिक दुव्र्यवहारबाट कसरी मुक्ति पाउने ? निर्मला मरेर गइन् हामीलाई कहिलेसम्म जिउँदी निर्मला बनाउने ?’ यता नेपाल प्रहरीले पनि बम दिदीबहिनी निर्दोष भएको बताइसकेको छ । उनीहरुमाथि भएको अनुसन्धानले घटनामा संलग्नतानरहेको पाइएको छ । पटक–पटक गरिएको अनुसन्धानले प्रमाण फेला नपरेपछि बम दिदीबहिनीलाई लागेको आरोप झुटा रहेको प्रहरी निष्कर्ष छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण प्रहरीको प्रतिष्ठाको विषय भएको बताउँदै अनुसन्धान भइरहेको र हत्यारा उम्किन नपाउने उल्लेख गर्नुभयो । प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका रोशनी र बबिता बम दिदिबहिनीहरु निर्दोष रहेको पनि स्पष्ट पार्नुभयो । उँहाले नेपालको प्रचलित कानून र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुन्जेलसम्म कसैलाई दोषी भन्न नमिल्ने बताउनु भयो । रोशनी दिदिबहिनीका विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष रहेको प्रबक्ता सुबेदीको भनाइ छ ।

बिते पाँच महिना प्रगति शून्य : निर्मला हत्या भएको पाँच महिनासम्म वास्तविक हत्यारा पत्ता नलाग्नु आश्चर्यको बिषय छँदैछ । त्यसमाथि यो घटनाले बलात्कारलाई प्रोत्साहन गर्ने हो की भन्ने डर छ । साउन ११ गतेदेखि नै अनुसन्धानमा जुटेका तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले आफूहरुले स्वतन्त्र रुपमा अनुसन्धान गर्न नपाएको बताउनु भएको थियो । हत्यापछि आक्रोशित बनेको कञ्चनपुरले न हत्यारा पत्ता लगाउन सक्यो मात्रै निर्दोषहरुलाई केरकार र सामाजिक प्रतिष्ठामा आँच मात्रै ल्याउने प्रपञ्च भयो । पाँच महिना बितिसक्दा समेत घटना सेलाउन सकेको छैन । पछिल्लो समय त निर्मलाका बुवा यज्ञराज पन्तको दोहोरो चरित्रले निर्मलाले न्याय पाउँदिनन् की भन्ने शंका उब्जिएको छ । आमा दुर्गादेवी पन्तले निर्मलाको ‘भेजिनल स्वाब’सँग डिएनए म्याच गराउन दिएको रगतलाई लिएर यज्ञराजले उनीमाथि हातपात नै गरे । पैसाको बिषयमा विवाद भयो ।

बम दिदीबहिनीको गुमेको प्रतिष्ठा : बबिता र रोशनी यतिबेला काठमाडौं आएकी छन् । उनीहरुको पहिलो काठमाडौं यात्रा न पढाईका लागि हो न घुमघाम । निर्मलाको हत्या भइसकेपछि उनीहरुकै घरबाट हराएको र घटनामा संलग्न भएको आरोप खपिनसक्नु भएपछि गुमेको प्रतिष्ठा फिर्ता हुने आशामा उनीहरु काठमाडौं आएका हुन् । रोशनी विद्यालय जान सकेकी छैनन् । पढाईका लागि अन्यत्र जान खोज्दा ‘केश’ नमिलेको भन्दै विद्यालयले सर्टिफिकेट दिन मान्दैन । विवाहको तयारीमा रहेकी बबिता उस्तै पीडा छ । समाजमा जसरी आफूहरुलाई एक्लाइयो त्यसको पीडा कहिल्यै बिर्सन नसकिने बबिताले जनता समाचार डटकमलाई बताईन् । रोशनी आँशु झार्दै भन्छिन्– ‘मानवअधिकार भन्ने पढेको थिएँ, सबैका कुरा सुनिन्छ सही गलत केलाईन्छ तर हामी यत्रो बज्रपात ।’ अझै न्याय पाउने र समाजमा पुनस्र्थापित हुने उनीहरुको आशा मरेको छैन ।
दैनिकपानाबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार