छाउपणी कुप्रथा मानसिक चुइँढ्याकको एक रुप

  लाल बहादुर ओली  484 पटक हेरिएको

महिला रजस्वला हुने स्वभाविक जैविक विषयलाई देश, समुदाय, परिवार, व्यक्ति र तत्कालिन परिवेश अनुसार व्याख्या र विश्लेषण गर्दे सो अनुसारका व्यवहार र दुव्र्यवहार गरिदै आएको छ । महिला रजस्वला हुनु केवल शारिरीक परिपर्वत मात्र होइन । यो शारिरीक, मानसिक परिपक्वता र सामाजिक जिम्मेवारी वोधको अवस्था पनि हो । २०५८ सालतिरको कुरो म आफै सहजकर्ता भएर विद्यालयका किशोरकिशोरीलाई किशोरावस्थामा आउने परिवर्तन र सुरक्षात्मक उपाय बारे तीन दिनेअनुशिक्षण संचालन गरें ।

लेखक : लालबहादुर अोली

सहभागी किशोरकिशोरीहरु विद्यालयमा गएर विज्ञान र स्वास्थ्य पढाउने शिक्षकलाई प्रश्न गर्नुभएछ । पीसविन (एक गैरसरकारी संस्था) ले हामीलाई तालीम गरायो । तालीमका विषयहरु हाम्रो विज्ञान र स्वास्थ्य विषयमा लेखिएका कुरासँग सम्बन्धित थिए । वहाँहरुले तालीम दिंदा किशोरावस्थामा आउने शारिरीक र मानसिक परिवर्तन र सुरक्षाका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा सबैका सामुन्य राख्नुभयो । प्रजनन् स्वास्थ्यबारे भन्नुभयो । तर हाम्रो विद्यालयमा भने यी विषयमा पढाउँदा छात्राहरु कक्षामा नबस्ने र शिक्षकहरुले पनि खुलेर पढाउनु हुन्न, किन? केहि दिनपछि ती शिक्षकसँग मेरो भेट भयो र कुरा शुरु हुन नपाउँदै भन्नुभयो । तपाईंहरुले बालबालिकालाई तालीम गराउनुभएछ र किशोरावस्थामा आउने परिवर्तन, प्रजजन् स्वास्य बारे पढाउनुभएछ । यसले मलाई कक्षा कोठामा

अप्ठ्यारो पा¥यो । यी विषय तपाइंको तालीमबाट हटाउन सके राम्रो हुन्थ्यो । प्रकृति जगतमा आउने परिवर्तनका बारे हाम्रो समाजमा गडिरहेको मानसिक संकुचन बारे यो त एक प्रतिनिधीमुलक घटना मात्र राखेको हुँ । यस्ता धेरै विषय छन्, जसले शिक्षा र सुबिधाले मात्र समाज रुपान्तरण हुँदैन भन्ने देखाउँछ ।

 

म मेरा आमा–बासँग ताजीय छुवाछुत, महिला हिंसा, कतिपय अन्धविश्वासी चलन बारे बराबर कुरा गरिरहन्छु । नोपलको दुर्गम गाउँमा मेरा आमा–बा विद्यालय शिक्षाको हिसाबमा निरक्षर भए पनि व्यवहारको दृष्टिका अब्बल शिक्षित हुनुहुन्छ र त हामी सबै चार दाजुभाइले स्नातकोत्तरसम्मको शिक्षा प्राप्त गर्नसक्यौं । विभिन्न समुदायको पेशा अनुसार काम बाँडिएको छ र पेशा अनुसार थर कायम गरिएको छ । यसैलाई जात मानेर हामी कुव्यवहारमा बाँधिएका छौं । सार्की थरलाई हाम्रोमा भूल भनिन्छ । छालासँग सम्बन्धित कृषि ज्यावलको काममा सघाउने काम भूलले गर्छन् । दलित समुदाय आएमा आँगनमै खाना दिने, आफूले खाएको भाँडा धोएर जानुपर्ने र फेरि हामीले धोएपछि मात्र चोखो भएको मानिन्छ । भूल बा मेरो घरमा आउनुभो र आमाले वहाँलाई आँगनमै खाना पु¥याउनु भयो । मैले वहाँलाई भित्र आउन भनें मान्नु भएन । दलिनमा त आउनु भनें मान्नु भएन । आउनु भनेपछि त वहाँ उठेर घरको पछाडि करेटामा पो बसेर खानथाल्नुभयो । हाम्रो समाजमा गहिरिएको सामाजिक विभेद हटाउन विभेद भोगिरहेको समुदायको पनि आत्मबल उठाउने वातावरण सृजनागर्न आवश्यक भएको यो एक दृष्टान्त हो । यसका लागि सो समुदाय माथि आउनसक्ने चुनौती सामना गर्ने स्थानीय सरकारहरुको योजना हुनुपर्दछ ।

मेरो घरमा र समुदायमा महिला महिनावारी भएको बेला अलग बस्ने, दहिदुध नखाने, मन्दिर नजाने जस्ता कुकार्य त अहिले पनि निमिट्यान्न भएका छैनन् । तर अलगै सुडे (छाउगोठ) बनाएर बसेको भने थाहा छैन । तर मेरो जिल्ला (बाजुरा) भित्र कतिपय समुदायमा छाउपणी महिलालाई अलगै असुरक्षित गोठ बनाएका छन् । हाम्रोतिर छाउ भनेको अरुले नछुने भन्ने बुझिन्छ । तागाधारीले आफै पकाएर भात खाँदा पनि अरुले चुल्हो छोएमा छाउ हुन्छ । दलितलाई छोएमा पनि छाउ हुन्छ भनिन्छ । महिनाबारी भएकोलाई छुँदा पनि छाउ हुन्छ भनिन्छ र छुन दिइन्न । यसलाई बुझ्दा छाउपणी भनेको महिनाबारी भएको अवधिको महिला हुन् । वहाँहरुलाई छुनुहुँदैन । छोएमा धर्म नाश हुन्छ । देउता रिसाउँछ । अनिकाल निम्तिन्छ भन्ने कुमान्यतामा समाज हुर्कंदै आएको छ । २०६२ सालमा महिनावारी भएको बेला महिला घरभित्र पसेमा गाई–भैंसी रुख उक्लिन्छ भन्ने एक जना बुढा (वर्ष करिब ७०) धामी–झाँक्रीलाई मैले प्रश्न गरें । यसो हुँदा वस्तुभाउ रुख उक्लेको देख्नुभएको छ? वहाँले छैन भन्नुभयो । कोही देख्ने मान्छे छन्? छैनन् । अनि कसरी विश्वास गर्नुभयो त ? वहाँको जवाफ थियो–सुनेको । सुनाउने को हुन् त? थाहा छैन । बस्, कुचलन यसरी सरेको हो । मैले भनें महिनावारी भएको बेला महिला घरभित्र बसेमा कुनै बिगार हुँदैन । मैले भनेको यो कुरा पनि तपाईंले सुन्नुभयो । अब देखि सुधार गर्नुहोला । धामी चुप त रहनुभयो । तर व्यवहारमा तकाल सुधार गरिहाल्न भने वहाँ हिलोमै फस्नुभए जस्तो भयो ।

काठमाण्डौं गएका बेला म जहाँ बस्छु, त्यहाँ वरिपरि हेटौंडा, सिराहा, पाल्पा, गुल्मीतिरका मान्छेहरु धेरै छन् । वहाँहरुको घरमा पनि करिब एक हप्तासम्म महिनावारी भएको बेला अलगिएर बसेको मैले चाहेर पनि सुधार गर्न सकेको छैन । सुदूरपश्चिमको विकासमा अगाडि भएको तराईको जिल्ला कैलाली, जहाँ थारुको बसोवास धेरै छ । मैले केहि वर्ष छाउपणी कुप्रथाकै क्षेत्रमा काम गर्ने अवसर पाएँ । थारु समुदायमा छाउपणी कुप्रथा, जातीय छुवाछुत छैन । तर पछिल्लो समयमा भने महिनावारी भएको महिला अलगै रहने गरेको पनि पाइयो । पहाडबाट आएका मान्ेछहरुले यो कुप्रथा मान्ने भएकोले कहिं कतै अनिष्ट भैहाले पनि थारुले छाउपणी नमानेकोले भएको भन्ने दोष लाग्नथाले पछि मान्न वाध्य भएको सुनियो । यो र माथि धामी जीसँग भएको कुराको तारतम्य मिल्छ । कुरा सरेरै कुव्यवहार भएको छ । संस्कारको रुप लिएको छ ।

मैले अहिले सम्म छाउपणी कुप्रथामा काम गर्ने अभियन्ता, परियोजना, संचार माद्यम, काठमाण्डौंमा हुने होटेलका छलफलमा छाउपणी कुप्रथा मान्नुका पछाडिका कारण, यसभित्र भएका कतिपय सकारात्मक अभ्यास, यसमा परिवर्तन गर्न खोजेको के हो त? भन्ने विषयमा छलफल भएको पाएको छैन । एक÷दुई कार्यक्रममा म सहभागी हुने अवसर पाइयो । कुरा राख्न खोज्दा विकासविज्ञहरुले सुन्न चाहेको पाएँन र चुप रहें । यहाँ सामाजिक रुपान्तरणको लागि पीडक आफूलाई परिवर्तन गर्न तयार हुनुभन्दा अगाडि परियोजना संचालक वा विकासेडफ्फा वा संचारकर्मी, सत्ता संचालक उनीहरुका कुरा सुन्न तयार भएको छैन र आफ्नो बनिबनाउ सोचमा उनीहरुलाई दगुराउन चाहेको छ । काठमाण्डौंमा सिंहदरवार भित्रका उच्चपदस्थ कर्मचारीसँग गाउँका कुरा गरेमा उहिल्यै थाहा पाइसकेको जस्तो भान दिन्छन् । शक्ति संचालकहरुले कमजोरका कुरा ध्यान दिएर सुन्ने र सो अुनसार योजना बनाउने मानसिकता बनेको छैन । यसले परियोजना र सरकारी रकम त खर्च भैरहेको नै छ । तर परिणाम आउन विलम्ब हुन्छ । छाउपणी कुचलन भित्र पनि बस्ने कोठा दैनिक गोबरले पोत्ने, प्रयोग गर्ने कपडा दैनिक धुने र गाईको शुद्ध गहुँत छर्कने, दैनिक नुहाउने, यस अवधिमा अलग सुत्ने र श्रीमान्सँग शारिरीक सम्पर्क नगरी स्वास्थ्यको ख्याल गर्ने जस्ता कतिपय जोगाउनु पर्ने कुरामा वहस नै भएको छैन । यहाँ सबै प्रकारका परम्परा गलत छन् भनेर सोलोडोलो प्रहार गरिन्छ । यसले सामाजिक वहिष्करणको अवस्था सृजना भएको छ । र समुदाय (पीडित) आफूलाई परिवर्तनको हकदार महशुस गरिरहेको छैन ।

हरेक घटना घटेपछि केहि दिन सरकार, सामाजिक संगठन खुब तात्छन् । राजनीतिक दलका नेताहरु भाषण गर्छन् र संचार माद्याममा बजार लिन्छन् । तर यस्ता प्रकारका सामाजिक कुचलन पहिले आफू र आफ्नो परिवारमा बदलेर देखाउने र दैनिक जीवनशैलीमै रुपान्तरण हुन नचाहनु पनि नेपाली समाजमा विभेद कायम रहनाको कारण हो । केहि दिन अगाडि बाजुराको एक गाउँमा छाउगोठमा एक महिला र दुई बालकको धुवाँले निसासिएर मृत्यु भयो । सोही नगारपालिकाका निर्वाचित प्रतिनिधीहरुसँग गत वर्ष फागुनमा यी र यस्तै विषयमा मैले छलफल चलाउने र भेटघाट गर्ने अवसर पाएकोथिएँ । नाम नलिईकनै भन्दा केहि जनप्रतिनिधीले यस्ता सानातिना कुरा गर्ने समय छैन । यी एनजिओले गर्ने कुरा हुन् भन्नुभएको ताजै छ । पछिल्लो समय सो नगरपालिकाले छाउगोठ भत्काउने अभियान चलाएछ । अभियान स्वागतयोग्य नै छ । छाउगोठ नभएपछि घरभित्रको एक कुनामा भए पनि छाउपणी महिला सुत्नुहुनेछ । अछाम जिल्ला छाउपणीगोठ मुक्त घोषणा भयो । यसै नगरपालिकामा पनि कतिपय समुदाय छाउपणीगोठमुक्त घोषणा भएकाछन् । अछाममा फेरि छाउगोठ निर्माण भएको, यसै समुदायमा पनि गोठ भत्काएपछि ओढारमा बसेका फोटा त हामीले देखेकै छौं । यस कुरालाई हेक्का राखिएन र मानवीय संस्कारजन्य कमजोरीलाई अमूर्त, स्थूल चिजसँग आवेग व्यक्त गर्दैमा मानसिकता र व्यवहार परिवर्तन नहुने कुरा भने सोच्नै पर्दछ ।

छाउपणी कुप्रथा एक्लाल्याएर सुधार हुने अवस्था छैन । यसलाई महिला हिंसाको एक रुप र सामाजिक कुसंस्कारको जकडिएको मानसिकतासँग एकीकृतिकरण गरिनुपर्दछ । कुनै घटना घटेपछि मात्र होइन कि दैनिक जीवनको एक आवश्यक पाटो सामाजिक कुचलन र कुव्यवहारमा सुधार गर्नु पनि हो भन्ने अभियानलाई मूलप्रवाहीकरण गर्नुपर्दछ । लामो समयसम्म केहि परियोजनाको सहयोगमा हातधुने अभियान चलायो । हात धुने ६ वटा चरण पनि सिकाइए । अब सुधार हने भयो भनेर सन्तोषको श्वास पनि फेरियो । त्यतिबेलाका केहि सहजकर्तालाई मैले बिभिन्न जिल्लामा अन्य कामको सिलसिलामा पुग्दा अनौपचारिक रुपमै सोधेर ती ६ वटा हातधुने चरण के–के हुन् गरेर देखाउनुस् न भन्दा अधिकांशले प्रदर्शन गर्न सकेनन् । व्यवहारमा उतार्ने त परको कुरा भयो । पछिल्लो समयमा एउटा थेगो बनेको छ । सामाजिक परिवर्तनका लागि जे सवाल उठे पनि अब विद्यालयका पाठ्यक्रममा समावेश गर्ने । मलाई लाग्छ त्यो पाठ्यक्रममा के–के विषय राखेपछि पूर्ण हुने? मैले माथि नै उल्लखे गरिसकें । महिला महिनावारी हुनु भनेको प्रजजन्स्वाथ्यको एक प्रक्रिया हो । यो त विगत लामो समय देखि पाठ्यक्रममै छ । रजस्वता भन्ने शब्दलाई छाउपणी कुप्रथा भन्ने शब्दले विस्थापन गर्न मात्र आवश्यक भए त मेरो भन्नु केही छैन । नत्र त शिक्षकले कसरी सन्दर्भ सामग्री र सामाजिक परिवेशलाई जोडेर पढाउने र घरमा अभिभावकले व्यवहारसँग कसरी जोड्ने भन्ने कुरा नै प्राथमिक हो ।

छाउपणी कुप्रथामा सुधार गर्न खोजेको के हो ? यस विषयमा कमै छलफल भएको छ । मात्र छाउगोठ भत्काउनमै समय र बहस छ । म भन्छु, छाउगोठ भत्काइनु हुँदैन । म कुलत छोड्छु भनेर प्रतिज्ञा गर्नु भनेको त्यो गर्नलाई बेलाबेला सम्झिरहनु हो । छाउगोठसँग रिस गरेर किशोरीहरुको सुरक्षा हुने होइन । छाउपणी कुपथा भित्र सुधार गर्नु पर्ने विषय सबैकहाँ पुग्नुपर्दछ । सवाल के हो भने महिला महिनावारी भएको बेला उपलब्ध हुनुपर्ने सुबिधा तथा हुनुपर्ने सुधार ६–स ले समेट्छ । महिनावारी भएको बेला सुरक्षित बसाइ (कहाँ बस्छन् भन्ने सवाल होइन । जहाँ बसे पनि हरेक दृष्टिमा त्यो बसाइ सुरक्षित हुनुप¥यो ।), सुआहारा (यसको अर्थ दुध खानपाउनुपर्छ भनेर अत्तो थाप्ने र परियोजना खोज्ने होइन । झोलिलो, गेडागुडी, साग, तरकारी आदि अन्य अवस्थामा भन्दा बढी खाने ।), सुबिस्ता (यस अवधिमा शारिरीक रुपमा कडा काम नगर्ने र आराम गर्ने वातावरण बनाउने ।), सरसफाई (यस अवधिमा प्याड लगाउने नाममा दैनिक नुहाउने, धोएका लुगाकपडामा गाईको गहुँत छर्कने, बस्ने स्थान सफा राख्ने चलन जीवित राख्ने ।), सुशिक्षा (किशोरीलाई महिनावारी भएको बेला विद्यालय जानबाट रोक नलगाउने वातावरण सृजना गर्ने ।) र सूचना (महिनावारी भनेको प्रजजन्स्वाथ्यको प्रक्रिया हो । यो जैविक चक्र हो । भगवानको खेल होइन । महिनावारी भएको बेला गरिने स्याहारले महिलाको स्वास्थ्य सुरक्षा हुने र पछि गएर स्वस्थ बच्चा जन्मने विषयमा प्रभावकारी रुपमा सूचना प्रवाह हुनुपर्दछ ।)

महिनावारीलाई छाउपणी प्रथा भन्ने शब्दमा पनि बदलाव आउनुपर्दछ । जातीय छुवाछुतको अन्त चाहने हो भने दलित शब्दको प्रयोग हराउँछ कि भनेर डराउनुपर्दैन । सामाजिक घुलमिलको अभियान चलाउनुपर्दछ । छाउपणी प्रथालाई सबैको मुखमा झुण्ड्याएर यसमा सुधार हुँदैन । यसलाई प्रजजन्स्वास्थ्यको जैविक प्रक्रिया अन्तर्गत महिनावारीको रुपमा बुझिनुपर्दछ र उच्चारण गरिनुपर्दछ । माथि भने जस्तै छाउ भएको भनेपछि त अरुले नछुने अवस्था नै बझाइरहने छ । मुख्य कुरा मासिकता र व्यवहारमा परिवर्तन हो । परिवर्तनका लागि आँट गरिएन भने सम्भव छैन । अरु परिवर्तन भएपछि अड्कलेर आफू र आफ्नो परिवारमा परिवर्तन गर्ने राजनीतिक नेता, जनप्रतिनिधी, विकास अभियन्ता, संचारकर्मी, सरकारी सुबिधागोगीहरु नै नमुना बन्न आवश्यक छ । जुन कुरो केवल व्यवहारिक परिवर्तन र सामाजिक संस्कारसँग मात्र जोडिएको हुन्छ, त्यसका लागि कानुनलाई अड्चन मानेर पन्छिने प्रवृत्तिमा पनि सुधार हुनुपर्दछ । सबभन्दा बढी किशोरीले नै शाहस गर्नुपर्दछ । सिउँडको काँडा बिझेर खिल रह्यो र घाउ पाकेछ वा बल्झ्यो भने महिनावारी भएको बेला सुरक्षित कोठामा बसेको कारण देउता रिसायो र घाउ बल्झ्यो भन्ने परम्परागत कनेक्सनबाट मुक्त भएर सिउँडको काँडाले घोपेमा अधिकांश शरिरले केहि दिन दुःख पाउँछ । यसका लागि घाउको उपचार गर्नुपर्दछ भनी पढेको कुरा बिर्सनु हुँदैन । नछुने भएको बेला कोहि पनि महिला घरभित्र पसेको कारण अहिलेसम्म गाईगोरु रुख चढेको छैन । गाईगोरु रुख चढ्ने जमाना आउने पनि छैन भन्ने कुरा कम से कम पढेलेखेका, जनप्रतिनिधी भैसकेका, राजनीतिक दलका नतृ भएर अगुवाई गरिरहेका महिलाले सामूहिक आँट गरेर सामाजिक दुव्र्यवहाररुपी साझा दुस्मनलाई चनौती दिनुपर्दछ । महिनावारी भएको बेला महिलाले पाएको सुक्षित वातावरणले देउता रिसाएर कुनै भौतिक क्षति भएको प्रमाणित भएमा त्यसको क्षतिपूर्ति राज्यल गर्छ भन्ने योजना सहितको उद्घोषणा सरकारले पनि गर्नुपर्दछ । ठेस लाग्ने बाटोको ढुंगाले होइन, ठेस मान्छेले बाटामा हिंड्न नजानेर वा होस् नपु¥याएर हो । गोठ वा कोठा वाधक होइनन्, वाधक त हाम्रा जकडिएका चुइँढ्याक सोच हुन् । परिवर्तनको लागि हामी तयार हौं, सम्भव छ । जहाँ अशिक्षा, गरिबी, अभाव बढी रहेको छ, यस्ता प्रकारका दुव्र्यवहार र पछौटेपनमा आधारित कुचलन पनि त्यही बढी भएको देखिन्छ । यसका लागि शिक्षा, स्वास्थ्य, संचेतना, आर्थिक विकासमा जोड दिऔं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार