अपडेट : बस दुर्घटनामा मृत्यु हुनेको सख्या ५ पुग्यो

  मूलधार पोष्ट  319 पटक हेरिएको

नेपालका सडकमा हुने गरेको अधिकांश दुर्घटना चालकको लापरवाहीले हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । पर्वतमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

दुर्घटनामा कम्तिमा ३५ जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको छ भने अन्यको धौलागिर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा आठ बजे पर्वतको कुश्मा नगरपालिका— १ मालढुङ्गास्थित सुकुम्बासी टोलमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब ७० मिटर तल खसेको छ ।

यो पनि पढनुहोस् । दुर्घटनाको सवालमा एउटा बलियो तर्क आउन सक्छ, जनचेतनाको कमी अनि त्यसपछि चालकको लापरवाही । के यतिमै मात्र सीमित छ त सडक दुर्घटना हुनुका कारणहरु, पक्कै पनि होइन । तर यसलाई आंशिक कारणका रुपमा भने लिन सकिन्छ र महत्वपूर्ण कुरा त उनीहरु यसको प्रतिनिधित्व गर्ने एउटा पात्र मात्र हुन् । एकातिर गाडिसाहुको आदेशलाई नै सर्वोपरी ठानेर हुंइकिनुपर्ने बाध्यता चालक वर्गलाई छ भने अर्कोतिर त्यसरी दौडिनुपर्ने बाध्यतालाई रोक्ने सम्बधित निकायको कहीं कतै उपस्थिति भएको देखिन्न । परिणामस्वरुप यात्रु अनि उस्तै परे चालक समेत मृत्युको भागीदार बन्न पुगिरहेका हुन्छन । लागूपदार्थको सेवन गरेर गाडि चलाउने चालकको हकमा भने माथिको कुरा पक्कै पनि लागू हुन सक्दैन तर पनि गाडिसाहुको गल्ती भने अवश्य पनि नकार्न मिल्दैन । त्यसो भए प्रमुख दोषी को त भन्ने प्रश्न यहाँ उब्जिन्छ ।

सबैभन्दा प्रमुख दोषी भनेको सरकार नै हो । जनता नै जागरुक हुनुपर्छ जनता आफैं जागरुक भएमात्र समस्या समाधान हुन्छ भन्ने सोच भएका बौद्धिक महाशयहरुलाई यो कुराले चोट पुर्‍याउन सक्छ तर यो नै तितो यथार्थ हो । अवश्य पनि जनता आफैं जागरुक भए त केहि हद सम्म समस्या समाधान हुन्छ नै, तर जनताको जागरुकता भनेको के हो त्यो बुझ्नु जरुरी छ । साधारण लेखपढसम्म गर्न नजान्ने अनपढ जनताहरुको बाहुल्यता भएको समाजमा जनता आफैं जागरुक हुनु भनेको भ्यागुता जहिले पनि कान्ला मुनि नै भन्ने कथन सरह नै हो ।

एकताका खुबै चर्चामा आएको एउटा घटना याद छ, एकजना अन्धाले पनि लाइसेन्स हात पारेको कुरा, भनेपछि, सरकार कति निरिह र लापरबाही छ भन्ने कुरा यसै घटनाबाट पुष्टी हुन्छ, बाँकी लाइसेन्स लिंदा दिंदाको घुसखोरी, कर्मचारी तथा दलालहरुको बिगबिगी त्यतातिर नजाउँ । सडक दुर्घटनामा सबैभन्दा बढी लामो रुटमा चल्ने बस तथा गाडीहरु नै बढी मारमा परिरहेको तथ्याङ्क छ । आखिर किन लामो रुटमा चल्ने बस तथा गाडीहरुनै बढी दुर्घटना पर्छ त ? एउटा प्रमुख कारण भनेको चालकको थकान ।

विश्वका धेरैजसो देशहरुमा एउटा यात्रुबाहक गाडी चालकले एक दिनमा बढीमा कति घण्टासम्म सवारी साधन चलाउन पाईने स्पष्ट नियम बनाइएको हुन्छ, साथै प्रत्येक घण्टा या दुई घण्टामा एकचोटी यति समय आराम लिनैपर्ने नियम हुन्छन । पक्कै पनि लामो रुटका चालकहरु मानसिक र शारीरिक दुवैरुपले थाकेका हुन्छन । एक त लामो रुट त्यसमा पनि असंख्य खाल्डाखुल्डीका सडक, साँघुरो बाटो, डरलाग्दा घुम्तीहरु, हिलाम्य र सडकका न्युनतम मापदण्ड पनि पुरा नभएको सडक, सोच्नोस् कति थाक्छ एउटा व्यक्ति । परिणामस्वरुप चालक निदाउने र सडक दुर्घटना हुने गर्दछ । हाम्रो देशको सवालमा यो नियम हुबहु लागू हुन नसक्ला तर यस्तै नियम कानुनको जरुरत टड्कारो भैसकेको छ । अन्य कारणहरुमा ट्राफिक नियम कानुन पालना गरेको नगरेको नियमित अनुगमन नगर्ने, लामो रुटमा चल्ने रात्रीबसहरुको गति अनुगमन नगर्ने र सडकको नाजुक अवस्थाहरु हुन् । तर हाम्रो जस्तो ट्राफिक सिग्नल लाइटहरु नै बर्षौंदेखि खिया लागेर बस्ने देशमा गति अनुगमन त धेरै परको कुरा हो जस्तो भान हुन्छ । यो इ-कृष्णकुरमा भेटवालले ले‌ख्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार